रौतहट : रौतहट पश्चिम उत्तरी भेग फतुवा विजयपुर, गुजरा र कटहरिया नगरपालिका अन्तर्गत लालबकैया नदीमा तीव्र रुपमा अवैध उत्खनन् भइरहेको छ ।
फतुवा विजयपुरको भैंसहीभन्दा उत्तर, गुजाराको जंगल सहिया, पशुपति टोल, सिमरी र कटहरियाको ढोलबाजा घाट लालबकैया नदीमा व्यापारी तथा तस्करहरूले तीव्र रुपमा नदी उत्खनन् गरिरहेका छन् ।
तीन वटै नगरपालिकाले लालबकैया नदीको टेण्डर नगरेपनि स्थानीय प्रहरी र वन कर्मचारीलाई पैसा दिएर बिहानैदेखि दर्जनौं ट्याक्टरमा बिना रोकतोक नदीजन्य पदार्थ गिट्टी, बालुवा, मिक्स ग्राभेल ढुवानी गरिरहेको प्रत्यक्षदर्शीले बताएका छन् ।
उक्त मिक्स ग्राभेल भैंसही बुटवास्थित स्थानीय राजु लामाले ८/१० जना मजदुर नै राखेर बिहानैदेखि उत्खनन् गर्न लगाएर चार वटा ट्याक्टरबाट ढुवानी गर्ने गरेको स्थानीयले बताएका छन् ।
दैनिक २० टिप भन्दाबढी नदीजन्य पदार्थ हिमाली बास गाउँभन्दा उत्तर चौरमा भण्डारण गर्ने गरेको प्रत्यक्षदर्शी दिनेश यादवले बताए । लामाकै जस्तो अन्य कैयौं व्यापारी तथा तस्करहरूले फतुवा विजयपुर नगरपालिका अन्तर्गत लालबकैया नदीबाट अवैध रुपमा नदीजन्य पदार्थ ढुवानी गरिरहेको यादवले जानकारी दिए ।
त्यसैगरी, गुजरा कटहरियाको सिमानामा पर्ने लालबकैया नदीको ढोलबाजा, जंगलसहिया, पशुपति टोल, सिमरी घाटमा बिहानैदेखि दर्जनौं मजदुर खटाएर मिक्स ग्राभेल उत्खनन् गर्ने र दिनभरि ट्याक्टरमा ढुवानी गर्ने गरेको प्रत्यक्षदर्शीले बताएका छन् । पछिल्लो कैयौं महिनादेखि यो क्रम जारी रहेको छ, तर उनीहरूलाई कुनै निकायले रोकछेक गर्दैनन् ।
आफ्नो घर कामको लागि नदीबाट एक ट्याक्टर बालुवा ल्याउँदा स्थानीय प्रहरीले अनेक बाधा अड्चन लगाउने गरेको छ । तर, अवैध उत्खनन् गर्नेहरू दिनभरि नदीजन्य पदार्थ ढुवानी गर्दा प्रहरी मुकदर्शक बनेको स्थानीय समाजसेवी शेख कमरुदिनले गुनासो गरे । ‘दिनभरि अवैध उत्खनन् गरेर उनीहरू जंगलसहिया, पोखरभिन्डा, भसेढावा गाउँस्थित बाटोमै थुपारेर राख्छन् । पछि माग अनुसार बिक्री गर्छन्,’ समाजसेवी शेख कमरुद्विनले भने ।
यसरी जथाभावी बाटोछेउमा नदीजन्य पदार्थको भण्डारण गर्नाले दुर्घटनाको जोखिम बढेको स्थानीयको गुनासो रहेको छ । अवैध रुपमा उत्खनन् गरी नदीजन्य पदार्थ ढुवानी गर्नेहरूले स्थानीय प्रहरी, वन कर्मचारी र कतिपय जनप्रतिनिधिलाई समेत मिलाएको स्थानीय दिनेश यादवले बताए ।
अवैध उत्खनन्को कारण एकातर्फ नेपाल सरकारको लाखौं रुपैयाँ राजश्व घुमिरहेको छ भने अर्कोतर्फ ढोलबाजा घाटमा करोडौंको लागतमा निर्माण गरिएको लालबकैया नदीको पुल भासिने जोखिम बढेको छ । कुनै पनि भौतिक पूर्वाधारको ५०० मिटर टाढा उत्खनन् गर्नुपर्ने नियमलाई यहाँ बेवास्ता गर्दै तस्करहरुले पुल छेउमै उत्खनन् गरिरहेको देखिएको छ ।
नदीको अवैध उत्खनन् नियन्त्रण तथा नियमन गर्ने जिम्मा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय र स्थानीय निकायको हुन्छ । तर, रौतहटको हकमा नियमनकारी ती निकायहरू हालसम्म मौन रहेको स्थानीय सञ्चारकर्मी संजय कुमार मिश्रले गुनासो गरेका छन् ।
ईलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख प्रहरी निरीक्षक इन्द्रमणी अधिकारीले उक्त ठाउँमा अवैध उत्खनन्बारे आफूलाई कुनै जानकारी नभएको बताए । जिल्ला समन्वय समितिका अध्यक्ष रामअयोध्या यादवले अनभिज्ञता प्रकट गर्दै नियमन गर्ने प्रतिबद्धता जनाए ।