काठमाडौं : देशकै सबैभन्दा पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेस सांगठनिक गतिविधिमा गतिहीन बनेको छ । आन्तरिक किचलोका कारण पार्टीको भ्रातृ संगठन ‘कोमा’मा पुर्याएको कांग्रेसले वार्षिक रूपमा गर्नुपर्ने क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणका काममा समेत गति दिन सकेको छैन ।
पार्टीका नेताहरूले देशव्यापी भाषण गर्दै हिँडेपनि संस्थागत संरचनालाई व्यवस्थित र चलायमान गराउने विषयमा सचेत देखिएका छैनन् । भूगोलमा लामोसमय टिकेर पार्टी संगठन बचाएका कार्यकर्तालाई व्यक्तिगत निकट बनाउने बाहेक नेताहरूले पार्टीमा नयाँ मान्छे बढाउने र संस्थागत गर्दै लैजाने विषयलाई गौण ठानेको स्थानीयस्तरका नेता–कार्यकर्ताहरूले टिप्प्णी गर्दै आएका छन् । पार्टीका हरेक संगठनभित्र व्यक्ति केन्द्रित गुटगत प्रवृत्तिलाई संस्थापन बनाउँदै लैजाने प्रवृत्तिले पार्टीको आन्तरिक जीवनमा समस्या अझै थपिएको केन्द्रीय सदस्यहरूको आरोप छ ।
‘पार्टीका शीर्ष नेताहरू नै जिल्ला जिल्ला गएर कार्यकर्तालाई आफ्नो पक्षमा ढालेर बलियो गुट निर्माणमा लाग्ने गरेको पाइएको छ’, नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले भने ‘यसले सिंगो कांग्रेसलाई भन्दा व्यक्ति केन्द्रित संगठन बनाउन खोजिएको सन्देश दिएको छ । नेताहरू जिल्लादेखि गाउँसमेत जाने र वर्षौदेखि कांग्रेसमा लागेका कार्यकर्तालाई आफ्नो गुटतिर ढाल्ने कोसिस मात्रै भएको देखिन्छ । नयाँ योजनाका साथ भूगोलमा पुगेर ५०–१०० नयाँ मान्छेहरूलाई पार्टीमा आकर्षण गर्ने, सदस्यता दिने काम भएको छैन ।’
पार्टीको भ्रातृ संगठनलाई नेताहरूले कोमामा पुर्याउने काम गरेको पार्टीको केन्द्रीय सदस्य समेत रहेका नेता महरकोे टिप्पणी छ । चैत मसान्तभित्र महाधिवेशन सम्पन्न गर्न १० वटा भ्रातृ संस्थालाई पार्टीले निर्देशन दिएपनि संगठनबाट त्यसको अवज्ञा गरेका छन् । पार्टी नेतृत्व र भ्रातृ संगठनबीच समन्वय गर्न महाधिवेशन निर्देशन समितिसमेत बनाएकोमा पार्टीले दिएको समय सीमाभित्र नेवि संघ, तरूण दल, महिला संघलगायत करिब दर्जन भ्रातृ संगठनको महाधिवेशन हुन सकेको छैन ।
सभापति शेरबहादुर देउवाले १६ असोजमा निर्देशन समिति बनाएका थिए । तरुण दलको संयोजक सहमहामन्त्री महालक्ष्मी उपाध्याय, नेविसंघका संयोजक सहमहामन्त्री किशोरसिंह राठोर, महिला संघको संयोजक प्रवक्ता डा. प्रकाशशरण महत, नेपाल दलित संघको संयोजक सहमहामन्त्री जीवन परियार छन् । यी महत्वपूर्ण संगठनकै महाधिवेशन अनिश्चित भएपछि संगठनको तदर्थ समिति नै नयाँ बनाउने विषयमासमेत छलफल चलेको नेताहरूको भनाइ छ । त्रिभुवन विश्वविद्यालयमा भएका स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा समेत बागी र विद्रोही उम्मेदवार बनेर संगठनलाई थप क्षति पुर्याएका छन् । पार्टीका जिम्मेवार व्यक्तिहरूले समेत संगठनलाई संस्थागत भन्दापनि व्यक्ति केन्द्रित अभियान चलाएर पार्टीलाई क्षयीकरणतर्फ लागेको नेविसंघ महाधिवेशन निर्देशन समितिका सदस्य एवं पार्टी केन्द्रीय सदस्य प्रतिमा गौतमले बताइन् ।
पार्टीको आन्तरिक संगठन चुस्त बनाउँदै महाधिवेशन केन्द्रित सांगठनिक अभियानहरू चलाउनुपर्ने कांग्रेसमा सदस्यता विवाद त्यत्तिकै छ । ‘पार्टीको १५ औं महाधिवेशन विधानअनुसार आगामी मंसिरमा हुनुपर्ने हो’, गौतमले भनिन्, ‘महाधिवेशनको जग क्रियाशील सदस्यता वितरण तथा नवीकरण हो । तर, यो विषयको विवाद समाधान हुन सकेको छैन । पार्टीका नेताहरू जिल्ला जिल्ला गएर भाषण गर्ने तर सांगठनिक सुधारलाई प्राथमिकता दिएको देखिदैन ।’ सबैभन्दा पुरानो र ठूलो लोकतान्त्रिक दल कांग्रेसले गर्नुपर्ने आवधिक महाधिवेशनको सवालमा समेत अलमलमा परेको छ ।
पार्टी सभापति शेरबहादुर देउवा महाधिवेशनको मिति विधान र संविधानले दिएको सहुलियतअनुसार करिब डेढ वर्षपछि धकेल्ने प्रयासमा छन् । संस्थापन इतर समुहका नेता डा. शेखर कोइराला र उनी निकटका नेताहरूले भने समयमै महाधिवेशन गर्नुपर्ने दबाब दिदैँ आएका छन् । संस्थापन इतर समूहले महाधिवेशनका लागि आवश्यक संरचना तयार गर्न पार्टीका जिम्मेवार नेताहरूले काम नगरेको आरोप लगाउने गरेका छन् ।
पार्टी महामन्त्री गगन थापाको संयोजकत्वको केन्द्रीय सदस्यहरू प्रकाश रसाइली (स्नेही), सीता गुरुङ र योगेन्द्र चौधरी सदस्य रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले गत चैत्रको पहिलो हप्ता १९ जिल्लामा क्रियाशील सदस्यता नवीकरणमा विवाद भएको यकिन गरेको थियो । क्रियाशील विवादमा सोलुखुम्बु, खोटाङ, मोरङ, रामेछाप, सिन्धुपाल्चोक, सर्लाही, सप्तरी, बारा, रुपन्देही, बाँके, कपिल्वस्तु, मुस्ताङलगायत जिल्ला छन् । ती जिल्लाहरूमा अझै विवाद कायमै रहेको सदस्यता व्यवस्थापन समितिका सदस्य प्रकाश स्नेहीले बताए ।
‘डेढ दर्जनबढी जिल्लाहरूमा क्रियाशील विवाद कायमै छ’, उनले भने ‘स्थानीय तहको प्रतिस्पर्धा, गुटगत विवाद, गत निर्वाचनमा गठबन्धनमा देखिएका केही समस्याका कारण यो विवाद देखिएको हो । तर, हामीले संवादबाटै समाधान खोज्ने प्रयासमा छौं ।’ क्रियाशील सदस्यता नवीकरणको तथ्यांक देशभरबाट आइरहेको उनले बताए । ‘पार्टीले १५ वैशाखसम्ममा क्रियाशील सदस्यता नवीकरण सक्ने म्याद दिइएको छ । कुल नवीकरणको १५ प्रतिशत नयाँ सदस्यतासमेत पठाएकाले भूगोलको अवस्था र आवश्यकताअनुसार नयाँ सदस्यता वितरणको काम पनि भइरहेको छ’, उनले भने ।
नेपाली कांग्रेसले गत १४ औं महाधिवेशनमा ८ लाख ५२ हजार ७११ जनालाई क्रियाशील सदस्यता प्रदान गरेको थियो । यसपटक पार्टीका साढे ८ लाख क्रियाशील सदस्यता नवीकरणसमेत हुने सम्भावना कम छ । त्यस्तै पार्टीबाट सरकारमा गएका मन्त्रीहरूले समेत राम्रो पर्फमेन्स दिन नसकेको पार्टी भित्रैबाट पटक पटक आवाज उठ्ने गरेका छन । यद्यपि त्यस्ता मन्त्रीलाई पार्टीले फिर्ता बोलाउने योजना भने बनाउन सकेको छैन् ।