सुर्खेत : सञ्चारिका समूह कर्णाली प्रदेशको तेस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार वीरेन्द्रनगरमा आयोजना गरिएको अधिवेशनबाट १३ सदस्यीय नयाँ नेतृत्व समेत चयन गरिएको छ ।
नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माको प्रमुख आथित्यतामा आयोजित अधिवेशनबाट सीता वलीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । यस्तै उपाध्यक्षमा कृष्णमाया उपाध्याय (जुम्ला), महासचिवमा सिर्जना बुढाथोकी (सुर्खेत), सचिवमा रजनी योगी (दैलेख) र कोषाध्यक्षमा कोमल शाही (सुर्खेत) चयन भएका हुन् ।
यस्तै सदस्यहरुमा अनिता बि.क (सुर्खेत), सरस्वती गिरी (जाजरकोट), सरीता चलाउने (सल्यान), सोनिया मल्ल (रुकुमपश्चिम) लगायत चयन भएका छन् । अन्य जिल्लाहरुमा भने समितिले नै सदस्यहरु मनोनित गर्ने निर्णय भएको महासचिव सिर्जना बुढाथोकीले जानकारी दिइन् ।
अधिवेशनको उद्घाटन सत्रमा बोल्दै नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष विष्णुप्रसाद शर्माले सञ्चारिका समुहले कर्णाली प्रदेशमा महिलाहरुको हित र संरक्षणमा काम गर्नुपर्ने बताए । उनले सञ्चारिका समूहलाई पत्रकार महासंघ कर्णाली प्रदेशले सँगसँगै लिएर जाने प्रतिवद्धता जनाए । पत्रकार महिलाहरुको राम्रो नेतृत्व विकासका लागि सञ्चारिका समूहको भूमिका अतुलनीय रहेको अध्यक्ष शर्माको भनाइ थियो ।
यस्तै नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष शुसिलराज शर्माले पत्रकार महिलाहरु पेशामा टिकिराख्नका लागि सञ्चारिकाले समेत काम गर्नुपर्ने बताए । सञ्चारिका समुहका सल्लाहाकार टिका विष्टले महिला आन्दोलन विशेषगरी पत्रकार महिलाहरुको पेशागत संरक्षणका लागि सञ्चारिकाका महत्वपुर्ण भुमीका भएको भन्दै नयाँ नेतृत्वले सक्रियताका साथ काम गर्नुपर्ने धारणा राखिन् । उनले सबैलाई समेटेर र सबैसँग सहकार्य गरेर मात्रै सञ्चारिका समूह सफल हुने धारणा विष्टले राखेकी थिइन् ।