
कपिलवस्तु : कपिलवस्तुको शिवराज नगरपालिका–१ स्थित चोरखोला पुलमा बस र ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
शुक्रबार बिहान पूर्व–पश्चिम राजमार्गमा काठमाडौंबाट बर्दिया जाँदै गरेको लु.प्र.०३–००१ ख ००९९ नम्बरको बस र ना.६ ख ३३३३ नम्बरको मालबाहक ट्रक ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा बस चालक बाँके खजुरा गाउँपालिका–५ निवासी ३४ वर्षीय सुमन खत्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ट्रकले सोही दिशामा अघि गइरहेको टिप्परलाई ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आइरहेको बससँग ठक्कर खाएको हो ।
दुर्घटनामा ११ जना यात्रु घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि चन्द्रौटा लगिएको छ र अधिकांशको अवस्था सामान्य रहेको जनाइएको छ ।
घटनापछि चन्द्रौटा प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलको टोली तत्काल घटनास्थल पुगेर उद्धार तथा व्यवस्थापन कार्यमा खटिएको थियो । दुर्घटनाका कारण चोरखोला पुलमा सडक पूर्ण रूपमा अवरुद्ध हुँदा दुवैतर्फ करिब ४ किलोमिटर लामो सवारी जाम लागेको थियो ।
प्रहरीले ट्रक चालक रुपेश धिमाल र टिप्पर चालक संजयकुमार चौधरीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।