
कालीकोट : कालीकोटको रास्कोट नगरपालिका–४ का टिकराज उपाध्याय बालविवाह न्यूनीकरण तथा महिनावारीसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने अभियानमा करिब ७ वर्षदेखि सक्रिय रूपमा लागेका छन् ।
सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेश तथा जिल्लामा बालविवाह र महिनावारीका क्षेत्रमा काम गर्दै आएका विभिन्न संघसंस्थाबाट आवश्यक प्रशिक्षण तथा तालिम लिएपछि उपाध्यायले आफूले सिकेको ज्ञानलाई गाउँ–टोलसम्म पुर्याउने अभियान थालेका हुन् ।
उपाध्यायले जिल्लामा बालविवाह तथा महिनावारीका क्षेत्रमा काम गर्दै आएका किर्डाक नेपाल, सादा नेपाल, हुरेन्डेक नेपाल लगायतका संस्थाबाट सञ्चालन भएका विभिन्न प्रशिक्षण तथा जनचेतनामूलक कार्यक्रममा सहभागिता जनाएका छन् । त्यस्तै, सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेशबाट किशोर–किशोरी तथा अभिभावक रूपान्तरण प्रशिक्षक प्रशिक्षण तालिमबाट समेत उनले जानकारी र अनुभव हासिल गरेका छन् ।
प्रशिक्षण तथा तालिमबाट प्राप्त ज्ञानलाई केवल आफूमै सीमित नराखी समुदायस्तरसम्म पुर्याउनुपर्छ भन्ने उद्देश्यका साथ उपाध्याय अहिले गाउँ–टोल, विद्यालय तथा विभिन्न सार्वजनिक स्थलमा पुगेर किशोर–किशोरी, अभिभावक तथा समुदायका नागरिकसँग बालविवाह र महिनावारीका विषयमा छलफल तथा जनचेतना फैलाउँदै आएका छन् ।
उनले विशेषगरी बालविवाहका कारण बालबालिकाको शिक्षा, स्वास्थ्य, मानसिक अवस्था र भविष्यमा पर्न सक्ने असरबारे जानकारी गराउँदै आएका छन् । कम उमेरमै विवाह गर्दा किशोर–किशोरीको व्यक्तिगत विकासमा बाधा पुग्नुका साथै स्वास्थ्यसम्बन्धी समस्या, विद्यालय छाड्ने अवस्था, आर्थिक निर्भरता तथा पारिवारिक र सामाजिक समस्या निम्तिन सक्ने भएकाले बालविवाह रोक्न परिवारदेखि समुदायसम्म सबै जिम्मेवार बन्नुपर्ने उनको भनाइ छ । त्यस्तै, महिनावारी प्राकृतिक र जैविक प्रक्रिया भएकाले यसलाई लाज, घृणा, छुवाछुत वा विभेदको विषय बनाउन नहुने सन्देश पनि उपाध्यायले गाउँ–टोल तथा विद्यालयमा दिँदै आएका छन् ।