
काठमाडौँ : देशभरका उपभोक्तालाई जुनसुकै कम्पनीको खाना पकाउने ग्यास सिलिन्डर साटेर दिन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गरिएको, सिलिन्डर साट्ने क्रममा उपभोक्तालाई महंगो मूल्य तिराइएको, हैरानी दिने गरिएको, ग्यासको कालोबजारी गरिएको हुनाले त्यसलाई रोक्न जुनसुकै कम्पनीको सिलिन्डर साटेर दिनुपर्ने माग गरिएको छ । अधिवक्ता विमल पोखरेलले कार्तिक १७ गते सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् ।
ग्यास कम्पनी र डिलरको मिलेमतोमा ग्यासको अभाव सिर्जना गरी उपभोक्तालाई फरक कम्पनीको सिलिन्डर महंगो मूल्य तिरेर किन्न बाध्य पारिएको रिटमा उल्लेख छ । संविधानको धारा १६ को सम्मानपूर्वक बाँच्न पाउने हक र धारा ४४ को उपधारा (१)प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक र उपधारा (२) को गुणस्तरहीन वस्तु वा सेवाबाट क्षति पुगेको व्यक्तिलाई कानून बमोजिम क्षतिपूर्ति पाउने हक बञ्चित गरिएको हुनाले उपभोक्ता अधिकार सुनिश्चित गरिनुपर्ने माग गरिएको छ ।
दशैं, तिहार जस्ता चाडपर्वमा कालोबजारी गरेर नागरिकबाट करोडौं ठगिएको, विद्यार्थी, मजदुर र सामान्य उपभोक्ता भोकै बस्नु परेको हुनाले जुनसुकै कम्पनीको ग्यास तत्काल साट्नका लागि अन्तरिम आदेशको माग गरिएको छ । सरकारले खाना पकाउने ग्यासलाई अत्यावश्यक सेवाअन्तर्गत राखेको छ ।
दशकौंदेखि उपभोक्ताहरू ग्यास कालोबजारीको सिकार हुन बाध्य भएको निवेदक पोखरेलले बताए । एउटै व्यक्ति र परिवारले कैयौं ग्यास उद्योग खोलेर सिन्डिकेट चलाएको हुनाले त्यसलाई रोक्नुपर्ने आवश्यकता रहेको जानकारी दिए । रिटको पेसी कार्तिक १८ गतेको लागि तोकिएको छ ।