बागलुङ : बागलुङको बडिगाड गाउँपालिका–९ मा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । यस्तै दुर्घटनामा ५ जना घाइते भएका छन् ।
बडिगाड गाउँपालिका–७ भीमगिठेदेखि वडा नं. ९ दर्लिङको खहरे जाँदै गरेको लु ३ च ५५६९ नं. को जीप दर्लिङको सार्किपाटामा सोमबार दुर्घटना भएको हो । दुर्घटनामा निसिखोला गाउँपालिका–७ चोलाङका ७५ वर्षीय खड्क बहादुर कुँवर र ढोरपाटन नगरपालिका–५ नाथुरेकी ३५ वर्षीया जुना कँडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएके छ ।
दुवै जनाको बुर्तिबाङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा बडिगाड गाउँपालिका–९ का ६३ वर्षीया तेज कुमारी बुढा टाउको गम्भीर घाइते भएकी छिन् । उनलाई बुर्तिबाङ अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि गण्डकी अस्पताल पोखरा रिफर गरिएको छ ।
यस्तै बडीगाड गाउँपालिका–९ खहरेकी ५० वर्षीया निमसरा बुढा, ५२ वर्षीया यमकुमारी पौडेल, ३० वर्षीया सिता पौडेल र सवारी चालक बडिगाड गाउँपालिका–९ दर्लिङका २३ वर्षीय हिमाल घर्ती घाइते भएका छन् ।
सवारी चालक घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जीप उकालोमा ब्रेक फेल भई सडकदेखि ५०÷६० मिटर तल खसेको प्रहरीले जनाएको छ ।