रुकुमपूर्व : फागुन दोस्रो साता परेको हिमपातले रुकुम पूर्वका दुई प्रमुख हिमाल पुथा र सिस्ने टल्किन थालेका छन् । हिउँ नपर्दा कालो ढुंगाजस्तो देखिने यी हिमाल अहिले सेताम्मे भएर थप आकर्षक बनेको छ । लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुमपूर्व प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । यहाँका दुई ठूला हिमाल यस वर्ष कालो पहराझैं देखिए पनि हिमपात भएलगत्तै चम्किन थालेको छ ।
बिहीबारदेखि परेको हिमपातले पुथा उत्तरगंगा गाउँपालिका–१ मा रहेको पुथा र सिस्ने गाउँपालिका–१ मा रहेको सिस्ने हिमालको स्वरूप नै फेरिएको छ । हिमपात अघि धुलाम्मे र सुख्खा देखिने यी हिमाल अहिले हिउँको सेतो चादर ओढेर अनुपम देखिएका छन् ।
पुथा उत्तरगंगा गाउँपालिकाका वडा नम्बर १ का वडाध्यक्ष बीरमान कामी भन्छन्,‘पहिले खासै पर्यटक नआउने पुथा हिमालमा हिउँ परेपछि पर्यटकहरूको चाप बढ्ने अनुमान गरिएको छ ।’
यस्तै सिस्ने गाउँपालिका–१ का वडाध्यक्ष जसबहादुर बुढाले सिस्ने हिमालको सुन्दरता झन् निखरिएको बताए । यहाँको गुप्त दहमा हिमालको प्रतिबिम्ब झल्किँदा दृश्य अत्यन्तै मनमोहक देखिएको अध्यक्ष बुढामगले बताए । जिल्लामा रहेका हिमालहरु स्वाभाविक रूपमा सुन्दर छन्, तर पर्यटकीय प्रचार–प्रसारको अभावका कारण ओझेलमा पर्छ कि भन्ने त्रास रहेको स्थानीय बताउँछन् । स्थानीय तहहरूले पूर्वाधार विकासमा ध्यान दिएर प्रचारप्रसारमा जोड दिने हो भने यी हिमाल पर्यटकका लागि उत्कृष्ट गन्तव्य बन्न सक्ने नागरिकले अपेक्षा गरेका छन् ।
हिउँले ढाकिएको पुथा र सिस्ने हिमालले अब पर्यटकलाई लोभ्याउने मात्र होइन्, स्थानीय अर्थतन्त्रलाई पनि चलायमान बनाउने सम्भावना बोकेको छ । पर्यटन पूर्वाधार विस्तार, होमस्टे व्यवस्थापन र पदमार्ग सुधार गरेमा यी हिमालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै चर्चित गन्तव्य बन्न सक्ने अपेक्षा गरिएको छ ।