काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन आजबाट सुरु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले होटल याक एण्ड यतिमा सम्मेलन उदघाटन गरेका छन् ।
श्रम मन्त्रालयले ‘उत्पादन र उत्पादकत्व विस्तार, आन्तरिक रोजगारीको दिगो आधार’ नारासहित सुरु सम्मेलन फागुन २६ र २७ गते दुई दिनसम्म चल्ने छ ।
सम्मेलन मूलतः नेपालमा श्रम शक्तिको उपयोग गर्न सिर्जनात्मक रोजगारी बढाउने क्षेत्रको पहिचान तथा प्रवर्द्धन र वैदेशिक रोजगारीबाट प्राप्त सीप, ज्ञान र पुँजीको यथोचित प्रयोगमा केन्द्रित रहने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
सम्मेलनमा रोजगारी सिर्जना गर्ने भूमिकामा रहेका नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल होटल संघ, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ, ट्रेड युनियन प्रतिनिधि, नेपाल सुन–चाँदी व्यवसायी संघ, रिटर्नी कामदारलगायत करिब ३ दर्जन संस्था र विज्ञहरूसहित ५०० जनाको सहभागिता रहने पनि मन्त्रालयले जनाएको छ ।