२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

बोल्न नसक्ने वृद्धालाई नागरिकता प्रदान

Nada
२०८१ फागुन २६ गते १२:३६
Shares
बोल्न नसक्ने वृद्धालाई नागरिकता प्रदान

सोलुखुम्बु : महाकुलुङ गाउँपालिका-५ की बोल्न नसक्ने एक ६८ वर्षीया वृद्धा गोटाल मनि राईले नेपाली नागरिकता प्राप्त गरेकी छन् । राईलाई प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले आइतबार जिल्ला प्रशासन कार्यालयमा नागरिकता प्रदान गरे ।

ncell

वडा अध्यक्ष महलसिं राईको सिफारिसमा नागरिकता वितरण गरिएको थियो । जिल्लाका कुनै पनि नागरिक नागरिकता पाउनबाट वञ्चित नहोस् भन्ने उद्देश्यअनुरूप राईलाई नागरिकता प्रदान गरेको प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बताए ।

उनले भने, “उहाँ नागरिकता पाउनबाट वञ्चित हुनुभएको रहेछ, जसले गर्दा राज्यबाट पाउने सेवा सुविधाबाट  वञ्चित हुनुभएको रहेछ ।” राईका बुवा आमा सानैमा मृत्यु भएका कारण नागरिकता बनाउन नसकेको वडाध्यक्ष महलसिंह राईले बताए । अत्यन्त न्यून आयस्तर भएका वृद्धाको घर नभएका कारण कटेरामा बस्दै आएका छन् ।

“उहाँको आफ्नो भन्ने कोही छैन, घरसमेत नभएका कारण सानो कटेरामा बस्दै आउनुभएको छ, यसभन्दा अघि पनि नागरिकता दिलाउन प्रयास गरिए पनि कानुनी उल्झनका कारण सम्भव भएको थिएन तर यो पटक सिडिओ साबले सहजीकरण गर्दिनुभयो नागरिकता दिलाउन सम्भव भयो ।” वडाध्यक्ष राईले भने । गोटाल मनिका एक छोरा छन् ।

बावुको पत्ता नलागेका उक्त छोराको नागरिकता बनाउनसमेत आमाको नागरिकता आवश्यक पर्ने भएकाले वडा कार्यालयको पहलमा नेपाली नागरिकता दिलाइएको स्थानीयले बताए । बि.सं. २०१३ साल असार १७ गते जन्म मिति रहेको राईको आर्थिक अवस्था अत्यन्त कमजोर छ ।

ताजा खबर

सम्बन्धित खबर