२०८२ वैशाख ९ गते मङ्गलवार / Apr 22 , 2025 , Tuesday
२०८२ वैशाख ९ गते मङ्गलवार
Ads

हुलाकी सडकखण्ड निर्माण नभएपछि पुन: थप आन्दोलनका कार्यक्रम घोषणा

draupadi film
मध्यान्ह
२०८१ फागुन २१ गते १४:४५
हुलाकी सडकखण्ड निर्माण नभएपछि पुन: थप आन्दोलनका कार्यक्रम घोषणा

नवलपरासी : पश्चिम नवलपरासीमा लामो समयदेखि हुलाकी सडक खण्डको विभिन्न सडक निर्माणका आयोजनाहरू अलपत्र परेपछि पुन: फागुन २६ गतेबाट थप आन्दोलनका कार्यक्रम घोषणा गरिएको छ ।

नवलपरासीको नारायणचोकदेखि बेलाटारीसम्मको करिब ६.५ किलोमिटर हुलाकी सडक निर्माणको काम अलपत्र परेको भन्दै प्रतापपुर गाउँपालिकाले थप आन्दोलन गर्ने घोषणा गरेको हो  ।

घोषित आन्दोलनका कार्यक्रमअनुसार आगामी फागुन २६ गते हुलाकी राजमार्ग योजना कार्यालय, कपिलवस्तुमा सबै सरोकारवालाको सहभागितामा धर्ना तथा घेराउ गर्ने कार्यक्रम रहेको छ ।

प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले यसअघि भएका सहमतिबमोजिम समयमै सडक निर्माणको काम सुरु नभएकाले पुन: आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य भएको जानकारी दिए ।

यसका लागि गाउँपालिकाको तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय काठमाडौं, हुलाकी राजमार्ग योजना कार्यालय, हुलाकी निर्देशनालय काठमाडौं र हुलाकी राजमार्ग योजना कार्यालय, कपिलवस्तुलाई औपचारिकरुपमा पत्राचार गरी निर्माण काम शुरु नभए पुन: आन्दोलनको घोषणा गरिने जानकारी गराइएको उनले बताए ।

सडक निर्माणको जिम्मा पाएको महालक्ष्मी ब्रजगुरु कम्पनीले समयमै काम नगरेको, सडक करिब ६ वर्षदेखि अस्तव्यस्त रहेको र स्थानीय तह, जनप्रतिनिधि तथा सम्बन्धित निकायसँग पटकपटक छलफल तथा सहमति गरेपनि कार्यान्वयन हुन नसकेको भन्दै पुन: गाउँपालिकाले आन्दोलनको घोषणा गरेको हो । 

सडक निर्माणका लागि यस अगावै गाउँपालिकाका अध्यक्ष यादवसहित जिल्लाका विभिन्न तहका जनप्रतिनिधिको टोलीले विभिन्न चरणको आन्दोलन गरेको थियो भने गत भदौ २८ गते आमरण अनशन बसेको थियो । 

त्यसपश्चात लुम्बिनी प्रदेशका भैतिक पूर्वाधार मन्त्री भूमिश्वर ढकालको उपस्थितिमा निर्माण व्यवसायीबीच भएको सहमति कार्यान्वयनका लागि प्रतिबद्धता जनाएपछि आन्दोलन रोकिएको थियो । 

पश्चिम नवलपरासीमा ३ खण्डमा विभाजन गरेर साढे ३६ किलोमिटर हुलाकी सडक विस्तार भइरहेको छ । तर सडक विस्तारको काम सुस्त हुँदा यात्रु र सडक छेउछाउका बासिन्दाले सास्ती खेप्दै आएका छन् । पहिलो खण्डअन्तर्गत सदरमुकाम परासीदेखि नारायणचोकसम्मको साढे १२ किलोमिटर सडक विस्तारका लागि दिइएको म्याद गत वर्षको चैत मसान्तमै सकिएको हो । तर हालसम्म न म्याद थप भएको छ न ठेकेदारले काम नै पूरा गरेको छ ।

३ वर्षदेखि ९० प्रतिशत काम पूरा भएकाले छिट्टै काम पूरा हुने बताउँदै आएको संघीय सरकारअन्तर्गतको हुलाकी राजमार्ग योजना कार्यालय कपिलवस्तुले अहिले पनि पुरानै जवाफ दोहोर्‍याउँदै आएको छ । यो सडकखण्ड निर्माण थालेको पनि ७ वर्ष भइसकेको छ, तर काम पूरा भएको छैन भने कालोपत्रे गरेको केही महिनामै भत्किएर खाल्डाखुल्डी परेको छ । सडक निर्माणको जिम्मा पाएको ठेकेदार कन्चनजंगा, विरुवा शिवशक्ति जेभिले काम सक्न पटक-पटक थप म्याद पाएपनि काम पूरा गरेको छैन ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise