गोरखा : पूर्वराजा ज्ञानेन्द्र शाह गणतन्त्र स्थापनापछि पहिलोपटक पुख्र्यौली थलो गोरखा पुगेका छन् ।
शनिबार गोरखामा शाहले गोरखकाली र गोरखनाथ मन्दिरमा पूजाअर्चना गरेका छन् । शाहवंशीय राजाहरुले कुलदेवताका रूपमा पुज्दै आएको गोरखकाली मन्दिरमा पूर्वराजा शाहले झन्डै २ घण्टा बिताए ।
गोरखकाली र गोरखनाथ मन्दिरमा पूजाअर्चना गर्दै शाहले भूकम्पपछि पुनर्निर्माण भएको गोरखा दरबारको पनि अवलोकन गरे ।
त्यस क्रममा पूर्वराजाका समर्थकहरू राजसंस्थाका पक्षमा नारा पनि लगाएका थिए । उनीहरूले आबुखैरेनीदेखि गोरखा दरबारसम्म मोटरसाइकल ¥याली पनि गरेका थिए ।
शाहलाई गोरखा भ्रमणको व्यवस्थापनका लागि नागरिक समाज गठन गरिएको थियो । समाजका सहसंयोजक होम सिं बस्नेतले शाहवंशीय राजाको कुलदेवता गोरखकाली रहेको बताउँदै गोरखकाली, गोरखनाथ र वज्रभैरवको पूजाका लागि पूर्वराजा आउनुभएको बताए ।
शाहले आइतबार मनकामना मन्दिरको पूजाअर्चना गर्ने कार्यक्रम छ ।