सिंहदरबार बनाउन पुनर्निर्माण कोष बनेछ, सहयोगको हात थापिएछ, क्युआर कोड दिइएछ । तर, वाहियात कुरो हो यो । आवश्यक छैन । जनता निचोरिकाले ढलेको हो त्यो । फेरि जनता निचोरेर उठाउने कसरी ? दरबार उठाउँदा जनतामा तरबार वर्षन्न, यो के ग्यारेण्टी छ ? हिजोका शासकले आजको जस्तो आलिशान महल बनाएनन्, खोजेनन्, सेवा दिन दरबार होइन घरबार चाहिन्छ, करको मारमा परेका नेपाली आधाआधी बाहिर छन्, खाडीमा छन्, यहाँ उत्पादन छैन, सबै वस्तु आयात गरिन्छ, कर उठाउन र जनताको शोषण गर्नका लागि दरबार होइन टहरा नै पर्याप्त छ ।
जबसम्म एक नेपाली टहरामा बस्छ, एकसरो लाउन, खान र औषधिमूलो गर्न सक्दैन, त्यतिबेलासम्म दरबार आवश्यक छैन । जिडिपीको कति प्रतिशत कर छ अहिले ? त्यतिले पुगेन, कति ऋण छ अहिले ? त्यतिले पुगेन, अनुदान कति छ अहिले ? एक झुम्रो कपडाका लागि दसैँ पर्खनु पर्ने, एक जिब्रो मिठो खान दसैँ पर्खनु पर्ने, खाडीबाट बन्दी बाकस फर्कनु पर्ने नेपालीमाथि ऋणको भार, करको मार, महँगीको भार थपेर आलिशान महल आवश्यक होइन ।
लोभतन्त्रले आफ्नाहरूलाई बस्न, खान, जिमखाना सहितका भवनहरू दियो भैँसेपाटीमा, जनतालाई के दियो ? महँगी दियो, सिटामोल दिएन, बीमाको नाटक गर्दै दुःख दियो, दूध किसानको भुक्तानी दिएन, उखु किसानलाई मण्डेलामा थन्कायो, किसानलाई मल दिएन, निर्माण सामग्रीहरूको भुक्तानी दिएन, दियो भ्यूटावर, दियो घरघरमै राजाहरू । हिजो चप्पल लाउन नसक्ने र नजान्नेहरूलाई सिंहदरबार दियो, बालकोट दियो, बूढानीलकण्ठ दियो, खुमल्टार दियो र छोटे राजाहरूलाई ठूला भवन दियो । नेपालीहरूको कोदोबारीमा विदेशी शैलिका महल दियो, जनतालाई उल्लू बनायो, गरिब बनायो, बेच्यो, निर्यात गर्यो, विदेशी सरसामान आयात गरेर महल ठड्यायो, नेपाली शैलिका घर दिएन, नेपाली काठ प्रयोग गरेन, नेपाली कच्चा पदार्थ प्रयोग गरेन, हिजोको इँट कारखाना खायो, जुत्ता कारखाना, पेपर मिल निल्ने लोभतन्त्रले चुरेको माटो बेच्यो, ढुंगा निर्यात गर्यो, बालुवा निकासी गरेर वनका काठमा आगो लगाएर दन्दनी जंगलमा आगजनी गराएर चूप हेरी बस्यो र सिंहदरबार जल्दा संकटकाल लगाएर श्री ४ हरूसँग राजीनामा मागी शासन सत्तालाई नयाँ पुस्तामा दिन सकेन ।
२३ गतेको मध्यरातमा समेत के–के थरीका संघ–संगठनहरूलाई सडक कब्जा गराउन आदेश दिँदै थियो । आम जनता जेहाद छोडेर भोलि बिहानै सडक जम्मा हुने खबर पाएको सत्ताले तिनका विरुद्ध सडक कब्जा गर्ने रणनीति बुन्दै थियो, त्यो पनि सरकारी आलिशान भवन बालुवाटारमा बसेर । अन्ततः १२ घण्टाभित्र आफूले हेलिकप्टर मगाएर भाग्नु पर्ने अवस्था सिर्जना भयो । सत्ता दोहनको चरम सीमा नाघेर मात्र जनता सडकमा ओइरिएका हुन्, कसैले तिनमाथि प्रतिकार गर्ने क्षमता राख्ने अवस्था थिएन ।
‘अति सर्वत्र वर्जयेत्’ घैँटामा घाम पटक्कै नलागेपछि भाग्नु परेको हो । अघि पनि थुप्रै संकेत थिए, सच्चिने कि सकिने भनेर ।
५० साल अघिसम्म सिंहदरबार मूल पश्चिम गेटबाटैभित्र ओहोर–दोहोर गर्न सकिन्थ्यो, पैदल, साइकल बा हुनेले अरु सवारी प्रयोग गर्थे, तीनतिर सेनाको व्यारेक पनि थियो, लोभतन्त्रले सेनाको व्यारेक हटायो । विस्तारै लोभतन्त्रले आफ्नो दायरा बढाउँदै आयो र प्रवेशमा धेरै कडाइ गर्न थाल्यो, आफू बालुवाटार बसेर सत्ता हाँक दिने, जनता सिंहदरबार छिर्न नसक्ने वातावरण यही लोभतन्त्रले त गरेको थियो, दक्षिण गेट प्रयोग हुन थाल्दा पनि भित्रबाट स्वीकृति नलिई जान नपाइने गरियो, बाटो धेरै घुमाउरो भयो, सबैमा त्यो पनि पहुँच थिएन, आफन्त आएको सुइँको पाउनासाथ प्रवेश पास दिइने र निमुखालाई त्यो दरबार टाढाको विषय बन्यो ।
देशको इतिहास मेटिने गरी भग्नावशेषमा अहिले सिंहदरबारलाई पुर्याउने श्रेय यही लोभतन्त्र र यसलाई चलाउने अनुभवहीन राजनीतिकर्मीहरूले लिनुपर्छ । नसक्ने भएपछि समयमै सत्ता छोडेर देशको जिम्मा अरूलाई दिनु पर्ने थियो । वृद्धाश्रम जाने बाआल अब सत्तामोहमा नपरोस् भनी हामीले हजारौँ आलेखहरूबाट भनेका थियौँ, तर लिँडेढिपीका कारण आफू ढलेनन् मात्रै, देशलाई पनि ढलाए । अब फेरि दरबार उठाउन जनता पैसा तिर्न राजी छैनन्, सुका मोहरले त्यो काम सम्भव पनि छैन ।
भूकम्प २०७२ले नै त्रिपालमुनि बसेर सेवा दिनू भनेकै हो, घाँटी निमोठेर कर लिइयो, विदेशीले पैसाको ओइरो लाए भन्दैमा लिनु नहुने थियो, प्रभाव पर्छ, जसको जूठो खायो, उसको गुलामी बनिन्छ । लिपुलेक लिन नसक्ने, एमसीसी हुँदैन भन्न नसक्ने, सीमाना मा सुरक्षाकर्मी राख्न नसक्ने लोभतन्त्रले आफ्नै सुरक्षा दस्ता बढायो, औषधि गर्ने भन्दै अर्बौँ रकम निल्यो, जनतालाई भेडा बनायो, उल्लू बनायो, खेतबारीमा डोजर पेल्यो, वनभित्र डोजर घुसायो ।
नेपाली शैलिका घर, टहराहरू निर्माण गरेर सेवा दिन सकिन्थ्यो, आलिशान महल हुँदै होइन, लिफ्ट चढ्ने व्यापारी मल नेपालीको योग्यता होइन, सेवा लिन जाँदा ९ तलाको भर्याङ चढेर ओहोर–दोहोर गर्ने नेपाली क्षमता होइन । त्रिशूलीको बाटो पहिरो जाँदा काठमाडौंको सास रोकिने देशमा हजारौँ राजा उत्पादन गरेर संघीयता लादियो, दोहोरो काम यत्रतत्र, जनता अल्मलिए र सबैले राजनीति गर्न लागे, विना लगानीको उद्योग सजिलो भयो । भवनको विकास, विकास होइन, चेतनाको विकास नै भएन, नागरिक स्वतन्त्रता भनियो, सर्वत्र छाडा भयो ।
मान्छे बेच्ने व्यक्तिलाई विदेशीले डिपोर्ट गर्दा होइन भनियो, सार्वजनिक जग्गा कतै बाँकी रहेन, नदीनालाहरूले आक्रान्त भई पानी होइन, रगतको आँसु बगाए, क्षतविक्षत मन लिएर खाडीमा भेडाको भुत्ला उखेल्न नेपालीहरूलाई पठाउने लोकतन्त्रले यहाँ रोजगारी दिएन, सिप दिएन, सिर्जना दिएन, दियो केवल कुशासन, भ्रष्टाचार र आफन्तलाई आलिशान महलहरू मात्र ।
आज सिंहदरबार नेपालीको सान ढाल्ने लोभतन्त्रले हिजो महाकालीको सान राखेन, जबर्जस्त सिंहदरबारबाटै सुम्पियो, ढल्नु पर्ने हिजै थियो । जसरी टनकपुर सन्धिमा लोभतन्त्रको नेतृत्व गर्ने माउ संसद भवनमै ढलेर शिक्षण अस्पताल दौडाउनु परेको थियो, यी आँखाहरू प्रत्यक्ष साक्षी छन् । हिजोको तेह्र, पन्ध्र, सत्र, अठाइस, बत्तीस, छत्तीस, बयालीस, छयालीस, बाउन्न, बैसठी, बहत्तर साल र आजको भाद्र तेइस–चोबीसका पनि ।