२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

माधवसँग घनश्यामको जोर चलेन

ADV
शिव विक
२०८१ असार २१ गते ०६:५५
माधवसँग घनश्यामको जोर चलेन

काठमाडौं : नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष र महासचिव सर्वसम्मत चयन गरेको छ । पार्टी अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन भएका हुन् । 

बिहीवार बसेको सचिवालय बैठकले अध्यक्षमा नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई चयन गर्ने सहमति गरेको थियो । उक्त सहमतिलाई महाधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले महाधिवेशन हलमा पेस गरेका थिए । महाधिवेशन हलले उनीहरूलाई सर्वसम्मत चयन गर्ने सचिवालयको निर्णय अनुमोदन गरेको हो । 

अध्यक्षमा नेपालसँगै झलनाथ खनाल र महासचिव घनश्याम भुसालले दाबी गरेका थिए । खनालले अध्यक्षमा भुसाललाई सहयोग गर्ने बचन दिएको समेत बताइएको थियो । तर, निर्णय हुने बेला अध्यक्षमा दाबी गरेका भुसाल महासचिवमै दोहोरिए । नेताहरूका अनुसार सर्वसम्मत नेतृत्व चयन गर्ने पार्टीका अधिकांश नेताहरूको सुझावले भुसाल महासचिवमै रहन बाध्य भएका हुन् । 

गत असार १६ गतेदेखि काठमाडौँको कमलादीमा एकीकृत समाजवादीको ११ औँ महाधिवेशन चलेको थियो । झलनाथ खनाल सम्मानित नेता चयन भए । यी तीन पद महाधिवेशन हलले सर्वसम्मत भएको घोषणा गरेको हो । अन्य पद सचिवालयले टुंग्याउने निर्णय भएको छ ।

एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले भने पदाधिकारी सर्वसम्मत भयो भनेर सार्वजनिक भएको विषयप्रति आपत्ति जनाएकी छिन् । उनले अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनाललमाथि प्रश्न राख्दै यसरी सर्वसम्मत भयो भनेर प्रतिनिधिलाई घर पठाएको भन्दै आक्रोस पोखेकी हुन् । 

‘अध्यक्ष र महासचिवको सर्वसम्मत गर्न मसमेतको प्रयास सफल भएको हो तर अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनाललाई पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मत सर्वसम्म भयो भनेर प्रतिनिधिहरूलाई घर पठाउने म्याण्डेट कसले दियो ? को पदाधिकारी, को सदस्य खै त खनाल कमरेड ?’ झाँक्रीले सामाजिक सञ्जालमा लेखेकी छिन् । 

नेकपा एमालेसँग विभाजन भएपछि एकीकृत समाजवादीले महाधिवेशन गरेको हो । 

२०७८ साल भदौ २ गते नेकपा एमालेबाट विद्रोह गरी माधव नेपाललले आफ्नै  नेतृत्वमा एकीकृत समाजवादी स्थापना गरेका थिए । पार्टी स्थापनाको ३४ महिनामा उनले महाधिवेशन सम्पन्न गरेका हुन् ।

कतिपय नेताहरू झलनाथ खनालले सहयोग गर्ने बचन तोडेकाले घनश्याम महासचिवमै रहन बाध्य भएको बताउँछन् । 

नेतृत्व छनोटका लागि बिहीबार बिहानैदेखि निर्वाचन प्रक्रिया अगाडि बढाइएको थियो । तर अध्यक्षमा भुसालले दाबी नछोडेपछि निर्वाचनका सबै प्रक्रिया रोकेर शीर्ष नेताहरू छलफलमा जुटेका थिए । अन्ततः भुसालले महासचिवमा चित्त बुझाएपछि अध्यक्षमा नेपाल सर्वसम्म चयन भएका हुन् ।

जबजको निरन्तरता

महाधिवेशनले नेतृत्व चयनका अलावा समाजवादी कार्यक्रमसहितको राजनीतिक कार्यदिशा समेत तय गरेको छ । महाधिवेशनमा पेश भएको दस्तावेज सर्वसम्मत पारित भएको हो ।

महाधिवेशनले तत्कालीन महासचिव मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद (जबज) लाई समाजवादी कार्यदिशाको अभिन्न अंग बनाएर राजनीतिक दस्तावेज पारित गरको हो । जबजका विषयमा बहस भएको थियो । 

अध्यक्ष माधवकुमार नेपालले पार्टीको सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) ले अगाडि सारेका समाजको आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणका मागलाई समाजवादी कार्यक्रमका अभिन्न अंग बनाएको सो दस्तावेज हलले पारित गरेको हो ।

समूहगत छलफलबाट आएका निश्कर्षमा आधारमा राजनीतिक दस्तावेजहरु पारित भएका हुन् ।

दसौं महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा जबजले अघि सारेका सामन्तवादविरोधी राजनीतिक माग, नारा र मूल्यमान्यता संविधानमा संस्थागत भएकाले अबको बाटो समाजवादी हुने दस्ताबेजमा छ । 

नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाको सहमतिमा यो राजनीतिक प्रतिवेदन तयार भएको थियो ।

‘अहिले नेपाली क्रान्ति जनवादी चरण पार गरेर समाजवादी चरणमा प्रवेश गरेको हुँदा अब समाजवादी क्रान्तिको कार्यक्रम अंगालेर अगाडि बढ्नुपर्दछ’ प्रतिवेदनमा भनिएको छ । जबजले अगाडि सारेका समाजको आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणका माग व्यवहारमा भने लागू भइनसकेको प्रतिवेदनमा उल्लेख छ ।

ADVADV

सम्बन्धित खबर

Advertise