२०८२ वैशाख ३ गते बुधवार / Apr 16 , 2025 , Wednesday
२०८२ वैशाख ३ गते बुधवार
Ads

अर्घाखाँचीका किसानलाई मकै छर्ने चटारो

draupadi film
सुर्य प्रसाद भुसाल
२०८२ वैशाख २ गते २०:३२
अर्घाखाँचीका किसानलाई मकै छर्ने चटारो

अर्घाखाँची : लामो समयपछि आकासे पानी परेपछि अर्घाखाँचीका ६ स्थानीय तहका किसानलाई राहत भएको छ । 

सन्धिखर्क नगरपालिका  र आसपासका गाउँहरूका  खेतबारी पानीले लतक्क भिजेको छ । अहिले सो क्षेत्रका किसानलाई मकै छर्ने चटारो छ । 

सिँचाइको सुविधा नभएकाले सन्धिखर्क नगरपालिका, छत्रदेव गाउँपालिका, पाणिनी लगायतका धेरै ठाउँका  किसानहरु  मकै छर्न आकाशे पानी कुर्नुपर्ने अवस्था रहेको नरपानीका किसान भोजबहादुर बिष्टले बताए । 

गाउँ घरमा गोरुपाल्नेहरु त्यति छैनन् । मकै छर्न पनि गोरुको पालो पर्खनुपर्ने हुन्छ । सबैको भिरालो बारीमा ट्याक्टरले जोत्न सम्भव नभएको छत्रगन्जका किसान प्रेम आचार्यले बताए ।

गाउँभरिमा एक/दुई जनाले गोरु पालेका छन् । मकै छर्ने बेलामा जोत्नेको तानातान हुन्छ । गाउँ घरको सम्म बारीमा जोत्न ट्याक्टरको प्रयोग भएपनि मकै छर्न भने गोरुको प्रयोग हुने गरेको छ  । 

अर्घाखाँचीको  मुख्य बाली मकै हो । यहि मकै खेतीमा यहाँका किसानहरु आकर्षित छन् । मकैको प्रयोग गाईभैँसीका लागि कुँडोको रुपमा प्रयोग हुने गरेको छ । 

यस्तै यसको आँटो, पिठो, सातु, रोटी सबै बनाएर प्रयोग हुने गरेको छ । 

मकैको रोटी,सातु, उसिनेर, पोलेर खान सकिने एउटा बहुआयामिक खाद्यका रुपमा प्रयोग हुने भएकाले पनि मकै वास्तवमै अनिकालको खान्की भन्दा फरक नपर्ने सिद्दाराका किसान हिमलाल बेल्वासेले बताए । 

अर्घाखाँचीमा स्थानीय जातको पहेंलो मकै लगाउने चलन छ भने पछिल्लो चरणमा  स्थानीय सरकारको अनुरोधमा बढी फल्ने उन्नत जातको मकै पनि लगाउन थालिएको ढिकुराका किसान जीवन घिमिरेले बताए ।

वैशाखमा छरेको मकै साउने सक्रान्तिमा चढाएपछि पोलेर खान लायक हुन्छ र भदौमा त मकै थन्काउने काम हुन्छ । भदौताका एकसय पचास रुपैयाँ पाथी बिक्ने मकै चैत्र वैशाखमा दुई सय पचास रुपैयाँ पाथीसम्ममा बिक्री हुने गरेको धनचौरका किसान तेजुलाल भट्टराईले बताए ।

आजभोली मकैको आटो, सातु, पिठो, भुटेर खाने मकै शहरतिरका आफन्त कहाँ कोसेलीको रुपमा पनि  पठाउने गरिएको नरपानीका किसान प्रकाश महत्राले बताए ।

ADV

सम्बन्धित खबर

Advertise