लहान : सिरहाको नवराजपुर गाउँपालिका–१, भगवतीपुरकी १७ वर्षीया रिंकु कुमारी सदाको रहस्यमय मृत्यु प्रकरणमा न्यायको माग गर्दै लहानमा प्रदर्शन गरिएको छ ।
मुसहर समुदायका सदस्यहरूसहित स्थानीय नागरिकहरूको सहभागितामा लहानको मुख्य चोक, गेट क्षेत्र तथा पूर्वपश्चिम राजमार्गमा प्रदर्शन गरिएको हो ।
प्रदर्शनका क्रममा ‘रिंकु सदालाई न्याय देऊ !’, ‘बलात्कारीलाई कडा कारबाही गर !’ जस्ता नाराहरू गुञ्जिएका थिए । आक्रोशित स्थानीयहरूले केहीबेर सडक अवरुद्ध गर्दै दोषीमाथि कठोर कारबाहीको माग गरेका थिए ।
दबाबमूलक प्रदर्शनपछि लहान नगरपालिका वडा नम्बर १, मटियार्वास्थित श्री आधारभूत विद्यालयको परिसरमा कोणसभा गर्दै आन्दोलन समापन गरिएको थियो ।