अर्घाखाँची : अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वार्ड नम्बर १ र २ ढाकावाङमा कार्यक्षेत्र रहेको प्रगति कृषक सहकारी संस्थाले मौरीपालक किसानलाई मौरी सहित आवश्यक सामाग्री वितरण गरेको छ । मौरी पालक किसानहरूको व्यवसायलाई प्रोत्साहित गर्न र आर्थिक आयआर्जन वृद्धि गराउने उद्देश्यले सहकारीले मौरीपालक किसानलाई गोलासहित घार वितरण गरेको हो ।
बुधबार एक कार्यक्रमकाबीच भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापा, उपप्रमुख बालाकृष्ण बन्जाडे, प्रमुख प्रशासकीय अधिकृत जग्दिशचन्द्र नेपाली र सहकारीका अध्यक्ष भुवानन्द भुसालले कृषकहरूलाई मौरी सहित आवश्यक सामाग्री वितरण गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै भूमिकास्थान नगरपालिकाका नगरप्रमुुख झविलाल थापाले आधुनिक मौरीपालनमार्फत महको उत्पादन बढाउन र मौरी संरक्षण गर्न कृषकलाई आग्रह गरेका थिए । उनले व्यावसायिक रूपमा मौरीपालन गर्न किसानलाई प्रोत्साहन गरी आर्थिक विकासमा सहयोग पुगोस् भनेर सीमित स्रोतका बीचमा कृषकको ५० प्रतिशत र नगरपालिकाले ५० प्रतिशत अनुदान दिएर मौरी सहित आवश्यक सामग्री वितरण गरिएको बताए ।
कार्यक्रममा नगरउपप्रमुख बालाकृष्ण बन्जाडे, प्रमुख प्रशासकीय अधिकृत जग्दिशचन्द्र नेपाली, योजना शााखा प्रमुख हरिश्चन्द्र भुसाल लगायतले बोल्दै मौरीपालन पेसा सहजै जस्तो भएपनि किसानले चरनको समस्या झेल्न परेकोले मौरीको चरन व्यवस्थापनमा नगरपालिकाले ध्यान दिने बताएका थिए । मौरी चरनका लागि विभिन्न समस्या किसानले झेल्नुपर्ने अवस्था हटाउन कृषकले नै खेतबारीमा लगाउने हरेक प्रकारका फूलजन्य खेतीमा विषादी प्रयोग घटाउनुपर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीशचन्द्र नेपालीले बताएका थिए ।
सहकारीमा आबद्ध करिब एक सय कृषकलाई भूमिकास्थान नगरपालिकाको ५० प्रतिशत अनुदानमा ७९ वटा मौरीसहितको घार, ४० वटा सुपर सहित माहुरी घार, ४२५ थान मह प्याक गर्ने प्लाष्टिक बट्टा, ३८ थान जाली टोपी घुम्टी, ५० जोर पञ्जा, ४८ थान फिडर, ३०० थान लेबलिङ छपाई, स्टयाण्ड लगायतका सामग्री वितरण गरिएको थियो । साथै, सामग्री वितरणपूर्व किसानलाई दुईदिने तालिम समेत दिइएको अध्यक्ष भुवानन्द भुसालले जानकारी दिए ।
अनुदानमा मौरी सहित सामग्री पाएसँगै मौरीपालक किसानले खुसी व्यक्त गरेका थिए । मौरी पालन व्यवसायलाई थप प्रवद्र्धन गर्न नगरपालिकाको सहयोगले टेवा पुग्ने किसानको भनाइ छ ।