बर्दिया : बर्दियाको गेरुवा गाउँपालिका–१ सरखोलमा रहेको जनता परिक्षित नरसिंह आधारभूत विद्यालयलाई पालिकाकै पहिलो ३ तारे विद्यालय घोषणा गरिएको छ ।
२०४९ सालमा स्थापना भएको विद्यालयले खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी १० वटा सूचक पुरा गरेपछि गेरुवा गाउँपालिका समन्वयमा वास गेन्स परियोजनाको सहयोगमा शुक्रबार एक कार्यक्रमकाबीच ३ तारे विद्यालय घोषणा गरिएको हो ।
लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले ३ तारे विद्यालय घोषणा सभामा यसबाट विद्यालयको शिक्षण सिकाइ र सरसफाइमा सकारात्मक प्रभाव पार्ने बताए । उनले विद्यालयहरूलाई तिन तारे घोषणा गरेर मात्र नहुने बताउँदै यसको दिगोपनका लागि सरोकारवालाहरु सबै जिम्मेवार भएर लाग्नुपर्ने बताए ।
गेरुवा गाउँ पालिकाले विद्यालयले खानेपानी, सरसफाइ तथा स्वच्छता सम्वन्धी कार्यविधि नै निर्माण गरेको छ । कार्यविधिमा खानेपानी, शौचालय, सफा, स्वच्छ तथा हरीयाली वतावरण, खानाको स्वच्छता, स्वच्छता सुविधा, स्वच्छता शिक्षा, महिनावारी स्वच्छता व्यवस्थापन सुविधा, संस्थागत व्यवस्था र दिगोपना, विपत जोखिम व्यवस्थापन र अनुगमन तथा जवाफदेहिता सहितका १० वटा सूचक राखिएका छन् ।
वास गेन परियोजनाको सहयोगमा विद्यालयको स्वमुल्यांकन र अनुगमन समेतबाट तीन तारे विद्यालय घोषणा गर्नको लागि निर्धारण गरेका दश सूचकहरु पुरा गरेको देखिएकाले गाउँपालिकाले प्रमाणीकरण गरी विद्यालयलाई तीन तारे विद्यालय घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष जमान सिंह के. सी.ले बताए ।
यसअघि लुम्बिनी प्रदेश सामाजिक विकासमन्त्री तिमिल्सिना, गेरुवा गाउँपालिका अध्यक्ष के.सी. र उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छोटेलाल थारुलाई ३ तारा प्रमाणीकरण पत्रसहित प्रमाण पत्र प्रदान गरेका थिए ।
सो अवसरमा विद्यालय लाई ३ तारे घोषणा गर्न सहयोग पु¥याउनेहरुलाई सम्मान समेत गरेको थियो ।