२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

गरुडा र शिवनगरका १० अवैध अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन

Nada
कृष्ण तिवारी
२०८१ फागुन २२ गते २२:३३
Shares
गरुडा र शिवनगरका १० अवैध अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन

रौतहट : मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मापदण्ड विपरित संचालनमा रहेका गरुडा र शिवनगरका १० वटा निजी अस्पताल बन्द गर्न निर्देशन दिएका छन् । मुख्यमन्त्री सिंहले बिहीबार साँझ गरुडा र शिवनगरमा संचालित निजी अस्पतालहरुको छड्के अनुगमन, निरीक्षण गर्दै मापदण्ड पुरा नगरी सञ्चालनमा रहेको १० निजी अस्पताल बन्द गर्न निर्देशन दिएका हुन् ।

ncell

गरुडा नगरपालिका–५ शिवनगरमा रहेको आनन्द अस्पताल एक्यूपन्चर सेन्टर प्रा.लि, गरुडा नगरपालिका–४ गरुडामा रहेको अनामिका हस्पिटल, रोमा हस्पिटल, सरस्वती हस्पिटल, सन सिटी हस्पिटल, गरुडा अस्पताल प्रा.लि, नेत्र ज्योति, होप हस्पिटल लगायतका अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिएका छन् । अनुगमनको क्रममा नियम र कानुन विपरित सञ्चालन गरिएको पाइएकोले उक्त हस्पिटलहरु बन्द गर्न निर्देशन दिएको मुख्यमन्त्री सिंहले बताए ।

मुख्यमन्त्री सिंह गरुडामा छड्के अनुगमन गर्न आएको थाहा पाउने बित्तिकै मापदण्ड र कानुन विपरित सञ्चालित हस्पिटलका सञ्चालकहरुको भागाभाग भएको थियो । गरुडाका सरस्वती हस्पिटल, सन सिटी हस्पिटल, गरुडा अस्पताल प्रालि, नेत्र ज्योतिका सञ्चालक हस्पिटल नै बन्द गरी फरार भएका थिए ।

तर पनि मुख्यमन्त्री सिंहले ती हस्पिटलहरुलाई समेत कारबाही स्वरुप बन्द गर्न निर्देशन दिएका थिए ।  सम्बन्धित निकायबाट अनुमति नै नलिइ खुलेका अस्पतालले उपचारको नाममा चर्को शुल्क लिने गरेको गुनासो आएपछि मुख्यमन्त्रीले अनुगमन तथा निरीक्षण गरेपछि त्यस्ता अस्पताल बन्द भएका हुन् ।

गरुडा नगरपालिकामा सामान्य प्रक्रियासमेत पुरा नगरी अस्पताल संचालन गरेपछि स्थानीय स्तरमा त्यसको चर्को आलोचना भएपछि अनुगमनका लागि मुख्यमन्त्री सिंह रौतहट आएका थिए । जिल्लामा पछिल्लो समय मापदण्ड विपरित अस्पताल सञ्चालन गर्ने क्रम बढेको छ । 

अधिकांश अस्पतालमा एम्बुलेन्स रोक्ने पार्किङस्थल समेत छैन । यस्ता अस्पतालको निगरानी र अनुगमन हुन नसक्दा बेथिति र सर्वसाधारणले सास्ती खेप्नु परेको छ ।
 

ताजा खबर

सम्बन्धित खबर