२०८३ असोज २३ गते शुक्रवार / Oct 09 , 2026 , Friday
२०८३ असोज २३ गते शुक्रवार

सामूहिक कृषि खेतीबाट लाखौं आम्दानी

Nada
सूर्यप्रसाद भुसाल
२०८१ चैत १० गते २१:०९
Shares
सामूहिक कृषि खेतीबाट लाखौं आम्दानी

अर्घाखाँची : अर्घाखाँची  सन्धिखर्क नगरपालिका १ र २ मा स्मार्ट कृषि कार्यक्रम लागूभएपछि यहाँका  किसानहरु सामुहिक  व्यावसायिक तरकारी खेतीमा लागेका छन् ।

ncell

सन्धिखर्क बजार नजिक रहेको  कुडूले फाँट, वृति फाँट, सुक्मी फाँटका किसान अहिले परम्परागत खेती छाडेर मौसमी तथा बेमौसमी तरकारी  टमाटर, गोभी, आलु, साग, च्याउ लगायतका तरकारी  खेतीतर्फ आकर्षित भएका हुन् । लुम्बिनी प्रदेश सरकारले स्मार्ट कृषि गाउँ कार्यक्रम लागू गरेपछि यस क्षेत्रका किसान पनि आधुनिक तथा प्रविधिमैत्री तरिकाले तरकारी खेतीमा लागेको कृषि ज्ञान केन्द्रका प्रमुख बुद्धिराज घिमिरेले जानकारी दिए ।

आर्थिक वर्ष २०७६/७७ देखि लागू भएको स्मार्ट कृषि गाउँ कार्यक्रमबाट यस क्षेत्रका ५६ जना किसान तरकारी खेतीमा लागेका सन्धिखर्क स्मार्ट कृषि गाउँ कार्यसमितिका अध्यक्ष दिपक नेपालीले बताए । उनले ५६ जनामध्ये २६ जना किसान व्यावसायिक कृषि पेसामा लागेर मनग्ये आम्दानी गर्न सफल भएको  बताए ।  किसानको मागका आधारमा किसानलाई बीउ, मल तथा अत्याधुनिक उपकरणसमेत उपलब्ध गराउने  गरेको अध्यक्ष नेपालीको भनाइ छ । अध्यक्ष नेपालीले आफुले यो कार्यक्रम लागू गर्न भन्दा पहिला आफू व्यवसायीक कृषक नभएको आम्दानी समेत खासै नभएको र हाल यो कार्यक्रम लागू भएपछि व्यवसायीक कृषक बनेकाले आम्दानीको श्रोत समेत वृद्वि भएको बताए । 

कृषक बिष्णुप्रसाद पौडेल, रोम घर्ती मगर, अम्मर श्रेष्ठ लगायत सन्धिखर्कमा आएर अहिले व्यवसायिक कृषि गरी राम्रो आम्दानी गर्ने गरेका छन् । सन्धिखर्क बजारदेखि नजिक रहेको खेतीयोग्य फाँटमा अहिले किसानले धमाधम कृषि खेती गरिरहेका छन् । त्यहाँका २६ जना किसानले ३० रोपनीमा सामुहिक व्यवसायिक कृषि खेती गरिरहेका छन् ।

सामुहिक कृषि खेतीको आम्दानीबाट छोराछोरीलाई बुटवल, काठमाडौं लगायतका शहरमा अध्ययन गराउन सहज भएको कृषक गुना श्रेष्ठले बताए । कृषकलाई  व्यवसायीक कृर्षी खेतीतर्फ लागेको जागरुक गराउनको लागि  व्यवसायीक  तरकारी खेतीलाई आधुनिकीकरण र व्यावसायिक बनाउन स्मार्ट कृषि गाउँ कार्यक्रमले आफूहरुलाई सहयोग गरेको किसान रोम घर्ती मगरले  बताए ।  
किसानले उत्पादन गरेको तरकारी बिक्रीका लागि पनि कुनै समस्या नभएको किसान नारायण भुसालले बताए । बजार नजिक भएकाले पनि उत्पादित तरकारी सन्धिखर्क र चुत्राबेँसी तथा शुक्रबारे हाट बजारमा बिक्री हुने गरेको छ । आधुनिक प्रविधिको प्रयोग गरी तरकारी खेती गर्दा उत्पादनमा वृद्धि भएको र समयको पनि बचत भएको किसान गोपाल नेपालीले बताए । आधुनिक प्रविधिबाट किसानलाई व्यावसायिक बनाउन र कम लागतमा बढी उत्पादन गरी आयआर्जन वृद्धि गर्ने उद्देश्यले स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन भएको कृषि ज्ञान केन्द्रका प्रमुख बुद्धिराज घिमिरेले बताए ।
 

ताजा खबर

सम्बन्धित खबर