पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्वीर जलाउने एक युवक पक्राउ परेको प्रकरणले राष्ट्रिय राजनीतिमै तरंग ल्यायो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को युवा संगठनका नेता निराजन बम चितवनमा पक्राउ परेका थिए । उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको तस्वीर जलाउँदै गणतन्त्रको विरोधमा नारा लगाएका थिए । तस्वीर जलाउने र गणतन्त्रको विरोधमा नारा लगाउने गल्ती गरेको भन्दै प्रहरीले राप्रपाका नेता बमलाई नियन्त्रणमा लिएपछि चर्को विरोध भयो । अधिकारकर्मीहरुबाट विशेष विरोध भयो । शान्तिपूर्ण रुपमा विरोध जनाउन पाइने संवैधानिक व्यवस्था भएकाले नेता बमलाई गिरफ्ता गरिन नहुने आसयका टिप्पणीहरु सामाजिक सञ्जालमा छायो । अन्ततः केही घण्टाभित्रै पक्राउ परेका बम रिहा भए ।
सार्वजनिक विरोध जनाउनेलाई गिरफ्तार गरिएको यो पछिल्लो उदाहरण मात्र हुन् । विरोध जनाउनेमाथि सरकारले निषेधकै नीति लिएको छ । केही दिन अघि मात्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गर्ने दुई पत्रकारको संसद् कार्ड निलम्बन गरिएको थियो । यूट्युब च्यानलमा काम गर्ने ती प्रश्नकर्ताले प्रधानमन्त्री ओलीलाई केही चर्को प्रश्न गरेका थिए । ‘भ्रष्टाचारीलाई संरक्षण गर्न यो सरकार लागिपरेको हो ?’ भन्ने प्रश्न प्रधानमन्त्रीलाई सोधेकै कारण संसद् भवन छिर्ने कार्ड निलम्बन गरिएको थियो । राजधानी उपत्यकाका महत्वपूर्ण स्थलहरुमा निषेधित क्षेत्र घोषणा गर्ने निरन्तर केही वर्ष यता चलिरहेकै छ । सरकार फेरिए पनि निषेधित क्षेत्र घोषणा गर्ने प्रवृत्तिले निरन्तरता पाइरहेकै छ ।
विरोध जनाएकै कारण नागरिक गिरफ्तारीमा पर्ने, प्रदर्शन गर्ने स्थल घटाइदै र प्रशासन केन्द्रबाट टाढा लगिनेदेखि कानुनी मस्यौदा सार्वजनिक गरेर तर्साउने काम भइरहेकै छ । राष्ट्रिय सभामा दर्ता गरिएको सामाजिक सञ्जाल सम्बन्धि कानुनको विधेयकले नागरिक अधिकार खोस्ने उद्देश्य राखेको प्रष्ट छ । सामाजिक सञ्जालमार्फत् विरोध जनाएकै कारण जेल बस्नुपर्ने जस्ता प्रावधान उक्त विधेयकमा समावेश छन् । यी सबै तथ्यहरुले सरकार नागरिक अधिकार खोस्न लालायित रहेक पुष्टि हुन्छ । जबकि विद्यमान संविधान र व्यवस्था लामो राजनीतिक–सामाजिक संघर्षको परिणाम हो । नागरिकले बोलेकै कारण अथवा विरोध जनाएकै कारण दण्डनीय हुनु नपर्ने माग राखेरै लामो संघर्ष भएको थियो । तर लोकतन्त्रका लागि लडेर राजनीतिमा स्थापित भएकै नेताहरुले आफूलाई संविधान भन्दा माथि राख्न खोजेको आभास भइरहेको छ । यस्तो उल्टो बाटो हिड्नु राम्रो होइन ।