भोजपुरः जिल्लाका अलैँची किसानका समस्या पहिचानको गर्न विज्ञ समूह अलैँची बगानमा पुगेको छ । विभिन्न रोग, कीराको सङ्क्रमणका कारण किसानको बगान नष्ट हुन थालेपछि अलैँची महासङ्घसहित विज्ञ समूह बगानमा पुगेको हो ।
कोशी प्रदेश सरकार र नेपाल व्यवसायी अलैँची महासङ्घको पहलमा अलैँची किसानको समस्या खोजी भइरहेको अलैँची व्यवसायी महासङ्घका महासचिव नारायणप्रसाद चिमोरियाले बताए । किसानको अलैँची बगानमा पुगेर समस्यासँगै गुणस्तरीय उत्पादन, बजारीकरणलगायत विषयमा जानकारी लिइएको उनले उल्लेख गरे ।
अलैँची किसानका समस्याको खोजी, पहिचानसँगै गुणस्तरीय उत्पादनको विषयमा ज्ञान प्रदान गर्न प्रदेश सरकारसँगको सहकार्यमा किसान लक्षित कार्यक्रम सञ्चालन गरिएको महासचिव चिमोरियाले जानकारी दिए । यो कार्यक्रमअन्तर्गत अलैँचीका विज्ञ प्राविधिकसहित सरोकार भएका पक्ष र किसानसँग बसेर अलैँचीमा देखिएका समस्या, त्यसको समाधान र गुणस्तरीय उत्पादनका विषयमा जानकारी दिने काम भइरहेको उनले बताए ।
महासचिव चिमोरियाले भने, ‘विज्ञ समूहसहित किसानको अलैँची बगानमा पुरेर समस्या पहिचान गरी समाधानका उपाय दिँदै आएका छौँ । योसँगै बजारीकरण र गुणस्तरीय उत्पादनका विषयमा किसानलाई आवश्यक प्राविधिक ज्ञान प्रदान गरिरहेका छौँ ।’ व्यावसायिक अलैँचीखेतीमा लागेका किसानको समस्या खोजी गर्न भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ चोलन्तीमा कार्यक्रम सञ्चालन गरिएको उनले उल्लेख गरे ।
यहाँका किसानको बगानमा पुगेर प्रयोगात्मक रूपमा अलैँचीमा देखिएका रोग र सङ्क्रमण पत्ता लगाउने, समस्या पहिचानसहित समाधानका विकल्पलगायत विषयमा प्रत्यक्ष साक्षत्कार गरिएको नेपाल अलैँची व्यावसायिक महासङ्घका अध्यक्ष निर्मल भण्डारीले जानकारी दिए ।
पछिल्लो समय अलैँचीमा विभिन्न रोग लागेर उत्पादनमा ह्रास आएकाले बगानमा पुगेर किसानलाई आवश्यक प्राविधिक ज्ञान प्रदान गर्न कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष भण्डारीले बताए । यो कार्यक्रमअन्तर्गत अलैँची बढी उत्पादन हुने कोशी प्रदेशका नौ जिल्लाका किसानका बगानमा पुग्ने अभियान रहेको उनले जानकारी दिए ।
‘पछिल्लो समय अलैँचीमा विभिन्न समस्या देखिरहेका छन्झ्, अध्यक्ष भण्डारीले भने, ‘जसका कारण धेरै किसानका बगान नष्ट भएका छन् । किसानलाई स्थलगत रूपमा आवश्यक ज्ञान प्रदान गर्न हामीले कार्यक्रम सञ्चालन गरिरहेका छौँ ।’
स्थलगत अनुगमनका क्रममा किसानले विस्तार गरेका बगानमा विभिन्न रोगको सङ्क्रमण र उपचार विधिका विषयमा आवश्यक जानकारी प्रदान गरिएको अलैँची विकास केन्द्र इलामका प्राविधिक दिलबहादुर श्रेष्ठले जानकारी दिए । बगान अनुगमनका क्रममा बोट सुक्ने, गानो कुहिनेलगायत रोग बढी मात्रामा देखिएको उनको भनाइ छ ।
‘किसानको बगानलाई लक्षित गरी रोग र उपचारको पद्दतिका बारेमा ज्ञान दिएका छौँ’, उनले भने, ‘किसानमा रोगको सङ्क्रमण, उपचार विधि, सङ्क्रमण रोकथामलगायत विषयमा जानकारी नुहँदा पनि समस्या भएको पाएपछि उत्पादन बढाउन र किसानलाई प्रोत्साहन गर्न प्राविधिक ज्ञानसहित आवश्यक जानकारी दिइरहेका छौँ ।’
अलैँचीमा देखिएका समस्या र समाधानका विषयमा जानकारी दिन र किसानलाई खेतीमा आकर्षित गर्न कार्यक्रम सञ्चालन गरिएको जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख मुकेशकुमार यादवले बताए । ‘अलैँचीमा जीवाणु र ढुसीजन्य रोगको सङ्क्रमण बढी मात्रा देखिएको छ । समस्या समाधान किसान आफैँले गर्न सकुन् भनेर अभियान सञ्चालन गरिएको हो’, उनले भने ।
अलैँची व्यवसायी सङ्घ जिल्ला शाखाका अध्यक्ष राजेश विष्टले जिल्लाका किसानको आम्दानीको स्रोत बढाउन, उत्पादन वृद्धि गर्न अभियान सञ्चालन गरिएको बताए । ‘यहाँका धेरै किसानले अलैँचीको व्यावसायिक खेती गरिरहेका छन्’, उनले भने, ‘आवश्यक प्राविधिक ज्ञान नहुँदा किसानले विभिन्न समस्या भोग्दै आएकाले समाधानका उपायसहित प्राविधिक र बजारीकरणमा समन्वय गर्न कार्यक्रम गरिरहेका छौँ ।’
गाउँपालिकाका किसानको आम्दानीको प्रमुख स्रोतका रूपमा अलैँची रहेकाले यसको विकास तथा विस्तारमा जोड दिइएको गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताए । किसानले गुणस्तरीय उत्पादनमा जोड दिन तथा व्यवसायलाई निरन्तरता दिन सकुन् भनेर नगरपालिकाले पहल गरिरहेको उनको भनाइ छ ।
विभिन्न रोगसँगै मूल्यमा स्थिरता नभएकाले समस्या हुने गरेको टेम्केमैयुङ–५ चोलन्तीका किसान चक्रबहादुर विष्टले बताए । राज्यको तहबाट बजारीकरणसँगै अलैँची किसानका लागि दक्ष प्राविधिक, उन्नत जातको बिरुवा वितरण र माटो परीक्षणमा सहयोग गर्न आवश्यक रहेकामा उनले जोड दिए ।