२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

राष्ट्रियसभा : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

Nada
२०८१ फागुन २५ गते १४:३३
Shares
राष्ट्रियसभा : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं : सांसदहरुले राजतन्त्र पक्षधरको नाराजुलुसदेखि दलितमाथिको विभेद, शिक्षक आन्दोलन, हवाई सुरक्षालगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

ncell

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद उदयबहादुर बोहोराले केही समययता काठमाडौंलगायत मुलुकका केही शहरमा नाराजुलुस भइरहेको उल्लेख गर्दै लोकतन्त्रमाथि प्रहार भएकामा चिन्ता व्यक्त गरे । उनले सरकार र राजनीतिक दलले कार्यशैली सच्याउन आवश्यक रहेको बताए । मुलुकबाट बेतिथिको अन्त्य, महङ्गी नियन्त्रण र सुशासन प्रवद्र्धनमा सरकार दृढतापूर्वक लाग्नुपर्नेमा उनको जोड थियो । 

सोही पार्टीकी सांसद गोमादेवी तिमल्सिनाले लामो समयदेखि उदयपुर सिमेन्ट उद्योग नेतृत्वबिहीन भएको र कर्मचारीहरुले महिनौदेखि तलव नपाएको उल्लेख गरिन् । उनले तत्काल  उद्योग  सञ्चालन गर्न समेत सरकारको ध्यानाकर्षण गराइन् ।

राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले दलितमाथिको विभेदका घटना बढिरहेको उल्लेख गर्दै ती घटनामा संलग्नहरु कानुनी दायरामा आउन माग गरे । उनले पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकार समक्ष माग गरे ।

सांसद मदनकुमारी शाहले महिलालाई आत्मनिर्भर बनाउन र समृद्ध नेपाल निर्माणको अभियानमा लाग्न आग्रह गरिन् । सांसद राजेन्द्रलक्ष्मी गैरेले सामुदायिक विद्यालयमा पठाउने शिक्षक आन्दोलनमा रहेको उल्लेख गर्दै विगतमा भएका सम्झौता कार्यान्वयन हुन नसकेको बताइन् । उनले शिक्षकको माग सम्बोधन गर्न समेत माग गरिन् ।

नेपाली कांग्रेसकी सांसद दुर्गाकुमारी गुरुङले बर्दिया राष्ट्रिय निकुञ्ज आसपासका बासिन्दा जंगली जनावरको आक्रमणको त्रासले सास्ती बेहोरिरहेको उल्लेख गर्दै निकुञ्ज क्षेत्रका बस्तीमा तारजालीको व्यवस्था गर्न माग नरिन् । कांग्रेसकै सांसद नारायणदत्त मिश्रले देशभरका शिक्षकहरु आन्दोलनमा रहेको भन्दै उनीहरुको मागलाई वार्ताको माध्यमबाट समाधान खोज्न सरकार समक्ष माग गरे । उनले महिलाको हक अधिकार संरक्षण र यसको क्षेत्रको दायरा फराकिलो बनाउन सरोकारवाला गम्भीर हुनुपर्नेमा जोड दिए ।

सांसद युवराज शर्माले संविधानको संरक्षण र कार्यान्वयनका लागि यसका पक्षधर राजनीतिक दलहरुबीच अधिकतम सहमति गरी मुलुकमा सुशासन प्रवर्द्धन र जनआकांक्षा पूरा गर्न प्रतिबद्धताका साथ लाग्नुपर्नेमा जोड दिए ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद भुवनबहादुर सुनारले मुलुकका केही स्थानमा भएका घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराए । सोही पार्टीका सांसद सुरेश आले मगरले महिला मुक्ति आन्दोेलनका लागि अझै संघर्ष जरुरी रहेको बताए । उनले बागबजारदेखि मैतिदेवीसम्मको सडक दुईतर्फी बनाउन सरकारसमक्ष माग गरे ।

जनता समाजवादी पार्टीका सांसद मोहम्मद खालिदले केही दिनअघि बुद्ध एयरको एउटा जहाज जनकपुरबाट पाङ्ग्रा बिना काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विषयले हवाई सेवा र सुरक्षित यात्राबारे प्रश्न उठेको भन्दै सरोकारवालाको ध्यानाकर्षण गराए ।

ताजा खबर

सम्बन्धित खबर