२०८१ फागुन २२ गते बिहिवार / Mar 06 , 2025 , Thursday
२०८१ फागुन २२ गते बिहिवार
Ads

गुल्मी भाडागाउँमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् जोडियो

hardik ivf
सुमन महतरा
२०८१ फागुन २१ गते २०:५३
गुल्मी भाडागाउँमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् जोडियो

गुल्मी : गुल्मीको भाडागाउँमा राष्ट्रिय प्रसारण लाइनको विद्युतीय सेवा सुचारु भएको छ ।

जिल्ला सदरमुकाम तम्घास नजिकै रहेर पनि रेसुङ्गा नगरपालिका वडा नम्बर ३ भाडागाउँमा राष्ट्रिय प्रसारण लाइनको विद्युतीय सेवा पुगेको थिएन । बुधबार रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले उद्घाटन गरेसँगै उनायचौर सब–स्टेशनबाट भाडागाउँमा राष्ट्रिय प्रसारण लाइनको विद्युतीय सेवा सुचारु भएको नेपाल विद्युत् प्राधिकरण गुल्मी वितरण केन्द्रका निमित्त प्रमुख इन्जिनियर भरत पोखरेलले जानकारी दिए ।

उनले भाडागाउँका नागरिकले धेरै पहिलेदेखि गुनासो गरिरहेको र रेसुङ्गा नगरपालिका प्रमुखले पहल गरेपछि आफूहरूले नयाँ बनेको उनाय चौर सब–स्टेसनबाट नयाँ निस्किएको ११ केभी फिडरबाट विद्युतीय सेवा नयाँ रुट बनाएर उपलब्ध गराइएको बताए । 

रेसुङ्गा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष बाबुराम खत्रीले भाडागाउँमा राष्ट्रिय प्रसारण लाइन नजोडिँदा निकै सास्ती खेप्नुपरेको बताए । 
सामुदायिक विद्युत् मार्फत मुसिकोट र इस्मा हुँदै रेसुङ्गाको भाडागाउँमा आउने झन्झटिलो हुनुका साथै धेरै अवरोध सिर्जना हुने हुँदा समस्या हुने गरेको वडाध्यक्ष खत्रीले बताए । 
अब समस्याको समाधान भएकोमा उनले सबै नागरिकको तर्फबाट खुसी व्यक्त गरे । 

उद्घाटन कार्यक्रममा रेसुङ्गा नगरपालिका प्रमुख पन्थीले भाडागाउँ र बेहोरेबासीले महिनामा १५ दिन मात्रै राम्रोसँग सेवा पाउने बाँकी दिन समस्या खेप्नुपरेको समस्या बुझेको बताउँदै उक्त समस्याको समाधानका लागि राष्ट्रिय प्रसारण लाइनको विद्युतीय सेवासँग भाडागाउँलाई जोडिएको बताए । 

नगरपालिका प्रमुख पन्थीले विगतलाई सम्झँदै एउटा बिजुलीको बल्ब बल्दा पनि खुसीको सीमा नरहने दिन रहेको भन्दै अहिले विद्युत्को क्षेत्रमा गुल्मीले निकै फड्को मारेको बताए । गुल्मीको उनायचौरमा १३२ केभीको राष्ट्रिय प्रसारण लाइनको उनायचौर सब–स्टेसन बनेको छ । अब यसको सेवा गुल्मी, पाल्पा, अर्घाखाँची बाग्लुङसम्म पुग्नेछ । यसको समग्र उद्घाटन हुन भने बाँकी छ ।

सोही सब–स्टेसनबाट ११ केभी फिडरको उद्घाटनपछि रेसुङ्गा नगरपालिका प्रमुख पन्थीले भाडागाउँमै तीन युवा मिलेर खानेपानी उद्योग संचालन गरेकोमा अब विद्युतीय सेवाले थप सहजता हुने बताए । उनले गाउँघरमै उद्योग स्थापना गर्ने र व्यवसायिक खेती किसान गर्नेलाई स्थानीय सरकारकोतर्फबाट सधैं सहयोग हुने बताए । 

ADV

सम्बन्धित खबर

Advertise