२०८१ फागुन २८ गते बुधवार / Mar 12 , 2025 , Wednesday
२०८१ फागुन २८ गते बुधवार
Ads

अब त गाउँ जानुपर्छ सानेका बा !

hardik ivf
मध्यान्ह
२०८१ फागुन २४ गते ०६:०५
अब त गाउँ जानुपर्छ सानेका बा !

-लक्ष्मी ढकाल

अब त गाउँ जानुपर्छ
धान फल्ने खेतमा रूख फलेका छन्
कोही ढालेर दाउरा बनाई
कोही ताछेर बलो बनाई
बास बस्न एउटा छाप्रो बनाएर
अर्काे सालका लागि मकैको बिउ पोखेर
यो साल वनका गिठ्ठा, भ्याकुर खानुपर्छ
सानेका बा !
 
महँगी बढ्यो भनेर मन
कदापि नदुखाउनू
यहाँ अरूको भर पर्नुहुन्न
आलोचना मात्र गर्नुहुन्न
हामी किसान बन्नुपर्छ
खेतबारी खन्नुपर्छ 
खोले–सिस्नु पकाएर 
बालबच्चा फकाएर
शहरमा जन्मिएका 
यी सन्तानहरूलाई
गोठाला–खेताला बनाउन लानुपर्छ
लैनो भैंसी 
एक हल गोरु
दर्जनौं गाई, बाख्रा पाल्नुपर्छ
मिलेर गोबर फाल्नुपर्छ
आनन्दको चुह्लो बाल्नुपर्छ
सानेका बा !
अब त गाउँ जानुपर्छ ।

कुखुरा उडेको देख्दा डरले कुद्ने 
यी छोरीहरूलाई
आत्मरक्षाको पाठ घोकाउन थाल्नुपर्छ
गाउँकै स्कुलमा राख्नुपर्छ
जीवन संघर्ष हो भन्ने नबुझेका
यिनीहरूले पनि
दुःख के हो चाख्नुपर्छ
(सुख–दुःख त यस्तै हो जीवनमा)
सम्झना बनेर आएछन् 
यदि अतीत भने
वर्तमानमा नयनका डिलबाट 
जल पोखेर पखाल्नुपर्छ
सानेका बा !
अब त गाउँ जानुपर्छ ।

मिहिनेत गरे कसो नहोला र ?
अब श्रम पोख्दा
सुन फल्छ भन्ने कुरा
देखाउनुपर्छ 
आनन्द भन्ने शब्द
मनको पानामा लेखाउनुपर्छ 
रुद्राक्ष बेचेर रुवाको जोहो गरौंला
धान बेचेर धनी बनौंला
कोदो बेचेर कोट किनौंला
मकै बेचेर मतान बनाऔंला
गहुँ बेचेर गहना जोडौंला
अलैंची बेचेर सन्तानलाई
पाठशाला पठाऔंला
खसी बेचेर दसैं मानौंला
दूध बेचेर
भैपरी आउने खर्च धानौंला
सानेका बा ! 
अब त गाउँ जानुपर्छ ।

उता,
चम्पा र चाँप फुल्दै होलान् 
आरु र आँप झुल्दै होलान्
कोइलीले
विरहको गीत गाउन छाडेर
वसन्तको स्वागतमा डुल्दै होलिन्
अरुण नदीले आँचल फिँजाएर 
तिनकै दायाँ–बायाँको भूमि भिजाएर
हाम्रो प्रतीक्षामा यतै नजर डुलाएर
निरन्तर सुसेली हाल्दै होलिन्
पोहोरको बाढीले बढारेर लगेको
त्यो सिमखेतको आली बाँध्नलाई
यसपालि त 
वर्षा लाग्नु अगावै जानुपर्छ 
साथमा जोस, जाँगर लैजानुपर्छ
जे मिल्छ, त्यही हाँसेर खानुपर्छ
साँच्चै !
अब त सानेका बा !
त्यही गाउँ जानुपर्छ ।

ADV

सम्बन्धित खबर

Advertise