अर्घाखाँची : अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वाड नं. ९ सानाडेभाका ३८ वर्षीय हिमाल तङनामी मगरले व्यावसायिक रूपमा किवी खेती गरी वार्षिक ५ लाख भन्दा बढी आम्दानी गर्दै आएका छन् । २०७५ सालदेखि व्यावसायिक किवी खेती सुरु गरेका मगरको दैनिकी किवीको हेरचाह, गोडमेल, बजार व्यवस्थापन लगायतका कामहरूमा बित्ने गर्छ । मगरको बारीमा सिजनको बेला ३० क्वीन्टल किवी उत्पादन भएको थियो ।
तङनामीले सानैदेखि खेतीपातीमा रूची थियो । उनलाई घरखर्च चलाउन समस्या परेपछि वैदेशिक रोजगारीको क्रममा साउदीमा बस्दै गर्दा यहाँको किवी खेतीको विषयमा अध्ययन गरेका थिए । केही वर्षको विदेश बसाइँ पछि नेपाल फर्किएर उनले आफ्नै घरको बारीमा व्यावसायिक किवीखेती सुरु गरेका हुन् । ‘समुद्री सतहभन्दा चौध पन्ध्र सय फिट उचाइमा रहेको यस्तो पहाडी समथर ठाउँमा किवी, एभोकाडो, जस्ता फलफूल हुन्छन् भन्ने कुरा मलाई थाहा भयो यसका बिरुवा कहाँ पाइन्छ भनेर खोजी गर्नेक्रममा कृषि ज्ञानकेन्द्र अर्घाखाँचीसँग समन्वय गरेपछि ज्ञान केन्द्रको सहयोगमा बिरुवा रोपेको थिएँ, अहिले निकै राम्रो आम्दानी भएको छ’, उनले भने । उनले भाले बुनो र पोथी मचुवा जातको किवी लगाएका छन् । अरू पेसालाई छाडेर कृषि फार्म दर्ता गरी व्यावसायिक रूपमा किवी खेती थालेका मगरले अहिले ७ रोपनीभन्दा बढी क्षेत्रफलमा खेती गरिरहेको बताए । किवी खेतीमा सम्भावना देखेर यो पेसा अपनाएको बताउँदै उनले सुरुमा एक सय १० बोट ल्याएर सो खेतीको सुरुवात गरेका थिए ।
उनको बारीमा उत्पादन भएको किवी अर्घाखाँची, गुल्मी, पाल्पा, कपिलवस्तुमा बिक्री हुँदै आएको छ । ‘यस वर्ष उत्पादन भएका किबी बारीबाट टिप्नु अगाडि ग्राहकको माग धान्न गाह्रो भएको थियोे’, उनले भने ।
किवी खेतीसम्बन्धी विभिन्न ठाउँमा पुगेर विज्ञहरूबाट तालिमसमेत लिएपछि उनले खेती सुरु गरेको जानकारी दिए । २०७५ मा पहिलो पटक तीन क्वीन्टल उत्पादन गरेको बताउँदै उनले अहिले वार्षिक २५ देखि ३० क्वीन्टलसम्म उत्पादन हुने गरेको बताए ।
सुरुका वर्ष प्रतिकिलो पाँच सयका दरले बिक्री भएको किवी पछिल्लो समय मूल्य घटेपनि उत्पादन बढी हुन थालेकाले मगरको आम्दानी भने वृद्धि भएको छ । ‘किबी खेतीलाई अन्यबाली जस्तो दैनिक हेरचाह गरिरहनुपर्दैन, वारिभित्र आलु, सागसब्जीलगायत नगदेबालीको खेती पनि गर्न सकिन्छ’, उनले भने, ‘कम मेहनतमा बढी आम्दानी दिने हुँदा यसवर्ष थप विस्तार गर्ने तयारी गरिरहेको छु’, उनले भने ।
आगामी वर्षदेखि अनुमानित एक सय ५० क्विन्टलसम्म उत्पादन हुने गरी खेती मगरले खेतीको विस्तार गर्न लागेका छन् । हाल बिरुवा र फलबाट वार्षिक ५ लाख भन्दा बढी आम्दानी गरिरहेका उनले आगामी वर्षदेखि आम्दानी वृद्धि हुने अनुमान गरेका छन् ।
६ देखि आठ मिटरको दूरीमा रोपिने किवीलाई अन्य बालीलाई भन्दा कम मेहनत गर्दापनि पर्याप्त उत्पादन लिन सकिन्छ । लहरे फलका रूपमा हुने किवीले लगाएको तीन वर्षदेखि फल्न सुरु भई ५० वर्षसम्म निरन्तर उत्पादन दिने गर्छ । किवी फललाई चाउरीपन, उच्च रक्तचाप, पोषण, छाला तथा मुटुका रोगीले सेवन गर्नु फाइदाजनक मानिने वरीष्ठ चिकित्सक अशोक शाहले बताएका छन् ।