नवलपरासी : पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले स्थानीय तहको पारदर्शिता, सेवा प्रवाह सुधार, तथा नागरिकका गुनासा सम्बोधन गर्ने उद्देश्यले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षहरू, स्थानीय बासिन्दा, नागरिक समाजका प्रतिनिधिहरू, तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
नागरिकहरूले शिक्षा, स्वास्थ्य,सडक,खानेपानी,कृषि, र रोजगारीका अवसरजस्ता विषयमा आफ्ना समस्या र सुझावहरू राखेका थिए । प्रतापपुर गाउँपालिका का कर्मचारीहरु नागरिकप्रतिपूर्ण जवाफदेही हुनुपर्ने र नागरिकको काम गर्दा काँधमा जिम्मेवारी हृदयमा इमानदारीलाई शिरोधार्य गर्न आग्रह गरेका थिए । सार्वजनिक सुनुवाइ कार्यक्रममा पालिकाको शाखा सम्बन्धी उठेका प्रश्नहरुलाई शाखा प्रमुखहरुले जवाफ दिएका थिए ।
कार्यक्रमको अध्यक्षता गरिरहेका प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले पालिकाबाट सहयोग हुँदै आएको तथा विद्युत्, सडक, खानेपानीको क्षेत्रमा पालिकाले प्राथमिकताकै आधारमा अगाडि बढिरहेको बताए । उनले जनताको माग बमोजिम दमकलको व्यवस्थालाई आउँदो आर्थिक वर्षभित्रै व्यवस्थापन गरिने र उत्कृष्ट पत्रकारिता पुरस्कारलाई अविलम्ब लागू गरिने बताए ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रतापपुर गाउँपालिका उपाध्यक्ष मान कुमारी चौधरीले न्याय सेवालाई परिवार, व्यक्ति समक्ष पुर्याउन न्यायिक समिति प्रतिबद्ध रहेको विचार व्यक्त गर्दै भरपर्दो र विश्वासनीय ढंगको न्याय सेवालाई नागरिक समक्ष पुर्याइने धारणा राखेकी थिइन् । सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अर्जुन चौधरीले चालू आर्थिक वर्षमा भएको प्रगति विवरणलाई सार्वजनिक गर्दै चालू आर्थिक वर्ष ०८१/०८२ मा भएको चालू र पुँजीगत खर्चबारे जानकारी दिँदै पालिकाको सेवाप्रति कुनै गुनासो भएमा निर्धक्क रुपमा अवगत गराउन आग्रह गरेका थिए ।
कार्यक्रममा सहभागी भएका नागरिकहरूले यस्ता कार्यक्रमले स्थानीय सरकार र जनताबीच विश्वास बढाउने तथा सेवामा पारदर्शिता ल्याउन मद्दत गर्ने बताएका थिए ।