२०८१ चैत १९ गते मङ्गलवार / Apr 01 , 2025 , Tuesday
२०८१ चैत १९ गते मङ्गलवार
Ads

भूकम्प गएको डेढ वर्षपछि बझाङमा समन्वय कार्यालय

draupadi film
सत्यराज सिंह
२०८१ फागुन २३ गते २०:५०
भूकम्प गएको डेढ वर्षपछि बझाङमा समन्वय कार्यालय

बझाङ : गृहमन्त्री रमेश लेखकले बझाङमा भूकम्पीय पुनर्निर्माण तथा पुनर्स्थापना आयोजना कार्यान्वयन इकाईको कार्यालय उद्घाटन गरेका छन् ।

शुक्रबार बझाङ आइपुगेका गृहमन्त्री लेखकले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गत भूकम्पीय पुनर्निर्माण तथा पुनर्स्थापना आयोजना कार्यान्वयन इकाईको कार्यालय जयपृथ्वी नगरपालिका–९ देवलमा उद्घाटन गरेका हुन् । बझाङमा भूकम्प गएको डेढ वर्षपछि भूकम्पीय पुनर्निर्माणको लागि समन्वय कार्यालय खोलिएको छ । कार्यालय उद्घाटनका क्रममा बोल्दै गृहमन्त्री लेखकले तत्काल राहत, उद्धार र अस्थायी आवास निर्माणको काम भएपनि सरकारले निजी स्थायी आवास पुनर्निर्माण र पुनर्स्थापना गर्ने काम गर्न नसकेको बताए ।

पछिल्लो केही महिनायता निजी आवासको पुनर्निर्माण र पुनर्स्थापनाका लागि आवश्यक मापदण्ड र नियमावली बनाएर पटक–पटक विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यसमिति र राष्ट्रिय परिषद्को बैठक गरेर निर्णयहरु मन्त्रिपरिषद्बाट स्वीकृत गरेर कार्यान्वयनमा ल्याइएको बताए । 
उनले भने, ‘पूर्ण क्षति भएका निजी भवनहरु पुनर्निर्माण गर्ने अवस्थामा पुगेका छौं । त्यसको आवश्यक बजेट पनि व्यवस्था भइसकेको छ । निजी आवासको पुनर्निर्माणलाई अगाडि बढाउन जिल्लामै इकाई कार्यालय खोल्ने काम प्रारम्भ गरेका छौं ।’ 

भूकम्पले क्षति गरेका सरकारी कार्यालयहरु पनि यसै कार्यालयले हेर्ने र क्षति पुगेका निजी स्थायी घरहरु निर्माणमा जुट्न कार्यालयका कर्मचारीहरुलाई निर्देशन दिँदै बजेटको कमी हुन नदिने बताए । 

पुनर्निर्माणको काममा बजेटको कमी हुन नदिने र कार्यालयले छिटोछरितो काम गर्ने समेत उनले प्रतिबद्धता जनाए । तीन महिनाभित्र परिणाम देखिने गरी काम गर्न कार्यालयलाई गृहमन्त्री लेखकले निर्देशन दिए । 

प्राधिकरणको निजी निवासको पुनर्निर्माणको कार्यालय नेपालभर कुनै पनि जिल्लामा नरहेको र अस्थायी कार्यालय भएपनि बझाङमा खुलेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा.भीष्मकुमार भुसालले बताए । संघीय सांसद तथा पूर्वमन्त्री भानुभक्त जोशीले निजी निवास मात्र नभएर सरकारी कार्यालय, विद्यालय भवन र धार्मीक स्थलहरुको पुनर्निर्माणका लागि आग्रह गरे । 

यस्तै भूकम्प, बाढी पहिरोले जिल्लाका विभिन्न ठाउँमा धेरै क्षति गरेकाले यस कार्यालयले छिटोछरितो पुनर्निर्माणको कामलाई तीव्रता दिन पूर्वमन्त्री अर्जुनजंग सिंहले अनुरोध गरे ।

जयपृथ्वी नगरपालिका नगर प्रमुख चेतराज बजालले गृहमन्त्रालयमा फोन गरेर विपद प¥यो, राहत दिनुप¥यो, पुनर्स्थापना गरिदिनुपर्‍यो भनेर बारम्बार फोन गनुपर्ने अवस्थाको अन्त्य भएको बताए । 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ओमप्रसाद भट्टराईले जिल्लाको संक्षिप्त अवस्थाका बारेमा जानकारी गराउँदै जिल्लामा कर्मचारीको दरबन्दी कम रहेको र कर्मचारी न्यून भएपनि टनओभर भइ सेवा प्रवाहमा समस्या हुने गरेको बताए । स्थापना भएको कार्यालयमा चार जना कर्मचारी खटाइएको प्राधिकरणले जनाएको छ ।

ADV

सम्बन्धित खबर

Advertise