अर्घाखाँची : अर्घाखाँचीको शितगंगा नगरपालिका–२ सितापुर भुवनपाटामा बस दुर्घटना हुँदा ४ जनाको घटनास्थलमा मृत्यु भएको छ भने २७ जना घाईते भएका छन् । घाईते मध्ये पाँच जनाको अवस्था गम्भिर रहेको ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक रविन्द्र चन्दले जानकारी दिए ।
बस नवलपरासीको बर्दघाटबाट अर्घाखाँचीमा धार्मिक भ्रमणका लागि आएको थियो । गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डमा सुपा मन्दिर दर्शन गरी नवलपरासीका लागि फिर्ता हुँदै गरेको लु २ ख ३०३ नं को बस बस अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका निमित्त कार्यलय प्रमुख बिष्णुप्रसाद पौडेलले जानकारी दिए ।
दुर्घटनामा परि नवलपरासी पश्चिम भुमहिकी ४५ वर्षीय उमा न्यौपाने, रुपन्देहीकी ५५ वर्षीय जमुना बस्याल, नवलपरासी वर्दघाटका ४५ वर्षीय सवारी चालक मदन कुमार विक र एक जना नाम थर नखुलेकी महिलाको ज्यान गएको निमित्त प्रहरी प्रमुख पौडेलले बताए ।
उद्दारपछी घाईतेहरुलाई उपचारका लागी प्राथमिक स्वास्थ्य केन्द्र ठाडा र लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाईएको शितगंगा–२ का वडाअध्यक्ष राम बहादुर गोर्खा क्षेत्रीले जानकारी दिए । घाइते मध्ये ५ जनाको अबस्था गम्भीर छ भने अन्य घाइते को अवस्था सामान्य रहेको प्रहरिले जनाएको छ ।