
काठमाडौं : बिहीबार मकवानपुरको भीमफेदीस्थित चिसापानीगढीमा विद्युतीय माइक्रोबस दुर्घटना हुँदा चालकसहित १४ जनाको ज्यान गयो । सर्लाही चक्रघट्टा गाउँपालिकाका ४ सुन्दरपुर टोलका एकै परिवारका ६ जना सहित एकै गाउँका १४ जनाले ज्यान गुमाउँदा सुन्दरपुर टोलनै शोकमा छ ।
छठ मनाउन गाउँ जानेक्रममा दुर्घटनामा परि ३५ वर्षीया पुनमदेवी यादव, १० वर्षीया अनुकुमारी यादव, ७ वर्षीया दीक्षा यादव, ५ वर्षीया दीपिका यादव, २६ वर्षीय विकेश यादव र २४ वर्षीय सुबोध यादवको ज्यान गुम्यो । विकेश यादव दाजुभाइ, उनकी भाउजू पुनम र पुनमका तीन सन्तान गुमाएकी उनकी आमा अझै बेहोस छिन् । ११ यात्रुको क्षमता रहेको उक्त माइक्रोमा क्षमताभन्दा बढी (२० जना) यात्रु सवार थिए । क्षमता भन्दा बढी यात्रुराखेको र एउटै चालकले रातभर गाडी चलाएका कारण दुर्घटना भएको भएको नेपाल प्रहरीले प्रारम्भीक अनुसन्धानले देखाएको छ ।
यद्यपि यसको वास्तविक कारण पत्ता लगाउन स्थगानीय प्रशासनले मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलको संयोजकत्वमा अध्यान समिति गठन गरेको छ । यस अघि २०८३ बैशाख १७ गते रुकुम पूर्वबाट रोल्पा जाँदै गरेको जिप थबाङमा दुर्घटना हुँदा २० जनाको मृत्यु भयो । यसको छानबिन गर्ने डीआईजी यादव ढकाल नेतृत्वको समितिले प्रतिवेदन बुझाइसकेको छ, तर त्यो अहिलेसम्म सार्वजनिक गरिएको छैन । त्यस्तै २०८२ को फागुनमा पोखराबाट काठमाडौं आउँदै गरेको बस धादिङको बेनीघाट रोराङमा दुर्घटना हुँदा १९ जनाको मृत्यु र २५ यात्रु घाइते भएका थिए । उक्त दुर्घटनामा गाडी दुई सय मिटर भन्दा तल खसेको थियो । त्यसबेला गृह मन्त्रालयले सहसचिव ऋषिराम तिवारीको संयोजकत्वमा अध्ययन कार्यदल बनायो । कार्यदलले २९ फागुनमै तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्याललाई बुझाएको प्रतिवेदन अझै गुमनाम छ ।
२०८१ असार २८ मा भरतपुरको सिमलतालमा पहिरोले दुईवटा बस बगायो । ती बसमा यात्रा गर्ने ६२ यात्रु मध्य तीन जना सकुशल भेटिए भने १९ वटा शव त्रिशूलीमा भेटिए । बाँकी ४० जना बेपत्ता भएको पछिल्लो समयको सबैभन्दा ठुलो दर्घटना थियो । उक्त दुर्घटनाको अध्यायन र छानविन गर्न ततकालिन सहसचिव छवि रिजालको नेतृत्वमा कार्यदल बनेको थियो । कार्यदलले नयाँ सडक सुरक्षा ऐन बनाउने, राष्ट्रिय सडक सुरक्षा परिषद् र नीति तर्जुमा गर्ने, मापदण्ड र कार्यविधि तयार गर्नेजस्ता सुझाव दिएको थियो । जोखिमपूर्ण सडकमा सुरक्षा बारलाई अनिवार्य गर्ने, राजमार्गको जोखिम आकलन सार्वजनिक गर्ने र जोखिमयुक्त स्थानमा सडकबत्ती तथा सीसी क्यामेरा जडान गर्ने सुझाव पनि थिए । यी सुझाव कार्यान्वयन हुन सकेका छैनन् ।
भीमफेदी, थबाङ, बेनीघाट र सिमलताल यी चार ठुला दुर्घटनाको मात्रै होइन नेपालका अधिकामंश ठुला सडक दुर्घटनाको छनविन गर्न अध्यायन तथा छानविन समिति बनाउने र प्रतिवेदन तयार गर्ने गरीएको छ । यद्यपि ती प्रतिवेदनहरू कार्यान्वयन भने हुने गरेका छैनन् । नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०७५/७६ देखि २०८३/८४ को असोजसम्म देशभर १ लाख ८७ हजार ९ सय ४९ सडक दुर्घटना भएका छन् । यो अवधिमा सडक दुर्घटनामा परी ५१ हजार ४९ यात्रु गम्भीर घाइते भए भने २१ हजार ३१ जनाको मृत्यु भएको तथ्यांक छ ।
तर अधिकांश दुर्घटनापछि बनेका छानविन कार्यदलले बुझाएका प्रतिवेदन कार्यान्वयन नभएकोप्रति सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । राज्य कोषकै खर्चमा हुने अध्यायन प्रतिवेदनमा उल्लेखित दुर्घटनाका कारण, र दुर्घटना न्यूनिकरणका उपाय समेटिएका सुझावसहितको प्रतिवेदनहरू कार्यान्वयनमा नआउदा यस्ता दुर्घटनाहरू रोक्न नसकिएको विज्ञहरूको टिप्पणी छ । नेपाल प्रहरीका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) भीमप्रसाद ढकाल बढी दुर्घटना चालककै लापरबाहीले हुने गरेको दाबी गर्छन् । तर सरकारले दुर्घटनाको छानविन गर्न बनाएका समितिले बुझाएका प्रतिवेदनमा उल्लेखित दुर्घटना न्यूनिकरणका उपायका सम्बन्धी सुझावहरू कार्यान्वयनमा नआउने विगतदेखिकै समस्या रहेको उनको दाबी छ । ‘सडकको कमजोर अवस्था, सवारीको प्राविधिक जाँच नगरिनु दुर्घटनाका मुख्य कारण हुन्, ट्राफिक प्रहरीको जिम्मेवारीमा लामो समय रहेका ढकालले भने, ‘जतिपनि ठुला दुर्घटना भएका छन्, त्यसका अध्यान र छानविन गर्न बनाईएका समितिका प्रतिवेदनहरू राज्यका निकायहरूले कार्यान्वयनमा ल्याउनै सकेका छैनन् ।’ चालक र स्वयम यात्रुले पनि ट्राफिक नियम पालना नगर्दा बढी दुर्घटना बढ्नेगरेको उनको अनुभव छ ।
विगतका सडक दुर्घटनामा पनि छानविन समिति बनाउने र प्रतिवेदन तयारी गर्ने गरिएको गृहमन्त्रालयलका प्रवक्ता आनन्द काफलेले बताए । दुर्घटनापश्चत बनाईने छानविन समितिबाट आएका सुझावका आधारमा ऐन संशोधनको तयारी भइरहेको उनको भनाई छ । ‘पूर्वाधार विकास मन्त्रालयमार्फत सवारीसम्बन्धी ऐन संशोधनको प्रक्रियामा रहेको छ,’ उनले मध्यान्हसँग भने, ‘कानुनको मस्यौदा ड्रफ्ट गर्दा विभिन्न समितिले दिएका प्रतिवेदनमा उल्लेखित सुझावलाई समेट्ने काम भएका छन् ।’
काठमाडौं उपत्यका ट्राफिक प्रहरीले तीव्र गति र मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउँदा बढी दुर्घटना हुने गरेको दाबी छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरीप्रमुख प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) सुरेश प्रसाद काफ्ले तीव्र गति र मादक पदार्थ सेवन गरेर सवारी चलाउदा बढी दुर्घटना हुनेगरेको बताउँछन् । त्यस्तै सडक र सवारीको अवस्थाका कारण पनि दुर्घटना हुने उनको कर्त छ । ‘चालक र यात्रु दुवैले हतार गर्ने समस्या रहेको छ,’ उनले भने, ‘चालकको लापरबाहीसँगै सडकको कमजोर अवस्था, सवारीको प्राविधिक जाँच नगरिनु दुर्घटनाका मुख्य कारण हुन् ।’ ट्राफिक प्रहरीले पछिल्लो समय सडक र सवारी दुर्घटनासम्बन्धी नियमिचत सचेतना तथा चेक जाँच र कारबाहीलाई पछिल्लो समय कडा पारिएको उनले बताए ।
चाडपर्वको मुखैमा घर जानेको संख्या धेरै हुने भएकाले दुर्घटनाको खतरा बढी हुने गरेको नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेलको दाबी छ । यस्तो अवस्थामा ट्राफिक प्रहरी, यातायात कार्यालय र सडक विभागले बढी ध्यान दिनुपर्ने उनको सुझाव छ । ‘दुर्घटना बढी हुने समय र स्थानमा ट्राफिक प्रहरी, सडक विभाग र यातायात क्षेत्रका अधिकारीहरूले बढी चेकजाँचको व्यवस्था मिलाउनुपर्छ,’ उनले मध्यान्हसँग भने, ‘नियम उल्लंघनकर्तालाई कारबाही गर्ने देखि यातायातसम्बन्धी ऐन–कानुन सुधार गरेर यातायात सम्बन्धी कडा कानुनी व्यवस्था ल्याउनुपर्छ ।’ सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १०४ मा लामो दूरीमा यातायात सेवा सञ्चालन गर्ने यात्रुवाहक सार्वजनिक सवारीसाधनमा कम्तीमा दुई चालक अनिवार्य रूपमा राख्नुपर्ने र प्रत्येक ६ घण्टापछि पालो फेरेर सवारीसाधन चलाउनुपर्ने उल्लेख छ । तर यो व्यवस्था कार्यान्वयनमा छैन । निगरानी गर्ने निकायले पनि चासो नदिदा सवारी दुर्घटना न्यूनिकरण हुन नसकेको विज्ञहरूले बताएका छन् ।