२०८२ चैत १२ गते बिहिवार / Mar 26 , 2026 , Thursday
२०८२ चैत १२ गते बिहिवार
Ads

जुम्लामा ‘दिमा आमा घर’ सञ्चालन

himalayanlife
२०८१ फागुन २४ गते २०:५७
Shares
जुम्लामा ‘दिमा आमा घर’ सञ्चालन

जुम्ला : घरेलु तथा लैंगिक हिंसा एवं अन्य प्रकारका हिंसाबाट पीडित महिलाहरूको संरक्षण तथा पुनस्र्थापनाका लागि जुम्लामा ‘दिमा आमा घर’सञ्चालनमा आएको छ । 

हिंसाका घटनाबाट प्रभावित महिलाहरूलाई आश्रय, मनोवैज्ञानिक परामर्श, कानुनी सहायता तथा आत्मनिर्भर बनाउन विभिन्न सीपमूलक तालिम दिने उद्देश्यले जुम्ला चन्दननाथ नगरपालिका ६ मा दिमा आमा घर सञ्चालन गरिएको हो । सात जना घरेलु हिंसापीडित महिलाहरुले स्थापना गरेको उक्त आमा घरको ११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शनिबार उद्घाटन गरिएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य, गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रीय सदस्य तथा सिँजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धिताल, प्रमुख जिल्ला अधिकारी रामबहादुर शाही, तातोपानी गाउँपालिका उपाध्यक्ष रेवती रावल, संस्थाका अध्यक्ष दिलमाया शाहीसहितले उक्त आमा घरको उद्घाटन गरेका छन् । 

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख आचार्यले यो आमा घर कर्णाली प्रदेशकै नमूना घरको रुपमा  रहने बताए । उनले यस कार्यमा एक्लै नभइ सबैको सहकार्य आवश्यक रहेको बताए ।  

त्यस्तै  सिँजा गाउँपालिका जुम्लाका अध्यक्ष पूर्णप्रसाद धितालले यो आमा घरको लागि गाउँपालिकाले सहयोग गर्ने बताए । त्यस्तै प्रमुख जिल्ला अधिकारी शाहीले हिंसाबाट महिला र बालबालिका आउने महिला तथा बालबालिकाहरुको  लागि आमा घरको भूमिका महत्वपूर्ण रहने बताए । सुरक्षित घरबाट अल्पकालिन आश्रयबाट पहिला आश्रय दिने, कानूनी उपचार गर्ने, स्वास्थ्य उपचारपछि पुनस्र्थापना गर्ने आशा पलाएको उनको भनाइ छ । 

प्रजिअ शाहीले हिंसापीडितहरूको पुनस्र्थापनाका लागि स्थानीय सरकार, सुरक्षा निकाय, गैरसरकारी संस्था तथा सरोकारवालाहरूको सहकार्य आवश्यक रहेको बताए । त्यस्तै तातोपानी गाउँपालिका जुम्लाका उपाध्यक्ष रेवती रावलले समाजमा शोषित पीडितका र हिंसा पीडित महिलाका लागि गरिएको यो काम निकै राम्रो भएको बताइन् । 

वरिष्ठ अधिवक्ता देवेन्द्रप्रसाद शर्माले हिंसा पीडित महिलालाई कानूनी निकायमा लिन यो संस्थाले थप काम गर्नेमा जोड दिए । 

त्यस्तै एकीकृत अखिल नेपाल शिक्षक संगठन जुम्लाका अध्यक्ष जय शंकर धितालले हिंसा, अन्याय र विभेदविरुद्ध उठ्ने प्रत्येक आवाजलाई साथ दिन आवश्यक रहेको बताए । 

संस्थाकी अध्यक्ष शाहीले जुम्लामा हिंसा पीडित महिलाहरुको सशक्तिकरण, आपतकालिन आश्रय, न्याय पैरवीका लागि दिमा आमा घर स्थापना गरिएको बताइन् । 

सम्बन्धित खबर