– सञ्जु दाहाल
चीनको सांस्कृतिक क्रान्तिको सफलतापछि चीनले सम्पूर्ण सामन्तवादी अवशेषलाई अन्त्य गरी गणतान्त्रिक समाजवादी प्रणाली स्थापना ग¥यो । यसै प्रणालीमार्फत चीन आज विश्वको एक समुन्नत राष्ट्र हुन सफल भएको छ । चीनले पनि ऐतिहासिक रूपमा धेरै प्रकारका राजतन्त्रात्मक प्रणालीको लामो अनुभव सँगालेको छ । नेपालमा राजसंस्थासहितको व्यवस्था ठीक कि गणतन्त्र ठीक भन्ने विषयमा बहस हुँदा चीनको अनुभव महत्त्वपूर्ण हुन सक्छ ।
व्यवस्था आफैंमा कुनै ठीक या बेठीक भन्ने हुँदैन । मुख्यगरी नेतृत्वको विषय महत्त्वपूर्ण हुन जान्छ । ‘राइट म्यान इन राइट प्लेस’को अवधारणालाई व्यवस्थासँग जोडेर हेरिनुपर्छ । तर, नेपालमा विधिको शासन स्थापना हुन सकेको छैन । नीतिगत भ्रष्टाचार तीव्र रूपमा बढेको छ, जसले जनतामा ठूलो वितृष्णा पैदा गराएको छ । नेपालमा देश र जनताभन्दा सत्ता ठूलो मान्ने राजनीतिक परिपाटी पनि जबरजस्त देखिन्छ ।
नेपालको राजतन्त्रप्रति चीनले ऐतिहासिक, सामाजिक र सांस्कृतिक दृष्टिकोणले अध्ययन गर्दै विचारधारात्मक मत भिन्नता राख्छ । नेपालमा जस्तै चीनले पनि धेरै राजवंशहरूको इतिहास अनुभव गरेको छ । धेरै प्रकृतिका पाठ पनि सिकेको छ । ती सबै राम्रा पाठहरू सँगालेर, विशाल चीनको सबै क्षेत्रको भूगोल, इतिहास, दर्शन, संस्कृति र सभ्यता अध्ययन गरेर चीनको माटो सुहाउँदो चिनियाँ मोडेलको गणतान्त्रिक समाजवाद स्थापना गरेको हो ।
चीनका जनता आफ्नो व्यवस्थामाथि ठूलो विश्वास राख्छन् । इतिहासको राजतन्त्रप्रति उनीहरूको विश्वास छैन । चीनको भन्दा नेपालका भूगोल, संस्कृति, धर्म, इतिहास, दर्शन इत्यादि सबै फरक छन् । ऐतिहासिक धरातल नै फरक छ । त्यसैले, नेपालमा संवैधानिक राजतन्त्र कि गणतन्त्र कुन राम्रो हो भन्ने विषय नितान्त नेपालको आन्तरिक मामिला हो ।
चीनमा दुवै पद्धतिका बारेमा चर्चा परिचर्चा हुने गरे पनि चीन यो मामिलामा पूर्णतः तटस्थ रहन्छ, रहँदै आएको छ । चिनियाँ सरकारले सधैं ‘आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने’ सिद्धान्तलाई अनुसरण गर्छ । प्रत्येक देशको आन्तरिक स्वतन्त्रतालाई सम्मान गर्छ । यद्यपि, नेपालले राजतन्त्र पुनस्र्थापना गर्ने कि नगर्ने भन्ने विषयमा चिनियाँ अधिकारीहरूले सतर्कता अपनाएका छन् ।
नेपाली नेता जस्तो मनलागी बोल्दैनन् । सोचेर नेपालको स्थिरता तथा सार्वभौम स्वतन्त्रतालाई समर्थन गर्ने कुरामा जोड दिएका छन् । सधैं नेपालको उन्नति र प्रगतिको कामना गर्ने गरेका छन् ।
नेपालमा राजतन्त्र पुनस्र्थापनाबारे चलिरहेको छलफल केही धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पारस्परिक शक्तिहरूमा केन्द्रित छ । संवैधानिक राजतन्त्रको मुख्य धारको जनमत बढ्दै गएको छ । यद्यपि, यस विषयमा चिनियाँ जनताको ‘अपेक्षा’ नेपालले स्वतन्त्र रूपमा निर्णय लिने अधिकारप्रति सम्मानमा बढी केन्द्रित छ न कि स्पष्ट रूपमा समर्थन वा विरोधमा ।
यदि राजतन्त्र पुनस्र्थापना वैध प्रक्रियामार्फत सम्भव हुन्छ र यसले अस्थिरता निम्त्याउँदैन भने बहुसंख्यकले यसलाई स्वीकार्न सक्छन् भने चीनले यसलाई स्वागत गर्छ । क्षेत्रीय स्थिरतामा पार्ने प्रभावप्रति भने चीन गम्भीर चनाखो छ ।
चिनियाँ नागरिकलाई नेपालको राजनीतिक प्रणालीमा धेरै रुचि छैन । केहीले मिडियाको रिपोर्टिङमार्फत यी मुद्दाहरूमा चासो राख्ने गरेका छन् । यद्यपि, अधिकांश जनता द्विपक्षीय आर्थिक सहयोग (जस्तै ः बेल्ट एन्ड रोड इनिसिएटिभ र सीमावर्ती क्षेत्रको स्थिरता)प्रति बढी सरोकार राख्छन् । केही इतिहासप्रेमी वा सांस्कृतिक शोधकर्ताहरूले राजतन्त्रप्रति आदर्शात्मक दृष्टिकोण पनि राख्ने गरेका छन् ।
चिनियाँ जनताले नेपालको आन्तरिक राजनीतिलाई बुझ्न मुख्य रूपमा सरकारी मिडियामा निर्भर गर्छन् । मिडिया रिपोर्टिङ प्रायः द्विपक्षीय मित्रता र सहयोगमा केन्द्रित हुन्छ, नेपालको राजनीतिक संघर्ष वा संस्थागत विवादको गहिरो विश्लेषण हुँदैन । यसले गर्दा आमजनतामा राजतन्त्र पुनस्र्थापनाको विशेष छलफलबारे गहिरो बुझाइ नभई यसलाई नेपालको स्वायत्तताको मुद्दाका रूपमा हेर्ने प्रवृत्ति रहेको छ भन्ने धेरैको बुझाइ छ । परम्परागत संस्कृतिप्रति रुचि राख्ने केही समूहहरूले नेपालको अनौठो सांस्कृतिक सम्पदाको संरक्षणमा राजतन्त्रका प्रतीकहरूको ऐतिहासिक निरन्तरतालाई योगदान दिने रूपमा बुझेका छन् ।
त्यस्तै, अन्तर्राष्ट्रिय राजनीतिप्रति चासो राख्ने केही इन्टरनेट प्रयोगकर्ताहरूले भू–राजनीतिक सन्तुलनको दृष्टिकोणबाट हेर्दा राजतन्त्रले नेपालमा भारतको प्रभाव घटाउन सक्छ भन्ने तर्क पनि गर्छन् । चिनियाँ दृष्टिकोणमा आर्थिक कूटनीतिको युगमा अस्थिर राजनीतिक गफ गरेर खेर फाल्ने समय छैन । उनीहरू उत्पादन र विकासमा नै केन्द्रित छन् । चिनियाँ नागरिकहरू अत्यन्तै उद्यमशील छन् ।
नेपालमा धेरै राजनीतिक परिवर्तन भए । यो विकास र समृद्धिको युग हो । प्रेम, स्थिरता र सहकार्यको समय हो । नयाँ विकास र नवप्रवर्तनको युग हो । चीनको चाहना नेपालले सही आर्थिक विकासको रणनीति अंगीकार गरोस् भन्ने नै हो ।
नेपालको भौगोलिक अवस्थिति चीनका लागि अत्यन्त महत्त्वपूर्ण छ । भारत र अमेरिकाको गतिविधि नेपालबाट पनि अनुगमन हुने गरेको छ । नेपालको राजनीतिक अस्थिरताले क्षेत्रीय सुरक्षामा प्रत्यक्ष असर पार्छ, जसलाई केलाउँदै चीन नेपालमा सामाजिक स्थिरता रहोस् भन्ने चाहन्छ ।
राजनीतिक प्रणाली परिवर्तनका कारण उत्पन्न हुने अशान्तिले चीन–नेपाल पूर्वाधार विकास र व्यापारमा असर पु¥याउन सक्छ । त्यस कारण, नेपालले जुनसुकै शासन प्रणाली अपनाए पनि जबसम्म त्यसले द्विपक्षीय सम्बन्धलाई हानी पु¥याउँदैन, तबसम्म अधिकांश चिनियाँहरू यसप्रति खुल्ला रहने छन् ।
समग्रमा, नेपालको राजतन्त्रबारे चिनियाँ समाज व्यावहारिक छ । चीनको मूल चासो चीन–नेपालको मैत्रीपूर्ण सम्बन्ध र क्षेत्रीय सन्तुलन जोगाउनेतर्फ केन्द्रित छ । नेपालको राजनीतिक प्रणाली चीनका लागि धेरै चासोको विषय होइन । सार्वभौम नेपालीको स्वतन्त्रताको निर्णय गर्ने सम्पूर्ण अधिकार नेपाली जनतामै निहित छ । चीनको विदेश नीतिअनुरूप चीनले कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्न मिल्दैन । नेपाल चीन व्यापार, उद्यमशीलता, आर्थिक, सामाजिक सहयोग तथा पूर्वाधार निर्माणमा निरन्तर सहयोग हुन्छ ।
यद्यपि, नेपालमा देखिएको भ्रष्टाचार र विधिको शासनको कमीले जनतामा वितृष्णा जागेको चिनियाँ जनताले पनि अनुभव गरेका छन् । राजनीतिक सुझबुझ र सतर्कता जरुरी भएको चिनियाँहरूको धारणा रहेको उक्त मिडियाको निचोड छ ।