काठमाडौं : भास्कर–तेजश्री स्मृति प्रतिष्ठानले दुई दर्जन बढी शिक्षकहरूलाई नसर्ने रोग र लैंगिक असमानता तथा यौन दुव्र्यवहार रोकथाम सम्बन्धी पाँच दिने प्रशिक्षक प्रशिक्षण गराएको छ । नसर्ने रोग र लैंगिक असमानता तथा यौन दुव्र्यवहार रोकथामका लागि नवयुवालाई सशक्त एवं जागरूक बनाउने उद्देश्यका साथ तालिम दिइएको हो ।
तालिममा सहभागी प्रशिक्षक तथा रोष्टर प्रशिक्षकहरूले सैद्धान्तिकभन्दा व्यवहारिक ज्ञान दैनिक जीवनमा काम लाग्ने बताए । प्रशिक्षक दुर्गा खनालले अन्य तालिमहरुमा बढी सैद्धान्तिक कुरा हुने गरेको तर यसमा व्यवहारिक ज्ञान बाँडेको बताइन् । त्यस्तै प्रशिक्षक विनोद अधिकारीले प्रतिष्ठानको प्रशिक्षण अरुभन्दा फरक र उपयोगी रहेको बताए ।
समापन समारोहमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सिक्ने र सिकाउने क्रम सधैं चलिरहने बताए । नसर्ने रोगबाट बच्न, लैंगिक समानता कायम गर्न र यौन दुव्र्यवहारबाट समुदायलाई बचाउन व्यावहारिक मोड्युल उपयोगी हुने बताए ।
भास्कर–तेजश्री स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष प्रा.डा.रिता थापाले यो तालिम लिएका शिक्षकहरूले विद्यार्थीहरूलाई सशक्त र जागरूक बनाउन आ–आफ्नो क्षेत्रमा लाग्नेमा विश्वास व्यक्त गरिन् । तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई प्रशिक्षकको प्रमाण पत्रसहित प्रशिक्षणका लागि चाहिने झोलालगायतका सामग्रीहरु समेत प्रदान गरेको थियो ।