खोटाङ : जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्लेस्थित आहालेबाट हलेसी तुवाचुङ नगरपालिका-११ राजापानीस्थित रेग्मी टारसम्मको १४ दशमलव पाँच किलोमिटर सडक निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।
सडक निर्माण सम्पन्न भएपछि दिक्तेलबाट महुरे-बुइपा-विजयखर्क-राजापानी घुम्दै रेग्मी टार पुग्नुपर्ने बाध्यताको अन्त्य हुने नगरप्रमुख तीर्थराज भट्टराईले जनाए । “दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले गौरवको आयोजनामा राखेर आर्थिक वर्ष २०७९/८० बाट उक्त सडक निर्माण सुरु गरेको हो । निर्माण हुन पाँच सय मिटर मात्र बाँकी छ । पूर्वी तराई जोड्ने यो सडक एक महिनाभित्र सम्पन्न गर्ने योजनामा छौँ”, उनले भने, “दिक्तेल–रेग्मी टार सडक निर्माणमा नगरपालिकाको रु. ८५ लाख खर्च भइसकेको छ । यो सडकका लागि कोशी प्रदेश सरकारले यो आवका लागि रु. ४० लाख बजेट उपलब्ध गराएको छ ।”
यो सडक निर्माणका लागि नगरपालिकाबाट आव २०७९/८० मा विनियोजित रु. ४० लाख र २०८०/८१ मा विनियोजित रु. २० लाख खर्च भएको जनाइएको छ । नगरपालिका तथा प्रदेश सरकारको साझेदारीमा विनियोजित बजेटमार्फत दिक्तेल-खानी डाँडा–रेग्मी टार सडक निर्माणको कामलाई तीव्र गतिमा अगाडि बढाइएको खाल्लेका वडाध्यक्ष खगेन्द्र राईले जानकारी दिए ।
नगरपालिकाले गौरवको आयोजनामा राखेर दिक्तेल-खानी डाँडा-रेग्मी टार सडक निर्माणको कामलाई तीव्रता दिएपछि स्थानीयवासी हर्षित भएका छन् । निर्माणाधीन सडकलाई विकल्पका रूपमा गत वर्ष हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित पुरानो गाउँ हुँदै रेग्मी टारसम्म यातायात सञ्चालन गरिएको थियो ।
दिक्तेल–रेग्मी टार सडकको मार्ग खोलिसकेपछि अर्को वर्षबाट सडक स्तरोन्नतिको कामलाई निरन्तरता दिइने नगर उपप्रमुख विशन राईले बताए । “दिक्तेल-खानी डाँडा-रेग्मी टार सडक सञ्चालन हुँदा करिब एक घण्टा छोटो हुन्छ । यो सडक सञ्चालन गर्ने तयारीमा छौँ”, उनले भने, “दिक्तेल-महुरे-रेग्मी टार सडक घुमाउँरो छ । दिक्तेल-खानी डाँडा-रेग्मी टार सडक निर्माण सम्पन्न भएपछि पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने सबैभन्दा उपयुक्त सडक बन्नेछ ।”
तत्कालीन जिल्ला विकास समिति खोटाङले आहालेबाट राजा पानीको घर्ती भिरसम्म र सगरथामा राष्ट्रिय राजमार्गको दिक्तेल-गाईघाट सडकखण्डको रेग्मी टारबाट घर्ती भिरसम्म सिधा मार्ग (ट्रयाक) खोल्ने प्रयास गरिएको थियो । घर्तीभिरमा ठूलो चट्टान भएकाले अहिलेसम्म दुवैतर्फको ट्रयाकलाई जोड्न नसकिएको हो ।
कालोपत्रको काम भइसकेको दिक्तेल-महुरे २० किलोमिटर र कालोपत्रको काम भइरहेको महुरे-राजापानी-रेग्मी टार सडक २९ किलोमिटर गरी दिक्तेल-रेग्मी टार सडक ५९ किलोमिटर लामो छ । निर्माणाधीन दिक्तेल-खानी डाँडा-आहाले-रेग्मी टार सडक दिक्तेल-महुरे-राजापानी-रेग्मी टार सडकभन्दा साढे १७ किलोमिटर छोटो छ ।
दिखुवाखोला पारिबाट थ्रीस्टार हाइड्रोपावर कम्पनीले राजा पानीको पुरानो गाउँसम्म सडक निर्माण गरिदिएको छ । उक्त निर्माणाधीन दिक्तेल-खानी डाँडा-रेग्मी टार सडकमा नियमित यातायात सञ्चालन भएमा जिल्लामा खाद्यान्न, हार्डवेयर, इन्धनलगायत दैनिक उपभोग्य वस्तु ढुवानी मूल्यमा प्रतिकेजी रु. दुईदेखि पाँचसम्म घट्ने अनुमान गरिएको स्थानीय व्यवसायीले बताएका छन् ।
यता, दिक्तेल-खानी डाँडा-आहाले सडक भर्खरै कालोपत्र सम्पन्न गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको रु. २१ करोड एक लाख ८८ हजार लगानीमा १०.९७४ किलोमिटर लामो सो सडक कालोपत्र गरिएको हो ।