२०८१ फागुन २२ गते बिहिवार / Mar 06 , 2025 , Thursday
२०८१ फागुन २२ गते बिहिवार
Ads

गाउँपालिका अध्यक्ष नै लागुऔषध कारोबारी ठहर

hardik ivf
मध्यान्ह
२०८१ फागुन २१ गते १८:१०
गाउँपालिका अध्यक्ष नै लागुऔषध कारोबारी ठहर

परासी : नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता (दीपक) लागुऔषध कारोबारमा दोषी ठहर भएका छन् । 

जिल्ला अदालत नवलपरासीका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले गरेको फैसलाले अध्यक्ष गुप्तासहित २ जनालाई लागुऔषधमा कसुर ठहर गरेको हो । 

कसुर ठहर हुनेहरू गुप्तासहित रघुनाथ प्रसाद धोबी छन् । अभियोग ठहर भएका धोबी गाउँपालिकाका नगर प्रहरी थिए । उनी सोही अभियोगमा २६ असोज २०७९ देखि पुर्पक्षका लागि थुनामै छन् । अन्य २ जनालाई अभियोगबाट सफाई दिइएको छ । सफाई पाउनेहरूमा रामा गुप्ता भन्ने रामा साह र जीतेन्द्र पासवान छन् । उनीहरू भारतीय नागरिक हुन् ।  अभियोग लागेका पाल्हीनन्दन गाउँपालिका–३ का मन्टु भनिने विवेक प्रसाद पाण्डे अझै फरार छन् । 

अध्यक्षसहित धोबीलाई कसुर ठहर गरे पनि सजाय निर्धारणका लागि भने पेशी तोकिएको छ । २९ फागुनमा सजाय निर्धारणको फैसला हुने अदालतका शाखा अधिकृत सूचना अधिकारी भेषराज खनालले जानकारी दिए । लागुऔषध अभियोगमा २ वर्षदेखि १० वर्षसम्म कैद र १ लाखदेखि २० लाख रुपैयाँसम्म जरिबाना हुने भन्दै सजाय ठहर फैसलामा भनिएको छ ।

घटनापश्चात रघु, रामा र जीतेन्द्रलाई प्रहरीले पक्राउ गरेको थियो । साह र पासवान सर्वोच्चबाट धरौटीमा यसअघि रिहा भइसकेका छन् ।

२२ असार २०७९ मा रामग्राम नगरपालिका–१७ पिपरिहयामा भएको घटनामा अध्यक्ष गुप्ताको निर्देशनमा रामा र जीतेन्द्रलाई फसाउन खोजेको भन्दै त्यतिबेलै सदरमुकाममा परासीमा विरोध र प्रदर्शन भएको थियो । अध्यक्ष गुप्ताको निर्देशनमा रघुनाथ प्रसाद धोबी र मन्टु भनिने विवेकप्रसाद पाण्डेले रामा र जीतेन्द्र चढेको मोटरसाइकल नजिक लागुऔषधको झोला फ्याँकेर गई फसाउन खोजेको आरोप जीतेन्द्रको परिवारको थियो ।  

प्रहरीसहितको मिलमतोमा उक्त लागुऔषध २ जनाबाट बरामद भएको भन्ने प्रतिवेदन बनाएर मुद्दा दर्ता गरिएको प्रहरीमाथि समेत आरोप थियो । बरामद भएको लागुऔषधमा २÷२ थान एम्पुलको झोलासहित ९०÷९० थान डाइजेपाम नुर्फिन र फेनार्गन रहेको उल्लेख थियो । 

निर्दोष व्यक्तिलाई फसाएको भन्दै त्यतिबेला प्रहरीको आलोचना गर्दै सदरमुकाममा प्रदर्शनसमेत भएको थियो । प्रहरीकै मिलमतोमा निर्दोषलाई फसाएको भन्दै आलोचना बढेपछि प्रहरी प्रधान कार्यालय र लुम्बिनी प्रदेश प्रहरी कार्यालयले घटनाको छानबिन गर्न छुट्टाछुट्टै टोली पठाएको थियो । सोही घटनालाई लिएर तत्कालीन एसपी ऋषिराम कँडेलको सरुवासमेत भएको थियो । अध्यक्ष गुप्ताको कवाड व्यवसायसमेत छ । 

जीतेन्द्र र रामा भारतीय नागरिक हुन् । बिहारको चिरहिया ग्राम पटजिलवा घर भएका उनीहरूले करिब १५ वर्षअघिबाट सुनवल नगरपालिकाको भूमही बजारमा कवाडी पसल सञ्चालन गर्दै आएका थिए । अध्यक्ष र उनीहरूबीच कबाड सामानको कारोबार हुँदै आएको थियो । करिब १ करोड ३५ लाख बढीको कवाडी सामानको लेनदेनको विषयलाई लिएर अध्यक्ष गुप्ताले उनीहरूलाई फसाएको आरोपसमेत लाग्दै आएको थियो । अध्यक्ष गुप्तासहित अन्य ३ व्यक्तिसँगबाट लागुऔषध बरामद नभएपनि सजाय निर्धारणका लागि भएको फैसलामा उनीलाई दोषी ठहर गरिएको हो ।
 

ADV

सम्बन्धित खबर

Advertise