बाँकेः जिल्लाका सामुदायिक तथा राष्ट्रिय वनमा डढेलो लाग्न नदिन र लागेमा नियन्त्रणका लागि पूर्वतयारी सुरु भएको छ ।
जिल्ला वन कार्यालयले डढेलो लाग्ने सम्भावित वन क्षेत्रमा नियमित रूपमा अनुगमन गर्ने, ‘फायरलाइन’ बनाउने, पातपतिङ्गर सङ्कलन गरेर जलाउनेलगायत काम भइरहेका जिल्ला वन कार्यालयका प्रमुख शङ्करप्रसाद गुप्ताले जानकारी दिए । ‘फायर एम्बुलेन्स तयारी अवस्थामा राख्न निर्माण गरिरहेका छौँ, केही दिनमा यो तयार हुन्छ’, उनले भने ।
उनका अनुसार रु ३० लाखमा निर्माण भएको सो एम्बुलेन्समा एक पटकमा छ हजार लिटर पानी राख्ने क्षमता हुन्छ । एम्बुलेन्समार्फत डढेलो लागेका क्षेत्रमा एक सय फिटसम्म पानी पुर्याएर आगो नियन्त्रणमा लिन सकिने जानकारी उनले दिए ।
जिल्ला वन प्रमुख गुप्ताले डढेलो नियन्त्रणका लागि करारमा १५ अग्नि हेरालुलाई नियुक्त गरिएको जानकारी दिँदै १८ वटा सामुदायकि वनका समूहलाई परिचालन गरिएको बताए । उनले वनमा डढेलो लाग्न नदिन प्रचारप्रसारको काम भइरहेको उल्लेख गर्दै सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन भइरहेको बताए ।
‘समुदायस्तरमा डढेलो लाग्न नदिने उपाय, लागेमा अपनाउनुपर्ने विधिलगायत विषयमा सचेतनामूलक जानकारी दिइएको छ । डढेलोका विषयमा सामुदायिक वनका समूहसँग आवश्यक छलफल र सहकार्य भइरहेको छ’, उनले भने ।
वनमा डढेलो नियन्त्रणका लागि चक्ला वन क्षेत्रमा सात जना अग्नि नियन्त्रक नियुक्त भएको जनाउँदै गुप्ताले वरुण यन्त्र खरिद गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको बताए । गत वर्ष बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनका करिब पाँच हजार एक सय ३३ हेक्टर क्षेत्रफलमा डढेलो लागेको थियो । रासस