
काठमाडौँ : नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेला आफ्नो कूटनीतिक जिम्मेवारी सम्हाल्न मंगलबार काठमाडौं आइपुगेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई परराष्ट्र मन्त्रालय र काठमाडौंस्थित भारतीय राजदूतावासका अधिकारीहरूले स्वागत गरेका थिए ।
भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमणको पूर्वसन्ध्यामा दलेला काठमाडौं आइपुगेका हुन् । विदेश सचिव मिश्री बुधबारदेखि दुईदिने औपचारिक भ्रमणका लागि नेपाल आउँदै छन् । उनको भ्रमणका क्रममा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय सहकार्य तथा आपसी चासोका विभिन्न विषयमा छलफल हुने कार्यक्रम रहेको छ ।
भारत सरकारले गत असोज ३० गते दलेलालाई नेपालका लागि नयाँ राजदूत नियुक्त गरेको थियो । यसअघि उनी भारतीय विदेश मन्त्रालयमा सचिव (आर्थिक सम्बन्ध) को जिम्मेवारीमा कार्यरत थिए ।
सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गरेका दलेलाले सन् २०२५ सेप्टेम्बर १ देखि आर्थिक सम्बन्ध सचिवको जिम्मेवारी सम्हालेका थिए । त्यसअघि सन् २०२२ देखि २०२५ सम्म उनले भुटानका लागि भारतीय राजदूतका रूपमा काम गरेका थिए ।
दलेलासँग नेपालसम्बन्धी कूटनीतिक विषयमा काम गरेको अनुभवसमेत छ। उनले भारतीय विदेश मन्त्रालयको नेपाल र भुटान हेर्ने उत्तरी महाशाखामा निर्देशक तथा सहसचिवका रूपमा जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
यसका साथै उनले अमेरिका, बंगलादेश र इजरायललगायत देशमा विभिन्न कूटनीतिक जिम्मेवारी सम्हालेका छन् । व्यापार, आर्थिक कूटनीति तथा अन्तर्राष्ट्रिय आर्थिक सहकार्यका क्षेत्रमा समेत अनुभव हासिल गरेका दलेलाले भारतको विकास साझेदारीसम्बन्धी विषयमा काम गरिसकेका छन् ।
दलेलाको नियुक्तिलाई नेपाल–भारतबीचको कूटनीतिक सम्बन्धका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ । अनुभवी कूटनीतिज्ञलाई राजदूतका रूपमा पठाएसँगै दुई देशबीचको उच्चस्तरीय संवाद र सहकार्यले थप निरन्तरता पाउने अपेक्षा गरिएको छ ।
दलेलाले निवर्तमान भारतीय राजदूत नवीन श्रीवास्तवको स्थान लिनेछन् । श्रीवास्तवले सन् २०२२ जुनदेखि नेपालका लागि भारतीय राजदूतको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
नयाँ राजदूतको आगमन र भारतीय विदेश सचिवको आसन्न नेपाल भ्रमणले दुई देशबीचको कूटनीतिक गतिविधिलाई थप सक्रिय बनाउने देखिएको छ ।