२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

स्यार्फुवेशीका आवाजविहीन जीवसम्म राहत, हेलिकप्टर बन्यो सहारा

Nada
२०८३ असोज १५ गते २१:३१
Shares
स्यार्फुवेशीका आवाजविहीन जीवसम्म राहत, हेलिकप्टर बन्यो सहारा

रसुवा : विपद्का कारण बाटोघाटो अवरुद्ध भएपछि राहत तथा उद्धार सेवाबाट समेत टाढा रहेका रसुवाको स्यार्फुवेशीका सामुदायिक कुकुरहरूका लागि नेपाल पशु कल्याण तथा वातावरण समाजले खाद्य सामग्री पुर्‍याएको छ । 

ncell

सरकारी पहल तथा समन्वयमा विश्व खाद्य कार्यक्रमको हेलिकप्टरमार्फत टेम्पल डग रेस्क्यु र अन्तर्राष्ट्रिय पशु कल्याण कोषको आर्थिक सहयोगमा सामुदायिक कुकुरहरूका लागि आवश्यक खाद्य सामग्री स्यार्फुवेशीसम्म पुर्‍याइएको हो ।

वपद्का कारण सडक तथा यातायात सम्पर्क विच्छेद भएपछि उक्त क्षेत्रमा मानिससँगै सामुदायिक कुकुरहरूको अवस्था पनि अत्यन्त कठिन बनेको थियो । खाना र पानीको अभावमा ती निर्दोष जीवहरू भोकसँग संघर्ष गरिरहेका थिए । मानिसहरूका लागि राहत तथा उद्धारका प्रयास भइरहे पनि आफ्नो पीडा व्यक्त गर्न नसक्ने ती आवाजविहीन जीवहरूका लागि भने उक्त क्षेत्रमा सहयोग पुर्‍याउन कठिन भइरहेको थियो ।

यही अवस्थालाई ध्यानमा राख्दै नेपाल पशु कल्याण तथा वातावरण समाजले सरकारी पहलमा समन्वय गरी दुर्गम तथा सडक सम्पर्कविहीन क्षेत्रमा रहेका सामुदायिक कुकुरसम्म खाद्य सामग्री पुर्‍याएको हो । विपद्का समयमा पशुलाई समेत राहतको दायरामा समेट्दै गरिएको यो पहल पशुकल्याण र मानवीय संवेदनाको महत्वपूर्ण उदाहरण बनेको छ ।

नेपाल पशु कल्याण तथा वातावरण समाजकी अध्यक्ष सुमेदा गौतमले विपद्का कारण भोकै बस्न बाध्य सामुदायिक कुकुरहरूका लागि स्यार्फुवेशीसम्म खाना पुर्‍याउन सकिएकोमा आफू निकै खुसी र भावुक भएको बताइन् । मानिसहरूका लागि राहत पुगिरहेका बेला बोल्न नसक्ने निर्दोष जीवहरू भोकै नपरून् भन्ने उद्देश्यले पहल गरिएको उनको भनाइ छ ।

‘मानिसहरूका लागि राहत पुगिरहँदा बोल्न नसक्ने यी निर्दोष जीवहरू भोकै नपरून् भन्ने हाम्रो प्रयास हो । उनीहरूका लागि केही खाना पुर्‍याउन सक्नु पनि ठूलो सन्तोषको विषय हो,’ उनले भनिन् ।

नेपाल पशु कल्याण तथा वातावरण समाजका कार्यकारी निर्देशक हरिप्रसाद जोशीले विपद्का बेला पशुहरू पनि उत्तिकै पीडित हुने भएकाले उनीहरूको जीवन र कल्याणलाई राहत तथा उद्धारको प्राथमिकतामा समेटिनुपर्ने बताए । उनका अनुसार स्यार्फुवेशीमा रहेका सामुदायिक कुकुरहरू आफैं राहत माग्न सक्ने अवस्थामा थिएनन् र बाटो अवरुद्ध भएका कारण उनीहरूसम्म पुग्नसमेत कठिन थियो ।

‘विपद्को समयमा मानिसको पीडा देखिन्छ, सुनिन्छ र उनीहरूका लागि राहतको पहल हुन्छ । तर यी सामुदायिक कुकुरहरू न आफ्नो पीडा भन्न सक्छन्, न राहत माग्न सक्छन् । उनीहरू भोक, डर र अभावबीच त्यहीँ बस्न बाध्य थिए । यस्तो अवस्थामा उनीहरूसम्म खाना पुर्‍याउनु केवल सहयोग होइन, आवाजविहीन जीवप्रतिको हाम्रो जिम्मेवारी पनि हो,’ जोशीले भने ।

उनले सरकारी पहल तथा समन्वयमा यस्तो कठिन अवस्थामा रहेका पशुसम्म राहत पुर्‍याउन सकिनु उदाहरणीय भएको बताए ।

‘विपद् व्यवस्थापन मानिस केन्द्रित मात्र हुनुहुँदैन । मानिससँगै पशुहरूको जीवन र कल्याणलाई पनि राहत व्यवस्थापनको अभिन्न हिस्सा बनाउनुपर्छ । सरकारी निकायको पहल, विश्व खाद्य कार्यक्रमको हेलिकप्टर सहयोग तथा टेम्पल डग रेस्क्यु र अन्तर्राष्ट्रिय पशु कल्याण कोषको आर्थिक सहयोगले दुर्गम क्षेत्रमा रहेका यी जीवसम्म राहत पुर्‍याउन सम्भव भएको हो,’ उनले भने ।

विपद्को पीडा मानिसले मात्र होइन, पशुहरूले पनि उत्तिकै भोगिरहेका हुन्छन् । घर, गोठ र बासस्थान गुमाएका तथा खाना र पानीको पहुँचबाट टाढा भएका पशुहरू आफ्नो जीवन जोगाउन संघर्ष गरिरहेका हुन्छन् । विशेषगरी सामुदायिक कुकुरजस्ता आवाजविहीन जीवहरूका लागि यस्तो अवस्था अझ कठिन हुन्छ । उनीहरू न आफ्नो पीडा शब्दमा व्यक्त गर्न सक्छन्, न कसैसँग सहयोग माग्न सक्छन् ।

त्यसैले संकटको समयमा उनीहरूलाई सम्झेर गरिएको एउटा प्रयास पनि उनीहरूको जीवनका लागि ठूलो सहारा बन्न सक्छ । स्यार्फुवेशीमा नेपाल पशु कल्याण तथा वातावरण समाजले पुर्‍याएको यो खाद्य सहयोगले विपद्का बेला मानिससँगै पशुहरूको जीवन जोगाउने जिम्मेवारी पनि राज्य, सम्बन्धित निकाय र समाजको साझा दायित्व हो भन्ने सन्देश दिएको छ ।

पशु कल्याण तथा वातावरणको क्षेत्रमा लामो समयदेखि सक्रिय अमि कट्टेल (मधु)ले विपद्का समयमा पशुहरूको अवस्था झनै संवेदनशील बन्ने भएकाले उद्धार तथा राहतका हरेक प्रयासमा उनीहरूलाई पनि प्राथमिकताका साथ समेटिनुपर्ने बताइन् ।

कट्टेलले स्यार्फुवेशीका सामुदायिक कुकुरहरूका लागि हेलिकप्टरमार्फत खाद्य सामग्री पुर्‍याउनु केवल तत्कालीन भोक मेटाउने प्रयास मात्र नभई विपद्का समयमा पशुप्रति मानवीय संवेदना र जिम्मेवारी देखाउने महत्वपूर्ण कदम भएको बताइन् ।

‘विपद्का बेला मानिसहरू आफ्नो पीडा व्यक्त गरेर सहयोग माग्न सक्छन्, तर पशुहरूले आफ्नो अवस्था बताउन सक्दैनन् । त्यसैले उनीहरूको पीडा बुझेर समयमै सहयोग पुर्‍याउनु हाम्रो जिम्मेवारी हो । स्यार्फुवेशीका सामुदायिक कुकुरहरू लामो समयदेखि खानाको अभावमा रहेका अवस्थामा उनीहरूसम्म खाद्य सामग्री पुर्‍याउन सक्नु हाम्रो लागि पनि भावुक क्षण हो,’ उनले भनिन् ।

स्थानीयका अनुसार स्यार्फुवेशीमा करिब ६० देखि ७० वटा सामुदायिक कुकुरहरू लामो समयदेखि खाना र पानीको अभावमा भोकभोकै बस्न बाध्य थिए । विपद्का कारण सडक तथा यातायात सम्पर्क विच्छेद भएपछि उक्त क्षेत्रमा कुनै पनि राहत सामग्री पुग्न सकेको थिएन ।

भोक र अभावका कारण कुकुरहरू छट्पटाइरहेको अवस्थामा नेपाल पशु कल्याण तथा वातावरण समाजले हेलिकप्टरमार्फत खाद्य सामग्री पुर्‍याएर उनीहरूलाई खाना खुवाउन सहयोग गरेको स्थानीयहरूले बताएका छन् ।

ताजा खबर

सम्बन्धित खबर