२०८२ असार २५ गते बुधवार / Jul 09 , 2025 , Wednesday
२०८२ असार २५ गते बुधवार
Ads

साधारणसभाको माग गर्दै ८ संस्था पुगे सीडीओ कार्यालय

shivam cement
२०८१ फागुन ३ गते ०६:३०
साधारणसभाको माग गर्दै ८ संस्था पुगे सीडीओ कार्यालय

काठमाडौं : तत्काल नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनसहितको साधारणसभा हुनुपर्ने माग गर्दै नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार एसोसिएसनसहित वैदेशिक रोजगार क्षेत्रका ८ संस्थाले काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको ध्यानाकर्षण गराएका छन् । 

संघका पूर्वअध्यक्ष तिलकबहादुर रानाभाटको नेतृत्वमा संघका पूर्वअध्यक्ष हंशराज वाग्लेसहित एसोसिएसन, नेपाल वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च, एकीकृत वैदेशिक रोजगार व्यवसायी संस्था नेपाल, नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समिति, नेपाल वैदेशिक रोजगार तमुधी समाज, नेपाल वैदेशिक रोजगार तामाङ समाज, तराई वैदेशिक रोजगार व्यवसायी समाज, नेपाल वैदेशिक रोजगार व्यवसायी मगर समाजका अध्यक्ष तथा महासचिवको प्रतिनिधित्व रहेको टोलीले शुक्रबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी तिवारीलाई भेटेको हो ।

भेटमा शुक्रबारदेखि नै संघको वर्तमान कार्यसमितिको कार्यकाल सकिएको र कार्यसमिति आफैंले आफ्नो कार्यकाल थप गर्न नसक्ने भएकाले नयाँ कार्यसमितिको निर्वाचन गराउन संघ कार्यसमितिलाई निर्देशन गरिनुपर्ने विषयमा ध्यानाकर्षण गराएको भेटमा सहभागी एसोसिएसनका महासचिव महेशकुमार बस्नेतले बताए ।

२ फागुनका लागि पूर्वनिर्धारित निर्वाचन १७ असारका लागि सार्ने निर्णय संघको विधानविपरीत रहेको भन्ने विषयमा प्रतिनिधिमण्डलको जोड रहेको बताइएको छ ।

मध्यान्ह दैनिकसँगको कुराकानीमा प्रमुख जिल्ला अधिकारी तिवारीले संघका पूर्वअध्यक्षसहितको व्यवसायीको टोलीले राखेका विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै दुवै पक्षलाई तनाव सिर्जना नहुनेगरी अघि बढ्न आग्रह गरेको बताए । आफूले परिस्थितिको मूल्यांकन गरिरहेको भन्दै प्रमुख जिल्ला अधिकारी तिवारीले मिति वा समय तोकेर कसैलाई केही निर्देशन भने नदिएको बताए ।

संघको वर्तमान कार्यसमितिले व्यवसायीको इजाजत नवीकरणका लागि बाधक रहेको सय संख्या समस्याको यथाशक्य छिटो समाधान, वैदेशिक रोजगार ऐन तथा नियमावलीमा संशोधन, सेवा शुल्क परिमार्जनलगायतका अन्तिम चरणमा रहेका काम गर्न संघका केही पूर्वअध्यक्षहरू र अग्रज व्यवसायीले लिखित आग्रह गरेका कारणले निर्वाचन स्थगित गरिएको बताएको छ । संघले भवन खरिद गर्ने विषय पनि निर्वाचन सार्ने कारण बताएको थियो । घर खरिदको काम भने गत बुधबार सम्पन्न भइसकेको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise