
पघारमा घाँस काटिरहेकी मेरी आमा !
घाँस काट्दा घाँसबाहेक के-के काट्यौ?
हिसाब राखेकी छौ?
आजसम्म कतिवटा कतिवटा डरहरू काट्यौ होला?
कतिवटा रहरहरू काट्यौ होला ?
कतिवटा सम्झनाहरू काट्यौ होला ?
कतिवटा दिक्दारीहरू काट्यौ ?
कतिवटा खुसीहरू काट्यौ?
कतिवटा आंशुहरू काट्यौ ?
हिसाब राखेकी छौ?
हिसाब राख्नु पर्दोरहेछ आमा
आफ्नो हिसाब नराख्नेहरूलाई
इतिहासको हिसाबमा गनिन्न रहेछ
तिमीलाई तिम्रो नाम बिगारेर
नागरिकता दिएको हिसाब राखेर
कसैले राष्ट्रसेवाको हिसाब थपेको रहेछ
तिम्रो समाजलाई आफैले बिगारेर
आफैले सपारेको नाटक गर्दै
कसैले समाजसेवाको हिसाब थपेको रहेछ
तिमिले घाँस बोक्दा तिम्रा पैतलाले बनाएको बाटोमा
तिमीले नै ढोणेनमा गहत उमारेवापत
कर तिरेको पसिनाबाट
हिड्न पनि नमिल्ने सडक बनाएर
सरकारले विकासको हिसाब थपेको रहेछ
तिम्रो इतिहासलाई तिमिले घाँस काटेजस्तै
काटिदिएर
राजा महाराजाको ईतिहास मात्रै लेखेर
कसैले इतिहासकारको हिसाब थपेको रहेछ ।
हिसाब गर्न थालेपछि
धेरैका हिसाबहरू थाहा हुने रहेछन्
आफ्नो नाम भन्न पनि लाग्ने लाज काटिने रहेछ
सधैं निहुरीरहने आँखाहरू
उठ्ने रहेछन् आमा
आँखा उठाएर यो पघारमाथि चढेपछि फेरि
परतिर अझ कति पहाड देखिन्छ्न
कहिल्यै हिसाब गर्यौ आमा?
ती, पहाडहरूभन्दा ठूला विभेदका पहाडहरू
तिम्रो जीवनमा कसले ठड्याइदिएको होला ?
सोच्नै पो डरायौकि ?
कुन जुगदेखि तिम्रा सन्तानहरूलाई
अछुत भनेर
सत्ताले नजिक आउन रोक्दै आएको छ
हिसाब राखेकी छौ?
कतिवटा सन्तानहरूलाई
राज्यको बेवास्ताले मारेपछि
बचाउन सफल भयौ होला
देशका सन्तानहरू
कहिँल्यै जनगणना हुँदा भन्न सकेकी छौ?
तिमी बेनामे बाँचेको समयको उमेर कति भयो?
तिमीलाई यता नछुनु उता नछुनु भन्ने उर्दी
कति पुरानो भयो ?
हिसाब राखेकी छौ ?
कतिपटक तिमीलाई उब्जाउ जमिनबाट धपाएर
ढोणेनमा छोडिएको छ
हिसाब राखेकी छौ?
कतिपटक कर्णाली तर्न डर लागेर
आफ्ना रहरहरूलाई
घट्छालबाटै फिर्ता उकालो चढाएकी छौ
हिसाब राखेकी छौ?
कतिपटक घामदेखि डर लागेर
बिरही गीत गाएर
कुहिरो बोलाएकी छौ
हिसाब राखेकी छौ?
कतिवटा प्रार्थनाहरू खसायौ होला
यस पघारबाट तल
कतिवटा प्रार्थना पुगे होलान
नैन्यालका थानसम्म
कतिवटा प्रार्थनाहरू स्वीकार गरे होलान
तिम्रा देवताहरूले?
बेहिसाब समयदेखि
बेहिसाब पघारमा
बेहिसाब घाँस काटिरहेकि मेरि आमा
हिसाब गर्न थाल न।