२०८१ फागुन २२ गते बिहिवार / Mar 06 , 2025 , Thursday
२०८१ फागुन २२ गते बिहिवार
Ads

एचआइभी सङ्क्रमित : सङ्घर्षसँगै सफलता

hardik ivf
मध्यान्ह
२०८१ फागुन २२ गते १२:३७
एचआइभी सङ्क्रमित : सङ्घर्षसँगै सफलता

चितवनः जिल्लाको राप्ती नगरपालिका निवासी नम्रता गुरुङ (नाम परिवर्तित) अहिले प्राथमिक तहको शिक्षिकाका रूपमा कार्यरत छिन् । उनी एचआइभी (ह्युमन इम्युनोडेफिशियन्सी भाइरस) एड्स सङ्क्रमित हुन् ।

गुरुङलाई कक्षा १२ पढिसकेपछि एचआइभी सङ्क्रमण देखिएको थियो । आफू छ–सात वर्षको उमेर हुँदा आमाको मृत्यु भएको बताउँदै उनले कक्षा १० मा पढ्दापढ्दै बुबाको भारतमा मृत्यु भएपछि काकाकाकीसँगै बस्दै आएको उल्लेख गरिन् । आफूलाई एचआइभी सङ्क्रमण भएपछि जीवन सक्किएको महसुस गरे पनि निरन्तर मेहनत र सङ्घर्ष गरेपछि अहिले शिक्षा सेवामा स्थायी हुन सफल भएको उनले बताइन् ।

गुरुङले भनिन्, ‘सानै उमेरमा बुबाआमा गुमाउन पुगेपछि समाजलाई केही गरेर देखाउनु छ भन्ने उद्देश्यले मेहनत गर्दा दोस्रो पटकमा सफलता हात पारेकी हुँ ।’ यसले केही गर्न सक्दैन भन्ने समाजलाई केही गरेर देखाउँछु भन्ने अठोटका साथ लागे गर्न सकिने उनको भनाइ छ ।

आफ्नो जीवनमा पाएको दुःखकष्ट सम्झदै उनले भनिन्, ‘आमाको मृत्यु पछि कान्छी आमाले पढ्नलेख्न खर्च नदिँदा निकै दुःख लागेर आउथ्यो । अहिले आफ्नो खुट्टामा उभिएकी छु ।’ आमाबुबाको मृत्युपछि सामाजमा आउने र पढ्न चाहनेलाई प्रौढ कक्षा पढाउने, कतिपय अवस्थामा दैनिक ज्यालादारी गर्दै कक्षा १२ सम्मको अध्ययन सम्पन्न गरेको उनले स्मरण गर्नि । उनले सम्झिइन्, ‘पढ्ने रहर हुँदाहुँदै पढ्न सकिन अहिले बल्ल स्नातक तहमा भर्ना भएर दोस्रो वर्षमा अध्ययनरत छु ।’

परिवारको माया र सहयोग नपाउँदा नपाउँदै आफूलाई एचआइभी सङ्क्रमण पुष्टि भएपछि सुरुवाती समयमा समाजमा बस्न निकै कठिन भएको गुरुङले सुनाइन् । एचआइभी सङ्क्रमण देखिएपछि तीन महिना एएचएफ नेपालमा काम गरेकी उनले भारतमा रहेका एचआइभी एड्स सङ्क्रमितसँगै विवाह गरेर भारत गइन् । 

भारतमा गएर श्रीमान् श्रीमती दुवैले काम गर्न थालेको बताउँदै गुरुङले आफ्नो एउटा छोरो रहेको जानकारी दिइन् । ‘छोरो अहिले नौ वर्षको भएको छ । कामसँगै पढाइलाई निरन्तर लगिरहेकाले दुःखको फल अहिले पाएको छु’, उनले भनिन् । अहिले नियमित औषधि खाइरहेकाले स्वास्थ्यसँगै काममा कुनै समस्या नरहेको उनले बताइन् । 

अनेक दुःख र सङ्घर्षका बीचमा निरन्तर मेहनत गरेपछि अहिले प्राथामिक तहमा स्थायी शिक्षकमा नाम निकाल्न सफल भएको जनाउँदै उनले भेद्भाव नभए निजामती सेवाअन्तर्गत अधिकृत बनेर देश र जनताको सेवा गर्ने इच्छा रहेको गुरुङले बताइन् ।

विगत १८ वर्षदेखि एआरटी (एचआइभी सङ्क्रमितले सेवान गर्ने औषधि) औषधि सेवन गर्दै आएकी भरतपुर महानगरपालिका निवासी सविना पण्डित (नाम र थर परिवर्तित) अहिले एड्स सङ्क्रमितको संस्था राष्ट्रिय समन्वय संयन्त्रमा युवाबाट छनोट भएर काम गर्दै छिन् । 

उनले एड्स सङ्क्रमण भएको पुष्टि भएपछि औषधि सेवन गर्दा आफूलाई सुरुआती समयमा निकै कठिन भएको बताउँदै अहिले सहज हुँदै गएको जनाइन् । ‘पहिला मैले केही गर्न सक्दिन भन्ने मनमा भावना आएको थियो । अब भने यो रोग सामान्य हो, आफूले आत्मबल बलियो बनाउन सके जितिन्छ भन्ने अवस्थामा पुगेकी छु । नियमित औषधि सेवन र आत्मबल रोगसँग लड्ने प्रमुख तत्व हुन्’, उनले भनिन् । सङ्क्रमित युवाहरु खुलेर आउन सकेमा समाज परिवर्तन गर्न सकिने भन्दै उनले सङ्क्रमितका आवाजलाई सबैले सम्बोधन गर्न आग्रह गरिन् ।

भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेलले एचआइभी एड्स पछिल्लो समय सामान्य रोग जस्तै भएकाले आत्मबल बलियो बनाएर काम गर्न सके सफलता हात पार्न कठिन नहुने धारणा राखे । यो रोग सामान्य भए पनि आत्मविश्वास भएमा जीवन सफल बनाउन सकिने उनको भनाइ छ ।

एचआइभी एड्स मानव प्रतिरक्षा प्रणालीलाई नष्ट पार्ने भाइरसको सङ्क्रमणका कारण हुने भएकाले नियमित औषधि सेवन र आत्मविश्वासले यो रोगसँग सहजै लड्न सकिने भरतपुर अस्पतालको एएचएफका कार्यक्रम संयोजक कृष्णहरी सापकोटाले जानकारी दिए । उनका अनुसार अस्पतालको एएचएफ कार्यक्रमबाट एक हजार एक सय ९७ जनाले नियमित औषधि सेवन गरिरहेका छन् । यस संस्थाले महिलालाई औषधिसँगै प्रोत्साहनसमेत प्रहान गर्दै आएको उनको भनाइ छ । रासस

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise