२०८२ असोज २७ गते सोमवार / Oct 13 , 2025 , Monday
२०८२ असोज २७ गते सोमवार
Ads

'तिहारमा फूल बिक्री नहुने हो की भन्ने चिन्तामा छौं, रातारात भारतबाट फूल नआओस्'

shivam cement
२०८२ असोज २६ गते ०६:२५
'तिहारमा फूल बिक्री नहुने हो की भन्ने चिन्तामा छौं, रातारात भारतबाट फूल नआओस्'

तिहार आउन एक साता मात्र छ । तिहारलाई फूलको पर्वको रूपमा पनि लिइन्छ । तिहारकै लागि लक्षित गरेर कैँयन किसानहरूले फूल खेती गर्ने गर्छन् । साथै, तिहार लक्षित फूलको व्यवसाय पनि राम्रो हुने गरेको छ । पछिल्लो समयमा फूलको व्यवसायमा नेपाल आत्मनिर्भर हुँदै गएको छ ।

तर, पछिल्लो समयमा देशमा भएको आन्दोलनले अन्य व्यवसायी जस्तै नर्सरी व्यवसायी समेत निराश बन्न पुगेका छन् । तर, निराशालाई आशामा बदल्नको लागि भन्दै नर्सरी व्यवसाय गरेर फूलखेतीलाई विस्तार गर्दै आएको नर्सरी व्यवसायी संघले काठमाडौंको भृकुटीमण्डप असोज २८ देखि कार्तिक १ गतेसम्म पाँच दिन तिहारको उत्सव, फूलको महोत्सव गर्दै छ । प्रस्तुत छ, सोही अवसरमा संघका अध्यक्ष राजजी तिमिल्सिनासँग मध्यान्हका छबि सापकोटाले गरेको कुराकानी । 

नर्सरी व्यवसायीको अवस्था कस्तो छ ?

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले व्यवसायीदेखि उपभोक्ता समेतलाई असर गरेको छ । जेनजी आन्दोलनको प्रभावका कारण तिहारको लागि भनेर उत्पादन गरिएका फूलहरू कम बिक्री हुने हो की भन्ने चिन्तामा व्यवसायीहरू छौं । अहिले तिहार आउँदै गर्दा समेत बजारमा उत्साह छैन । आन्दोलनपछि नर्सरी व्यवसायमा समेत मन्दीको अवस्था सृजना भएको छ । यो बेला नर्सरीमा फूलहरूको किनमेल हुने सिजन हो तर, त्यति व्यापार छैन । 

लगानीको प्रतिफल प्राप्त गर्ने बेलामा भएको आन्दोलनले लगानी समेत उठाउन कठिन हुने हो की भन्ने चिन्ता सबै नर्सरी व्यवसायीमा छ । त्यसैले यो वर्ष हामीले व्यापार कमै हुने आंकलन गरेका छौैं । किनभने आम मानिसमा अहिलेपनि डर त्रास छ । भोलि के हुन्छ भन्ने त्रासले आम मनोविज्ञान कमजोर छ । 

हामीले पनि एक्स्पो गर्ने की नगर्ने भन्ने दोधारकै बीच कार्यक्रम गर्दै छौं । अझै पनि विभिन्न समूहले आन्दोलन गर्ने भनिरहेका छन् । यो तनावको बीचमा हामी मेला आयोजना गर्दैछौं । यस्तो बेलामा मेला प्रदर्शनी गरेर केही भएपनि नर्सरी व्यवसायी र पुष्प व्यवसाय गर्नेलाई केही प्रोत्साहन हुने अपेक्षासहित जोखिम मोलेर एक्स्पो गर्ने तयारीमा छौं ।

तिहार लक्षित बिक्री हुने फूल उत्पादनको अवस्था कस्तो छ ?

तिहारमा धेरै बिक्री हुने सयपत्री फूलको उत्पादन राम्रो छ । पछिल्लो समयमा पुष्पखेती गर्ने प्रचलन बढेको छ । तिहारकै लागि लक्षित गरेर देशैभर फूलखेती गर्नेको संख्या पनि बढेको छ । तर, यहाँ भारतीय फूल आएर किसानहरू सधैँ मारमा पर्ने गरेका छन् । तर, अहिले धेरै स्थानीय तहले भारतबाट आउने फूलमाथि प्रतिबन्ध लगाउने भनेका छन् त्यसले स्वदेशमै फूलखेती गरेका व्यवसायीलाई फाइदा हुन्छ । 

यो वर्ष विगतमा भन्दा सयपत्री फूल राम्रो फुलेको छ गोदावरी चाहिँ अलिकति कम छ । तिहारकै लागि भनेर गोदावरीको फूल चाहीँ अलिकति कम छ । अहिले रातारात भारतबाट फूल आएन भने व्यवसायीलाई फाइदा नभएपनि आफ्नो लगानी उठ्न सक्ने अवस्था छ । 

तिहारलाई लक्षित गरेर गर्न लागिएको फूल महोत्सवमा के–के प्रस्तुत हुँदैछ ?

नर्सरी व्यवसायको विकास र विस्तार गरी स्वच्छ वातावरण सहित आय र रोजगार प्रवर्धन गर्ने उद्देश्यसहित तिहारको उत्सव, फूलको महोत्सव गर्न लागिएको हो । असोज २८ देखि कार्तिक १ गते सम्म एक्स्पो सञ्चालन हुनेछ । 

नर्सरी र नर्सरी जन्य वस्तुको अत्याधिक परनिर्भरतालाई न्यूनीकरण गर्दै स्वदेशी उत्पादनको प्रयोग बढाउन यस विषम परिस्थितिमा हामीले एक्सपो गर्ने तयारी गरिरहेका छौं । एक्सपोमा नर्सरी व्यवसायीका ६० वटा भन्दा बढी स्टल हुनेछन् भने मल, औजार र अफिसियल स्टल गरी ७० वटा स्टल हुनेछन् । मेलामा ३५ हजार भन्दा बढीले अवलोकन गर्ने र ७० लाख भन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरेका छौं । 

अन्त्यमा, नर्सरी व्यवसायलाई विस्तार र प्रवर्धन गर्न के गर्न सकिन्छ ?

नेपाल नर्सरी व्यवसायको लागि उत्तम भूमि हो । नेपालमा पाइने हावापानी र भौगोलिक अवस्थाको कारण नर्सरी व्यवसायको लागि उपयुक्त क्षेत्रको रूपमा हेर्न सकिन्छ । नेपालीले नर्सरी व्यवसायीबाट राम्रो आम्दानी समेत गर्न सक्ने अवस्था छ । स्वदेशमा मात्र होइन बिदेशामा समेत नेपाली नर्सरीको बिरुवा निर्यात गर्न सक्ने अवस्था छ । 

हामीले अब कुन ठाउँमा कुन फूल हुन्छ भन्ने कुराको पहिचान गरेर व्यावसायिक खेती गर्नुपर्छ । राजनीतिक अस्थिरताको कारण पुष्प व्यवसाय फस्टाउन सकिको छैन । स्थायी सरकार जबसम्म आउँदैन पुष्प व्यवसायको लागि नीतिगत समस्या आइरहने अवस्था छ ।

नेपालमा सधैँ यो वा त्यो बहानामा अन्यौलता हुँदाखेरी नर्सरी व्यवसायीको मनोबल एकदम घटेको छ । किनभने उत्पादन गर्नलाई अलि ठूलो लगानी गर्नुपर्ने हुन्छ । त्यसमा सरकारबाट केही सहयोग होस्, तर सरकारको अस्थिरताले उत्पादनमूखी नीति सुधार हुन सकेको छैन ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise