काठमाडौं : देशभरका शिक्षकहरु फेरि सडक आन्दोलनमा उत्रिएका छन् । आज शनिबार शिक्षकहरुले काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म बृहत् प्रदर्शन गरेका हुन् ।
नेपाल शिक्षक महासंघको नेतृत्वमा देशैभरका शिक्षकहरु काठमाडौंमा केन्द्रित भई शिक्षा ऐन जारी गर्न दबाब दिन बृहत् आन्दोलन गरिएको हो । उनीहरु माइतीघर मण्डलाबाट नारा जुलुस गर्दै नयाँ बानेश्वरसम्म पुगेका छन् ।
विगतका सबै सहमति सम्बोधन हुने विद्यालय शिक्षा ऐन जारी गर्न राज्यलाई बाध्य पार्न उनीहरुले आन्दोलन गरेका हुन् ।
महासंघले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । यसअघि २०८० मा सरकारसँग भएको सहमति अनुसार शिक्षा ऐन जारी हुनुपर्ने उनीहरुको माग छ ।
आन्दोलनमा सहभागी नेपाल ट्रेड युनियन कांग्रेससका महासचिव अजय कुमार राई आफू भौतिक रुपमै आन्दोलनमा ऐक्यबद्धता जनाउन आएको बताउँदै पटक-पटक सम्झौता भएका मुद्दाहरुलाई कार्यान्वयन नगर्नु भनेको राज्यको दृष्टिकोण श्रमजीबी वर्गप्रति सकारात्मक नहुनु रहेको बताए ।
‘राजनीतिक दलहरु पनि श्रमजीवी वर्गप्रति अनुदार हुनुको कारण आज फेरी शिक्षक साथीहरु आन्दोलनको मैदानमा उत्रनु परेको हो । त्यसर्थ विद्यालय शिक्षा ऐन सरकारले यथाशिघ्र जारी गर्नु पर्दछ । ट्रेड युनियन कांग्रेसको यही धारणा छ,’ उनले भने ।