अर्घाखाँची : जंगबहादुर राणाको न्वारन भएको स्थान भनेर चिनिने अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा रहेको बल्कोट पौवा प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । ऐतिहासिक पौवाको अहिलेसम्म प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको स्थानीयले बताएका छन् ।
राणा प्रधानमन्त्री जंगबहादुर राणाको पालामा तत्कालीन कर्णेल सनदसिंह टण्डनको नेतृत्वमा अत्यन्तै आकर्षक शैलीमा बनाइएको पौवाभित्र शिवालय मठ, तथा अन्य मन्दिरहरू समेत निर्माण गरिएका छन् । वि.सं.१९०४ सालमा निर्माण गर्न सुरु गरी १० वर्ष लगाएर पौवा तथा मन्दिरहरू निर्माण गरिएको स्थानीय बुढापाकाहरु बताउँछन् ।
जंगबहादुरको बुबा बालनरसिंह राणा आर्मीका अफिसर थिए । उनी बारुदखान दल प्यूठानको प्रमुख थिए । १८६० को दशकमा जुम्लाको सिंजा प्रान्तमा गुठीको जग्गाले विवाद बढाएपछि गुठीको विवाद समाधान गर्न बालनरसिंहलाई १८६९ मा जुम्ला खटाइएको थियो । जुम्लामा उनी श्रीमतीलाई लिएर गएको बताइन्छ । जुम्लामै रहँदा उनको श्रीमती गर्भवती भएको र त्यो समयमा गर्भवती हुँदा माइती जाने प्रचलन रहेकाले नेपाली संस्कार अनुसार जुम्लाबाट माइती गोर्खा जाने क्रममा अर्घाखाँचीको वाङ्गलामा रहेको लामपाटी अर्थात् मथुरामा १८७४ सालमा जंगबहादुरको जन्म भएको थियोे ।
त्यसबेला लामपाटीमा घनघोर जंगल रहेकाले नजिकैका पाण्डे थरका कृषकहरूले उनको स्याहार सुसार गरेको र पछि बल्कोटको पौवा रहेको स्थानमा लगि सुत्केरी र बच्चालाई राखिएको थियो । त्यहाँ स्थानीय खनाल थरका ब्राह्मणहरूले न्वारन गराएर त्यो बालकको नाम वीरनरसिंह राखेको संस्कृतिमा रुची राख्ने स्थानीय नारायण भट्टराइले बताए ।
सुत्केरी दरिली भएपछि जंगबहादुरकी आमा माइती गोर्खा गएकी थिइन् । पछि वीरनरसिंह जंगे स्वभावको भएको हुनाले उनको नाम जंगबहादुर रहेको पाका पुस्ताको भनाइ छ ।
जंगबहादुरको जन्म कतिले गोर्खामा र कतिले काठमाडौंको थापाथलीमा भएको भन्ने गरेका छन् । उनी लाम्पाटी दरबार अर्घाखाँचीमा जन्मिएका थिए । त्यसैले उनको जन्मको बारेमा एउटै ठाउँ कसैले भन्न नसकेको इतिहासकारहरूको भनाइ रहेको छ ।
इतिहासकार प्राध्यापक दिनेशराज पन्त र युवराज शमशेर जबराका अनुसार जंगबहादुर लाम्पाटीमा जन्मिएको र वल्कोटको पौवामा आएर न्वारन भएको, पछि त्यसै स्थानमा कर्णेल सनदसिंह टण्डनको नेतृत्वमा विचित्रको पौवा निर्माण भएको उल्लेख गरेका गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठ बताउँछन् ।
पौवाको विषयमा तत्कालीन राजा सुरेन्द्र शाहको पालामा चार वटा लाल मोहर लागेका थिए । ती लाल मोहर तथा इतिहासकारहरू प्रोफेसर पन्त र जबराको विश्लेषणलाई आधार बनाएर अर्घाखाँची सम्पर्क सदनको चिनारी २०७२ मा समावेश गरिएको उनले बताए । आफू जन्मिएको लाम्पाटीमा पौवा तथा बगैँचा र न्वारन भएको ठाउँ बल्कोटमा विचित्रको पौवा निर्माणका लागि जंगबहादुर आफैले कर्णेल सनदसिंहलाई निर्माण गर्न लगाएका थिए ।
पौवा तथा मन्दिर निर्माण गरिसकेपछि सञ्चालनको लागि सयौँ बिगाहा जमिन गुठीमा समेत रहेको छ । केही समय अघिसम्म पौवामा रहेको मन्दिरको संरक्षण गर्ने, फूलपाती टिप्ने, कोइला लैजाने, लिपपोत गर्ने, दैनिक बिहान बेलुका बाजा बजाउनेको समेत व्यवस्था थियो । अहिले पूजाआजा भइरहे पनि दैनिक बाजा बजाउने कार्य भने हटेको जानकारी आफुले पाएको पौवाको अबलोकन गर्न पुगेका लुम्बिनी प्रदेश सरकारका जलश्रोत सिँचाइ मन्त्रालयका सचिव बिष्णु भण्डारीले बताए ।
पौवामा काठका आकृतिमा यौन अंग र विभिन्न यौन आसन देखाइएको देख्दा निकै आकर्षक लागेको अवलोकनमा पुगेका सिँचाइ डिभिजन प्रमुख भेषराज भुसालले प्रतिक्रिया दिए । पौवा निर्माण गरेका कालीगढको हात राणाकै पालामा काटिएको पनि स्थानीय बताउँछन् । पौवा निकै आकर्षक भएकाले ती कालीगढले त्यस्तै कलात्मक पौवा अन्य स्थानमा बनाउन नसकुन् भन्ने हेतुले कालीगढको हात काटिएको भनाइ रहेको भएतापनि कसले, कहिले, कसको हात काटेको भन्ने इतिहासकारले उल्लेख गरेका छैनन् ।
कर्णेल सनदसिंहको पालामा बल्कोटको पौवा, मथुराको पौवा, पाल्पा र गुल्मीको सिमानामा रहेको मनवाक पौवा, रिडीको बगैँचा, पाल्पा अर्गलीको बगैँचा, जोर्तेको पौवा र बाटोमा रहेका गौमुखी धाराहरू निर्माण भएको सामाजिक संस्कृतिको अध्ययन गरिरहेका नारायण भट्टराईले बताए ।
बल्कोटको पौवा, मन्दिर र गुठीलाई संरक्षण गरी प्रचारप्रसार गर्ने उद्देश्यले २०६६ सालमा डा.गोविन्द टण्डनको नेतृत्वमा पण्डित दिनबन्धु पोखरेलको प्रवचनमा महायज्ञ लगाइएको थियो । महायज्ञ लगाएपछि प्रचारप्रसारमा अघि बढ्न खोजे पनि पर्याप्त हुन नसकेको स्थानीय पीताम्बर खनालले बताए ।