अर्घाखाँची : अर्घाखाँची सन्धिखर्क नगरपालिका १ र २ मा स्मार्ट कृषि कार्यक्रम लागूभएपछि यहाँका किसानहरु सामुहिक व्यावसायिक तरकारी खेतीमा लागेका छन् ।
सन्धिखर्क बजार नजिक रहेको कुडूले फाँट, वृति फाँट, सुक्मी फाँटका किसान अहिले परम्परागत खेती छाडेर मौसमी तथा बेमौसमी तरकारी टमाटर, गोभी, आलु, साग, च्याउ लगायतका तरकारी खेतीतर्फ आकर्षित भएका हुन् । लुम्बिनी प्रदेश सरकारले स्मार्ट कृषि गाउँ कार्यक्रम लागू गरेपछि यस क्षेत्रका किसान पनि आधुनिक तथा प्रविधिमैत्री तरिकाले तरकारी खेतीमा लागेको कृषि ज्ञान केन्द्रका प्रमुख बुद्धिराज घिमिरेले जानकारी दिए ।
आर्थिक वर्ष २०७६/७७ देखि लागू भएको स्मार्ट कृषि गाउँ कार्यक्रमबाट यस क्षेत्रका ५६ जना किसान तरकारी खेतीमा लागेका सन्धिखर्क स्मार्ट कृषि गाउँ कार्यसमितिका अध्यक्ष दिपक नेपालीले बताए । उनले ५६ जनामध्ये २६ जना किसान व्यावसायिक कृषि पेसामा लागेर मनग्ये आम्दानी गर्न सफल भएको बताए । किसानको मागका आधारमा किसानलाई बीउ, मल तथा अत्याधुनिक उपकरणसमेत उपलब्ध गराउने गरेको अध्यक्ष नेपालीको भनाइ छ । अध्यक्ष नेपालीले आफुले यो कार्यक्रम लागू गर्न भन्दा पहिला आफू व्यवसायीक कृषक नभएको आम्दानी समेत खासै नभएको र हाल यो कार्यक्रम लागू भएपछि व्यवसायीक कृषक बनेकाले आम्दानीको श्रोत समेत वृद्वि भएको बताए ।
कृषक बिष्णुप्रसाद पौडेल, रोम घर्ती मगर, अम्मर श्रेष्ठ लगायत सन्धिखर्कमा आएर अहिले व्यवसायिक कृषि गरी राम्रो आम्दानी गर्ने गरेका छन् । सन्धिखर्क बजारदेखि नजिक रहेको खेतीयोग्य फाँटमा अहिले किसानले धमाधम कृषि खेती गरिरहेका छन् । त्यहाँका २६ जना किसानले ३० रोपनीमा सामुहिक व्यवसायिक कृषि खेती गरिरहेका छन् ।
सामुहिक कृषि खेतीको आम्दानीबाट छोराछोरीलाई बुटवल, काठमाडौं लगायतका शहरमा अध्ययन गराउन सहज भएको कृषक गुना श्रेष्ठले बताए । कृषकलाई व्यवसायीक कृर्षी खेतीतर्फ लागेको जागरुक गराउनको लागि व्यवसायीक तरकारी खेतीलाई आधुनिकीकरण र व्यावसायिक बनाउन स्मार्ट कृषि गाउँ कार्यक्रमले आफूहरुलाई सहयोग गरेको किसान रोम घर्ती मगरले बताए ।
किसानले उत्पादन गरेको तरकारी बिक्रीका लागि पनि कुनै समस्या नभएको किसान नारायण भुसालले बताए । बजार नजिक भएकाले पनि उत्पादित तरकारी सन्धिखर्क र चुत्राबेँसी तथा शुक्रबारे हाट बजारमा बिक्री हुने गरेको छ । आधुनिक प्रविधिको प्रयोग गरी तरकारी खेती गर्दा उत्पादनमा वृद्धि भएको र समयको पनि बचत भएको किसान गोपाल नेपालीले बताए । आधुनिक प्रविधिबाट किसानलाई व्यावसायिक बनाउन र कम लागतमा बढी उत्पादन गरी आयआर्जन वृद्धि गर्ने उद्देश्यले स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन भएको कृषि ज्ञान केन्द्रका प्रमुख बुद्धिराज घिमिरेले बताए ।