२०८१ फागुन १४ गते बुधवार / Feb 26 , 2025 , Wednesday
२०८१ फागुन १४ गते बुधवार
Ads

दशौं राष्ट्रिय खेलकुद : प्रतियोगिता सार्ने बहाना खोज्दै मन्त्री चौधरी

hardik ivf
कुलेन्द्र शाही
२०८१ फागुन १३ गते ०६:२५
दशौं राष्ट्रिय खेलकुद : प्रतियोगिता सार्ने बहाना खोज्दै मन्त्री चौधरी

सुर्खेत : २३ चैतदेखि कर्णालीमा हुने भनिएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएकै मितिमा नहुने लगभग निश्चित भएको छ । खेलकुद प्रतियोगिता आउन ४२ दिन बाँकी रहँदा पनि प्रतियोगिताको कुनै पनि तयारी नहुँदा यहाँ प्रतियोगिता नहुने निश्चित जस्तै भएको हो ।

यसअघि २ मंसिरमा हुने भनिएको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तिममा आएर स्थगित भएको थियो ।

उक्त समयमा प्रतियोगिता हुन नसकेपछि २३ चैतका लागि नयाँ मिति तोकिएको थियो । तर, यस मितिमा पनि प्रतियोगिता नहुने भएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्समेत लामो समयदेखि सदस्य सचिवविहीन छ । त्यसले गर्दा पनि तोकिएकै समयमा प्रतियोगिता हुने सम्भावना कमै मात्रामा देखिन्छ । २३ चैत आउन अब ४२ दिन मात्र बाँकी छ ।

निवर्तमान सदस्य सचिव विश्वामित्र सञ्ज्यालले प्रतियोगिताको समय घट्दै गएको र आयोजकबाट कुनै पनि आधिकारिक धारणा हालसम्म पनि नआएको हुँदा प्रतियोगिता अन्योलमा भएको बताए ।

‘प्रतियोगिता हुने भए त अहिलेसम्म विभिन्न सामग्री खरिदलगायतका लागि टेन्डरको सूचना, प्रतियोगिताको तयारी गर्नुपर्ने हो, त्यो केही गरिएकै छैन । सूचना खुलाएपछि मात्र कम्तीमा पनि ६५ दिन लाग्छ तर २३ चैत आउन ४२ दिन मात्र बाँकी छ, कसरी होला र खै ?’ यस्तै, सुर्खेतका अधिकांश मानिस २३ चैतमा प्रतियोगिता नहुने ठोकुवा गर्छन् ।

त्यति मात्र होइन, यहाँका स्थानीय अब त प्रतियोगितासमेत सुर्खेतबाट अन्तै सार्ने तयारी गरेको आरोप लगाउँछन् । सुर्खेतका होटेल व्यवसायी तथा स्थानीय पत्रकार चिन्तामणि शर्माले खेलकुद परिषद्का पदाधिकारी नियुक्तिमा ढिलाइ गरे केन्द्र सरकारले दशौं राष्ट्रिय प्रतियोगिता सुर्खेतबाटै सार्न पनि सक्ने बताए ।

‘कर्णाली प्रदेशको खेलकुद परिषद्का पदाधिकारी छिटो नियुक्त गरौं’, उनी भन्छन्, ‘यसरी ढिलाइ गर्दा केन्द्रले खेलकुद प्रतियोगिता गर्न आलटाल गर्ने र अन्ततोगत्वा प्रतियोगिता सुर्खेतबाटै सार्न पनि सक्छ । कर्णाली सरकार, क्रियाशील सबै दलहरू अनि नागरिक समाज सतर्क र जिम्मेवार बनौं ।’

निवर्तमान सदस्य सचिव सञ्ज्याल खेलकुदमन्त्री तेजुलाल चौधरीले आफ्नो अनुुकूलतामा होइन, खेलाडीको अनुकूलतामा राष्ट्रिय खेलकुद गर्नुपर्ने बताउँछन् ।
उनी भन्छन्, ‘नैतिकता देखाउने बेला भयो मन्त्रीज्यू ! राष्ट्रिय खेलकुद तपाईंको समय अनुकूलतामा गर्ने कि खेलाडीको समय अनुकूलतामा गर्ने ?  मलाई लाग्छ, अर्को समय भनिदिएर मन्त्रीज्यूको फेस सेभिङ गर्ने कुरा हुन सक्छ ।’

राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष तथा खेलकुदमन्त्री चौधरीले पनि आइतबार मध्यान्हसँग कुराकानी गर्दै १०औं राष्ट्रिय खेलकुद चैतमा हुन नसक्ने बताए । 

‘दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता चैतमा हुँदैन जस्तो छ’, उनले मध्यान्हसँग भने, ‘समय पनि कमै मात्रामा छ, बोर्डको बैठक १५/१६ गते बस्छ अनि कहिले हुने हो निर्णय हुन्छ ।’

मन्त्री चौधरीले थपे, ‘अर्थ मन्त्रालयले पनि ४५ करोडको २५ प्रतिशत बजेट घटाएर पठाएको छ, पैसा घटाएर पठाएपछि चैतमा प्रतियोगिता कसरी हुन्छ र ? हामीले फेरि अर्को पत्र पठाएका छौं, हेरौं, अब के जबाफ आउँछ ?’

मन्त्री चौधरीले प्रतियोगिताका लागि छोटो समय भएको र तयारी नपुग्ने भन्दै २३ चैतमा प्रतियोगिता नहुने संकेत गरे । 

यता, कर्णालीका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले केन्द्रबाट प्रतियोगिताका लागि कुनै पनि धारणा नआएको बताए । मन्त्री भण्डारीले भने, ‘केन्द्रबाट अहिलेसम्म केही धारणा आएको छैन । प्रतियोगिता २३ चैतमा हुँदैन भनेर यसो हल्लाखल्ला सुनिएको छ ।’

प्रतियोगिता तोकिएकै मितिमा हुन्छ कि हुँदैन ? भन्ने प्रश्नमा मन्त्री भण्डारीले आफूहरू आयोजक नभएको र केन्द्रबाट केही धारणा नआएको हुँदा अहिले नै केही भन्न नसकिने बताए । 

‘केही आधिकारिक धारणा आयो भने प्रतियोगिता हुने÷नहुने जबाफ दिन सकिन्छ । अहिले नै हुन्छ र हुँदैन भन्न सकिन्नँ’, उनले मध्यान्हसँग भने । साथै, मन्त्री भण्डारीले पदाधिकारी नियुक्तिका लागि पनि केही प्रक्रिया अगाडि नबढेको बताए ।

ADV

सम्बन्धित खबर

Advertise