२०८३ कार्तिक १७ गते मङ्गलवार / Nov 03 , 2026 , Tuesday
२०८३ कार्तिक १७ गते मङ्गलवार

देशमा विवेकहीन र निरङ्कुश प्रवृत्ति हाबी भयो : प्रचण्ड

Nada
२०८३ कार्तिक १७ गते १६:३७
Shares
देशमा विवेकहीन र निरङ्कुश प्रवृत्ति हाबी भयो : प्रचण्ड

काठमाडौँ : पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको राज्य सञ्चालनमा विचार, विवेक र सिद्धान्तको महत्व कमजोर हुँदै गएको बताएका छन् । उनले पछिल्लो राजनीतिक परिस्थितिमा निरङ्कुशता, अराजकता र विवेकहीन प्रवृत्ति बढ्दै गएको टिप्पणी गरेका छन् ।

मङ्गलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै प्रचण्डले राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र जनताको अधिकार संरक्षणका लागि विचार तथा सिद्धान्तमा विश्वास गर्ने राजनीतिक शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिए ।

उनले अहिले देशमा आवेग, आग्रह–पूर्वाग्रह र जनतालाई त्रसित बनाउने प्रवृत्ति बढिरहेको आरोप लगाए । राज्य सञ्चालनमा विवेक र राजनीतिक विचारको अभाव देखिएको उल्लेख गर्दै उनले यस्ता प्रवृत्तिविरुद्ध सैद्धान्तिक राजनीति गर्ने शक्तिहरूले साझा मोर्चा निर्माण गर्नुपर्ने बताए ।

प्रचण्डले विचार, सिद्धान्त, विवेक र राष्ट्रियताको पक्षमा उभिने शक्तिहरूलाई पुनः एकताको अभियानमा सहभागी हुन आह्वानसमेत गरे । उनका अनुसार देशको वर्तमान राजनीतिक अवस्थालाई सामना गर्न व्यापक राजनीतिक एकता आवश्यक छ ।

सम्बोधनका क्रममा उनले राष्ट्रिय स्वाधीनता र सार्वभौमसत्तामाथि चुनौती उत्पन्न भइरहेको दाबी गर्दै देशको अस्तित्व रक्षाका लागि सबै देशभक्त शक्तिहरू एक ठाउँमा उभिनुपर्ने धारणा राखे ।

‘देशको स्वाधीनता नै रहेन भने हामी कोही पनि रहँदैनौँ,’ उनले भने, ‘त्यसैले देश र आन्दोलनको रक्षाका लागि बृहत् एकताको विकल्प छैन ।’

उनले पार्टी एकतालाई केवल सङ्गठनात्मक समायोजनमा सीमित नराखी विचार, सिद्धान्त र राष्ट्रियताको संरक्षणका लागि साझा राजनीतिक अभियानका रूपमा अघि बढाउनुपर्ने सन्देश दिएका छन् ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर