२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

कोशीका ४९ प्रतिशत जनता स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Nada
जुनु भट्टराई
२०८१ फागुन ३ गते २१:३८
Shares
कोशीका ४९ प्रतिशत जनता स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

विराटनगर : स्वास्थ्य बीमा सेवा कार्यक्रम  लागु भएको ८ वर्ष बितिसक्दा कोशी प्रदेशको कुल जनसंख्याको ४९ प्रतिशत नागरिकले मात्र स्वास्थ्य बीमा गराएका छन् । 

ncell

४९ लाख ६१ हजार ४ सय १२ जना जनसंख्या रहेको कोशी प्रदेशमा ४९ प्रतिशत अर्थात् २४ लाख ३९ हजार ४ सय २५ जनाले स्वास्थ्य बीमा गराएका छन् । 

प्रदेशमा सबैभन्दा बढी स्वास्थ्य बीमा झापा जिल्लामा भएको छ भने सबैभन्दा कम सोलुखुम्बुमा रहेको स्वास्थ्य बीमा बोर्ड कोशी प्रदेशका संयोजक अर्जुन पण्डितले जानकारी दिए । 

पण्डितका अनुसार झापा जिल्लामा सबैभन्दा बढी ७५ प्रतिशत अर्थात् ७ लाख ३८ हजार ६ सय ७८ जनाले स्वास्थ्य बीमा गराएका छन् । त्यस्तैगरी दोस्रोमा सुनसरी र तेस्रोमा मोरङ जिल्ला रहेको छ । सुनसरीमा कुल जनसंख्याको ६१ प्रतिशत अर्थात् ६ लाख ६० हजार ५ सय ३५ बिमित रहेका छन् भने मोरङमा जम्मा जनसंख्याको ५० प्रतिशत अर्थात् ५ लाख ७२ हजार ८ सय ५५ स्वास्थ्य बीमा सेवामा आवद्ध भएका छन् ।  

त्यस्तैगरी सबैभन्दा कम स्वास्थ्य बीमा गराउने जिल्ला सोलुखुम्बु र ताप्लेजुड देखिएको छ । सोलुखुम्बुमा जनसंख्याको १३ प्रतिशत अर्थात् १२ हजार ८ सय ६५ जना स्वास्थ्य बीमा सेवामा आवद्ध भएका छन् भने ताप्लेजुडमा पनि जम्मा जनसंख्याको १३ प्रतिशत अर्थात् १५ हजार ७ सय १५ स्वास्थ्य बीमा सेवामा आवद्ध भएका छन् । संयोजक पण्डितले प्रदेशको तराई क्षेत्रको तुलनामा पहाडी जिल्लाहरुमा स्वास्थ्य बीमाको बारेमा पर्याप्त जानकारीको अभाव भएका कारण बिमितको संख्या अपेक्षा गरिएअनुसार नभएको बताए । 

२८ प्रतिशतले नविकरण नै गरेनन्

कोशी प्रदेशमा स्वास्थ्य बीमाको नविकरण दर ७८ प्रतिशत रहेको छ । २८ प्रतिशत बिमितले भने स्वास्थ्य बीमा नविकरण गराएका छैनन् । 

संयोजक पण्डितले नागरिकलाई बीमाको महत्वका बारेमा अझैपनि राम्रोसँग बुझाउन नसकिएको कारण स्वास्थ्य बीमाप्रतिको रुची बढाउन नसकिएको बताए । 

उनले भने, ‘पहाडी र हिमाली जिल्लाहरुमा सेवा प्रदायक संस्थाको अभाव, दरवन्दी अनुसारको  स्वास्थ्यकर्मीको उपलब्धता नहुनु, स्थानीय सरकार र प्रदेश सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई प्राथमिकतामा नराख्नु जस्ता कारणले पनि बिमितहरुमा स्वास्थ्य बीमा सेवाप्रति मोह घट्दै गएको हुनसक्छ ।’ 

कोशी प्रदेशमा ११२ सेवा प्रदायक संस्था

कोशी प्रदेशमा नेपाल सरकारले प्रदान गर्दै आएको स्वास्थ्य बीमा सेवा लिन पाइने सेवा प्रदायक संस्था १ सय १२ रहेका छन् । निजी, सामुदायिक तथा सरकारी गरी प्रदेशका विभिन्न जिल्लामा गरी १ सय १२ स्वास्थ्य संस्थाहरुबाट बिमितले स्वास्थ्य सेवा लिन सक्ने व्यवस्था छ । प्रदेशमा ८६ वटा सरकारी अस्पताल, ५ वटा सामुदायिक र २१ निजी अस्पताल गरी ११२ वटा सेवाको स्वास्थ्य बीमाबाट बिरामीले सेवा लिँदै आएका छन् ।

ताजा खबर

सम्बन्धित खबर