काठमाडौं : काठमाडौंमा जारी फोर नेसन्स वुमन्स इन्टरनेसनल च्याम्पियनसिपअन्तर्गत बिहीबार म्यानमारले किर्गिस्तानविरुद्ध एकतर्फी जित निकाल्दै ५–० को सहज जित दर्ता गरेको छ ।
दशरथ रंगशालामा भएको खेलमा म्यानमारले खेलको सुरुवातदेखि नै दबाब बनायो । खेलको दोस्रो मिनेटमै युन वाडीले पहिलो गोल गर्दै म्यानमारलाई अग्रता दिलाइन् ।
त्यसपछि म्यानमारले लगातार आक्रमण जारी राख्यो । ३०औं मिनेटमा स्यान्डर लिनले दोस्रो गोल थपिन् भने ३५औं मिनेटमा मे हेट लुले तेस्रो गोल गर्दै म्यानमारको अग्रता फराकिलो बनाइन् ।
खेलको ४१औं मिनेटमा युन वाडीले व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमै म्यानमारलाई ४–० को बलियो अवस्थामा पु¥याइन् ।
दोस्रो हाफमा पनि म्यानमारको खेल अझै आक्रामक रह्यो । खेलको ४९औं मिनेटमा मे हेट लुले पुनः गोल गर्दै म्यानमारको जितलाई ५–० को उत्कृष्ट स्कोरमा परिणत गरिन् ।
किर्गिस्तान गोलरहित रहे पनि केही अवसर सिर्जना गरेको थियो । तर, म्यानमारको बलियो डिफेन्सलाई भेद्न सकेन । कप्तान तथा गोलकिपर दिलनुरा अबिबुल्लाले किर्गिस्तानको लागि उत्कृष्ट प्रदर्शन गर्दै म्यानमारका थप प्रहारलाई असफल बनाइन् ।
च्याम्पियनसिप अन्तर्गत अहिले ६ बजे नेपाल र लेबनानबीच प्रतिस्पर्धा हुँदैछ ।