२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

सेवा प्रवाहमा पक्षधरता भन्दा कार्यसम्पादनमा अब्बल हुनुहोला : मुख्यमन्त्री कँडेल

Nada
२०८१ फागुन २२ गते १८:०९
Shares
सेवा प्रवाहमा पक्षधरता भन्दा कार्यसम्पादनमा अब्बल हुनुहोला : मुख्यमन्त्री कँडेल

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पक्षधरता भन्दा कार्य सम्पादनमा अब्बल भएर सेवा प्रवाह गर्न निर्देशन दिएका छन् । प्रदेश सरकार अन्तर्गत खुला प्रतिस्पर्धाबाट अधिकृत सातौंमा नियुक्त भएका अधिकृतहरुलाई बिहीवार आयोजित एक कार्यक्रममा मुख्यमन्त्री कँडेलले सेवा प्रवाहमा पक्षधरता भन्दा कार्यसम्पादनलाई प्रमुख ठानेर काम गर्न निर्देशन दिएका हुन् । 

ncell

समाजमा कर्मचारी र राजनीतिक नेतृत्वप्रति हेर्ने दृष्टिकोण सकारात्मक नभएको चर्चा गर्दै मुख्यमन्त्री कँडेलले अब सबै तहका कर्मचारीहरुले समाजलाई सकारात्मक दृष्टिकोण बनाउने गरि काम थाल्नुपर्नेमा जोड दिए । उनले भने, 'हिजोको जस्तो छैन, नागरिक सचेत भइसकेका छन्, तपाईंहरुको कामको मूल्यांकन नागरिकस्तरबाटै भइरहेको छ ।’ 

आफ्नो जिम्मेवारी बढेसँगै आडम्बर समाजलाई देखाउने नाममा गलत काम गरेर आर्थिक हैसियत बढाउने काममा नलाग्न उनको निर्देशन छ । उनले भने, 'तपाईंहरु नै भोलिको प्रदेश सचिव, प्रमुख सचिवको हकदार हो, इमान्दारिताले त्यो स्थानमा पुग्न सकिन्छ तर म अधिकृत भए भन्दै प्रचलित कानुन विपरीत गएर काम गर्नुभयो भने, तपाईंहरुकै करियर समाप्त हुन्छ ।’ 

निजामती कर्मचारी समाजको पथपदर्शक पनि भएकाले सामाजिक रुपान्तरणमा कर्मचारीहरु महत्वपूर्ण योगदान दिन सक्ने मुख्यमन्त्री कँडेलले धारणा राखे । कर्मचारीले राम्रो काम गरेर देखाए त्यसले समाजमा सकारात्मक प्रभाव पार्ने र नागरिकलाई थितिमा हिँड्न बाध्यपार्ने पनि मुख्यमन्त्री कँडेलको भनाइ थियो ।

सरकारका नीतिगत निर्णयमा राजनीतिक नेतृत्व जिम्मेवार भएपनि निर्णय कार्यान्वयन गर्ने प्रमुख दायित्व कर्मचारी संयन्त्रको भएकोले कर्मचारीको कार्यसम्पादनबाटै सरकारको उपलब्धि देखिने पनि मुख्यमन्त्री कँडेलको धारणा थियो ।

विकास र समृद्धि भनेको एकल यात्रा नभएर सामूहिक यात्रा भएकोले आ-आफ्नो ठाँउबाट सबैले योगदान दिनसके समृद्धि टाढा नरहेको उनको भनाइ छ ।

ताजा खबर

सम्बन्धित खबर