विराटनगर : विराटनगरमा सम्पन्न प्रथम हिसान कोशी प्रदेशस्तरीय अन्तर कलेज क्रिकेट प्रतियोगिताको उपाधि अरनिको कलेजले हात पारेको छ । बुधबार सम्पन्न फाइनल खेलमा ग्रिनल्याण्ड कलेजलाई ६४ रनले पराजित गर्दै अरनिको कलेजले उपाधि उचालेको हो । यसअघि, मोरङ हिसान क्रिकेट प्रतियोगितामा पनि अरनिकोले ग्रिनल्याण्डलाई नै पराजित गरेको थियो ।
विराटनगरको वैजनाथ क्रिकेट मैदानमा भएको फाइनल खेलमा टस जितेर पहिला ब्याटिङ गरेको अरनिको कलेजले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४३ रन बनायो । टोलीका लागि सोनु साहले सर्वाधिक ४४ रन बनाए भने नुमिर अहमदले ३६ रन र सौरभ झाले २३ रनको योगदान गरे। बलिङतर्फ ग्रिनल्याण्डका गणेश यादवले ३ विकेट लिए भने सुनिल यादव र गौरी शंकर यादवले समान २–२ विकेट लिए ।
१४४ रनको लक्ष्य पछ्याउने क्रममा ग्रिनल्याण्ड कलेज १८.४ ओभरमै अलआउट हुँदै ७९ रनमै समेटियो । टोलीका लागि हेमन्त मेहताले १८ तथा सुनिल यादवले १३ रन बनाए । अरनिकोका बलर रामनारायण यादव र अमर यादवले समान ३–३ विकेट लिए ।
फाइनल खेलमा नुमिर अहमद ’प्लेयर अफ द फाइनल’ घोषित भए भने ग्रिनल्याण्डका गणेश यादव ’प्लेयर अफ द टुर्नामेन्ट’ बने । उत्कृष्ट ब्याटरको उपाधि अरनिकोका रुद्रप्रताप साहले प्राप्त गरे भने उत्कृष्ट बलर अरनिकोकै अमर यादव घोषित भए ।
फागुन २६ गतेदेखि सुरु भएको प्रतियोगितामा कोशी प्रदेशका मोरङ, सुनसरी र झापाका गरी ६ टिम सहभागी थिए। विजयी टोली तथा खेलाडीलाई हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, हिसान कोशी अध्यक्ष ज्ञानबहादुर खड्का, हिसान मोरङका पूर्व अध्यक्ष बलराम पन्तलगायतले ट्रफी तथा प्रमाणपत्र प्रदान गरे ।